
गोरखा । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज गण्डकी प्रदेशले संयुक्त कार्यक्रममार्फत गोरखाको पालुङटार नगरपालिका मातहतको आयुर्वेद औषधालयलाई औषधि हस्तान्तरण गरेको छ ।
स्वास्थ्य मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको कोभिड–१९ प्रोटोकलअनुसारको औषधि औषधालय शाखा प्रमुख हितकाजी श्रेष्ठ, उपमेयर पम्फा बसेल र प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मालाई हस्तान्तरण गरिएको हो । नगरपालिकाभित्र रहेका संक्रमितहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पु¥याउने गुण भएका औषधि उपलब्ध गराइएको स्वयंसेवक उपसमिति संयोजक कृष्ण राउतले जानकारी दिए ।
गुड्ची चूर्ण, यष्टीमधु चूर्ण, त्रिकटु चूर्णलाई मिश्रण गरी खल विधिबाट तयार गरिएको आयुर्वेद औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्ने संघका सचिव एवं आयुर्वेद चिकित्सकीय परामर्श उपसमिति संयोजक डा दीपक भुसालले बताए ।
तीन भाग गुर्जो, दुई भाग यष्टी मधु र एक भाग त्रिकटु चूर्णको मिश्रणबाट तयार आयुर्वेद औषधिको सेवनले शरीरलाई समानरुपले इम्युन बढाउन सहयोग पु¥याउने उनले सुनाए । सामान्य लक्षण देखिएकादेखि गम्भीर प्रकृतिका कोरोना संक्रमितले उक्त औषधि क्वाथ विधि (पकाएर) वा मनतातो पानीमा घोलेर सेवन गर्न उनको सुझाव छ ।
संघले गण्डकी प्रदेशमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र विपन्न नागरिकका लागि आयुर्वेद औषधि निशुल्क वितरण गरिरहेको अध्यक्ष राजुकुमार पौडेलले जानकारी दिए । सोही अभियानलाई निरन्तरता दिँदै गोरखा आइपुगेको उनले बताए ।
नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज गण्डकीका अध्यक्ष प्रकाश क्षेत्रीले आयुर्वेद व्यवसायीसँगको समन्वयमा सकारात्मक अभियान थालनी गर्न पाउँदा खुसी लागेको बताए ।
संघको सहयोगप्रति पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले धन्यवाद व्यक्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।