निषेधाज्ञालाई प्रभावकारी बनाउन चेकजाँचमा खटिएका सुरक्षाकर्मी ।
पोखरा । कास्कीमा जारी निषेधाज्ञा जेठ मसान्तसम्म पुर्याउने जिल्ला प्रशासन कार्यालय कास्कीले निर्णय गरेको छ ।
जिल्लामा कोरोना सङ्क्रमण फैलिरहेकाले यसको रोकथाम गर्न कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा थप गर्दै यही जेठ ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
जिल्लामा कोरोना सङ्क्रमण दिन प्रतिदिन तीव्र रुपमा फैलिँदै गइरहेको र संक्रमणदर, प्रवृत्ति, मृत्युदर विश्लेषण समेतका आधारमा यसअघि जारी गरिएका आदेशहरुलाई निरन्तरता दिँदै जेठ ३१ गते राती १२ सम्म निषेधाज्ञालाई लम्बाउने निर्णय भएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा हस्ताक्षरित आदेशमा भनिएको छ ।
सो अवधिमा हाल जस्तै अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन पाइने छैन । एम्बुलेन्स, बिरामी तथा कुरुवा बोक्ने सवारी साधन बढीमा २ जना, दमकल, शववाहन, खाद्यसामग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दुग्ध पदार्थ, माछा, मासु, पानी, ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका गाडी, चिकित्सक तथा स्वास्थ्यकर्मीले ड्युटीमा जाने आउने क्रममा प्रयोग गर्ने गाडी, औषधी तथा स्वास्थ्य सेवाका सामग्री बोकेको गाडी, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी गाडीबाहेकका निजी तथा सार्वजनिक गाडी सञ्चालन गर्न पाइने छैन ।
सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव गर्न निषेध गर्न पाइने छैन ।
मठ मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिक स्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गरी अन्य कार्य नगर्ने, नगराउने भनिएको छ । शिक्षक संस्था बन्द कायमै छन् ।
सिनेमा हल, पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट, चिया तथा खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन, सुनचाँदी, टेलरिङ, फुटपाथ पसललगायत सेवा एवं स्थल नखोल्ने तथा सञ्चालन नगर्ने आदेशमा उल्लेख छ ।
विवाह, ब्रतबन्ध एवं अन्य संस्कारजन्य कार्यक्रम पार्टी प्यालेस तथा होटलमा सञ्चालन गर्न पाइने छैन भने घरमा सञ्चालन हुने त्यस्ता कार्यक्रममा बढीमा १० जनासम्म सहभागी हुन पाइने छैन । विवाहको लागि केटा वा केटी पक्षले बढीमा ५ जनामात्र हुने गरी १ सवारीसाधनमात्र प्रयोग गर्न सक्नेछन् ।
दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दही, माछा, मासु बिक्री वितरण गर्ने पसल बिहान ५ देखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । ताजा दूध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं संकलन केन्द्रमा पु¥याउन एवं बिक्री वितरणमा बाधा छैन ।
खाद्यान्न, तरकारी, पानी, फलफूल, दूध लगायत दैनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरिद गर्ने, सोको लागि सवारीसाधन लैजान नपाइने आदेशमा उल्लेख छ ।
उद्योग र सार्वजनिक निर्माण कार्यमा संलग्न कर्मचारी तथा श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रुपमा अपनाई सञ्चालन गर्ने । आयोजनालाई मात्र निर्माण सामग्री बोक्ने गाडी बेलुका ७ देखि बिहान ४ बजेसम्म चल्न सक्नेछन् ।
स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानी, औषधी तथा औषधीजन्य उत्पादन तथा बिक्री वितरण लगायतका अत्यावश्यक सेवा तथा कार्य गर्ने बाहेकका अन्य सरकारी तथा गैरसरकारी कार्यालय बन्द हुनेछन् । कर्मचारीले बिहान ९ देखि १० र बेलुका ५ देखि ६ बजेसम्म परिचयपत्र र पोसाकका आधारमा कार्यालयसम्म आउजाउ गर्न सक्नेछन् ।
सञ्चारकर्मीले परिचयपत्र आधारमा हिँडडुलमा समस्या छैन । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने दैनिक सेवा नेपाल राष्ट्र बैंक, प्रादेशिक कार्यालय पोखराको समन्वयमा शाखा प्रबन्धकले एक चौथाइ कर्मचारीको उपस्थितिमा सञ्चालित वित्तीय संस्थामा ५० हजारभन्दा माथि जम्मा गर्न पाइनेछ । तिनका कर्मचारी परिचयपत्र र कार्यालय पोसाक आधारमा बिहान १० देखि ११ र दिउँसो २ देखि साढे ३ सम्म कार्यालयसम्म आवतजावत गर्न सक्नेछन् ।
कोरोना महामारीको चेक ब्रेक गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले गत वैशाख १५ देखि जारी गरेको निषेधाज्ञाको पटक–पटक म्याद गर्दै जेठ मसान्तसम्म पुगेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तमु जातिको ऐतिहासिक थलो क्होला सोंथरमा भ्रमण वर्ष २०२६ सम्पन्न भएको छ…






