अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको चिनिया कार्गो रकेट प्रक्षेपण


     एभरेस्ट आवाज    
     जेठ १८ गते २०७८ मा प्रकाशित




तस्बीर : गुगलबाट

चीनले अन्तरिक्षमा निर्माण गरिरहेको नयाँ अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको एउटा कार्गो रकेट दक्षिण चीन सागरस्थित द्वीपबाट शनिबार प्रक्षेपण गरेको छ।

लङ मार्च ७ नामको रकेटले स्वचालित टियानझाउ–२ अन्तरिक्ष यानलाई लिएर अन्तरिक्ष प्रस्थान गरेको छ।

हैनान द्वीपको वेनचाङ प्रक्षेपण केन्द्रबाट उक्त रकेट शनिबार राति ८.५५ बजे उडाइएको चिनियाँ अन्तरिक्ष केन्द्रले जनाएको छ।

रकेट प्रक्षेपण गरिएको १० मिनटभित्रै सफलतापूर्वक अन्तरिक्ष कक्षमा प्रवेश गरेको थियो। चिनियाँ सरकारी समाचार संस्थाहरुका अनुसार टियानझाउ–२ मा इन्धन र सामान राखिएको छ। अन्तरिक्षमा स्थापना हुने नयाँ अन्तरिक्ष केन्द्रको मुख्य मोड्युल गत अप्रिल २९ मा अन्तरिक्षमा पठाइएको थियो।

चिनिया अन्तरिक्ष निकायका अनुसार अर्को वर्षभित्र ११ वटा प्रक्षेपण मार्फत अरु दुई वटा मोड्युल अन्तरिक्षमा पठाइने छ। नयाँ अन्तरिक्ष केन्द्र ७० टनको हुनेछ । यी प्रक्षेपण मार्फत बन्दोबस्तीका सामानका साथै ३ जना अन्तरिक्ष यात्री पनि अन्तरिक्षमा पठाउने चीनको तयारी छ।

चीनले प्रक्षेपण गरेको तियान्हे रकेट भने अनियन्त्रित भई हालै मात्र पृथ्वीमा खसेको थियो । चीनले आफ्नो महत्वाकाँक्षी अन्तरिक्ष कार्यक्रमकै एक हिस्साका रुपमा प्रक्षेपण गरेको तियान्हे तेस्रो तथा सबैभन्दा ठूलो कक्षीय स्टेशन हो। बेइजिङले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सहभागी भइरहेको छैन, र यसको मुख्य कारण अमेरिकी अवरोध हो।
एपी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।