छनोट खेलमा चाइनिज ताइपेईमाथि नेपालको सहज जित

- अग्रपंक्तिमा रहेर काम गर्ने संपूर्ण फ्रन्टलाइनर स्वास्थ्यकर्मीहरुमा नेपालको जित समर्पण गर्न चाहन्छु : प्रशिक्षक अलमुताइरी


     एभरेस्ट आवाज    
     जेठ २१ गते २०७८ मा प्रकाशित




तस्बीरः एन्फा

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौँ खेलमा चाइनिज ताइपेईविरुद्ध नेपालले सहज जित निकालेको छ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार साँझ सम्पन्न खेलमा नेपाललाई जित दिलाउन अञ्जन विष्ट र नवयुग श्रेष्ठले १/१ गोल गरे।

नेपालले खेलको चौथो मिनेटमा नै पेनाल्टीमार्फत अग्रता लिएको थियो। अञ्जन विष्टको पेनाल्टी गोलबाट नेपालले अग्रता लिएको थियो।

सुरुवाती खेलको तेस्रो मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा ताइपेईका चेङ हाओले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो। अञ्जनले पेनाल्टीमा सहजै गोल गरे।
यससँगै अञ्जनले लगातार दोस्रो खेलमा पनि गोल गर्न सफल भएका छन्। यसअघि ताइपेईको घरेलु मैदानमै नेपालले २–० को जित निकाल्दा अञ्जनले दुबै गोल गरेका थिए।

त्यसपछि खेलको ८१ औँ मिनेटमा सब्सीच्युट खेलाडीको रूपमा मैदान प्रवेश गरेका नवयुगले गोल गर्दै नेपाललाई २–० गोलको जित दिलाए।

यस जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ।

नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने संभावना पनि जीवित राखेको छ।

नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक छ। जितविहीन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन। अस्ट्रेलियाले ४ खेलमा १२ अंक जोड्दा जोर्डन र कुवेतको ५/५ खेलबाट समान १०/१० अंक छ।

फ्रन्टलाइनर स्वास्थ्यकर्मीमा जित समर्पणः अब्दुल्लाह

राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुतारीले कोरोना महामारीको रोकथाममा खटिएका अग्रपंक्तिका फ्रन्टलाइनर स्वास्थ्यकर्मीहरुलाई नेपालको जित समर्पण गरेका छन् ।

विश्वकप छनोट अन्तर्गत बिहिबार चाइनिज ताइपेईविरुद्ध जित हासिल गरेपछि प्रशिक्षक अब्दुल्लाहले नेपालको जित फ्रन्टलाइनरमा खटिने स्वास्थ्यकर्मीहरुमा समर्पण गरेका हुन्।

‘नेपाल निकै कठिन अवस्थामा छ। अग्रपंक्तिमा रहेर काम गर्ने संपूर्ण फ्रन्टलाइनर स्वास्थ्यकर्मीहरुमा नेपालको जित समर्पण गर्न चाहन्छु ,’ अब्दुल्लाहले खेलपछि प्रतिक्रिया दिएका छन्।

उनले ताइपेईविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको बताए ।

‘ताईपेले धेरै राम्रो खेल्यो । खेल निकै महत्वपूर्ण थियो,’ उनले भने, ‘हामीले उनीहरुका सबै खेल अध्ययन गरेका थियौं। धेरै कक्षाहरु ताईपेईको खेलको अध्ययन र खेलाडीबारे बुझ्न खर्च गरेका थियौं।’

उनले ताईपेलाई सरप्राईज दिन टिममा केही परिवर्तन समेत गरिएको बताए ।

अब्दुल्लाहले ईराकविरुद्ध मैत्रीपूर्ण खेलमा उतारेका सुरुवाती खेलाडीमा २ परिवर्तन गरेका थिए। मनिष डाँगीको स्थानमा सुनिल बललाई राखेका उनले अग्रपंक्तिमा नवयुगको स्थानमा आशिष लामालाई उतारेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।