थप दश लाख मात्रा खोप अनुदान दिने चीनको घोषणा


     रासस     
     जेठ १२ गते २०७८ मा प्रकाशित




फाइल तस्विर

काठमाण्डौं । चीन सरकारले नेपाललाई थप १० लाख मात्रा कोभिड– १९ खोप अनुदानस्वरुप प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच आज भएको टेलिफोन वार्तामा राष्ट्रपति सीले उक्त परिमाणमा खोप प्रदान गर्ने घोषणा गरेका हुन् ।


त्यस अवसरमा राष्ट्रपतिद्वयबीच नेपाल र चीनबीचको समग्र सम्बन्धसहित कोभिड–१९ सम्बन्धी सहायताबारे छलफल एवं विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोभिड–१९विरुद्धको नेपालको लडाइँमा जीवन रक्षक औषधि, चिकित्सा उपकरण र स्वास्थ्य सामग्री प्रदान गरेर नेपाललाई निरन्तर सहयोग गरेकामा राष्ट्रपति भण्डारीले चीन सरकारप्रति कृतज्ञता ज्ञापन गरे ।


कोभिड–१९विरुद्धको खोप संसारभर सबैका लागि सार्वजनिक वस्तु हुनुपर्ने राष्ट्रपति सीको अभिव्यक्तिको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले यसअघि पनि चीनले नेपाललाई आठ लाख मात्रा खोप उपलब्ध गराएकामा आभार व्यक्त गरे । नेपाललाई चीनबाट कोभिड–१९विरुद्धको खोप खरीदमा सहजीकरणका निम्ति पनि उनले आग्रह गरे ।


दोस्रो लहरको महामारीका कारण नेपालले सामना गर्नुपरेको कठिन परिस्थितिलाई स्वीकार गर्दै राष्ट्रपति सीले कोभिड–१९विरुद्धको नेपालको लडाइँमा चीन सरकारको पूर्ण सहयोग रहने बताए ।

उनले खोप सहायतामा चीनले नेपाललाई उच्च प्राथमिकतामा राख्ने आश्वासन पनि दिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

अहिलेको कठिन परिस्थितिमा थप खोप सहायता उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको नयाँ घोषणाका निम्ति आभार व्यक्त गर्दै राष्ट्रपति भण्डारीले कोरोनाविरुद्ध लडिरहँदा चिनियाँ सहयोग जारी रहने विश्वास व्यक्त गरिन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।