राराको सौन्दर्य पछाडि लुकेको पीडा !


     सुनिल उलक    
     जेठ २५ गते २०७८ मा प्रकाशित



२०२० फागुन २० गते मंगलवार राजा महेन्द्र रारा ताल पुगेका थिए । त्यतिबेला रारा पुग्ने वहाँ नै पहिलो बाहिरी ब्यक्ति हुनुहुन्थ्यो । केवल त्यहिँका वरपरकाले देखेको रारा यति सुन्दर छ भन्ने रारा गाँउ बाहिरकाहरु कमैलाई मात्र थाहा थियो । रारा देखेर राजा महेन्द्र यति मन्त्र मुग्ध भए कि त्यही ताल किनारमा रहेको धुपीको चौतारामा बसेर कविता कोरिहाले ।

सुन्दरताको भण्डार सारा,
के खनाया यसै रारामा
राराकी अप्सरा

राजा महेन्द्र राराबाट मोहित भए । रारा क्षेत्रलाई यसरी नै सुन्दर बनिरहन दिनुपर्छ भन्ने सोचमा लागे । केही समय रारामा बिताएका राजा महेन्द्रले राराको सुन्दरताले बिगार्न नहुने बिचार ब्यक्त गरे । त्यो बेला पञ्चायतकाल थियो । राजाले बोलिदिए पछि त्यसलाई पूर्ण गर्न पञ्चहरुको दौडधुप शुरु हुन्थ्यो । रारा क्षेत्रको बस्तीले राराको सुन्दरता नष्ट हुन सक्ने आकलन गरेर रारालाई बस्तीरहित बनाउनु पर्ने निधो भयो ।

राजा पुग्नु केहीको लागी खुशीको कुरा थियो । केही राजाका कविताले रमाए तर केहीको लागी भने राजाको यो आगमन अभिशाप भएर आयो । राजाको त्यो भ्रमण सम्झनै मन नलाग्ने कथा भएर आयो ।

ताल नजिकै तीन बस्तीहरु मुर्मा, रारा र छाप्रु थिए । यि बस्तीमा रारा र छाप्रुमा मात्र करिव २३२ घरधुरी थिए । २३२ घरधुरीमा करिव १५०० को संख्यामा बसोबास थियो । अब बस्ती कसरी हटाउने भन्ने विषयमा निकै छलफल भयो । सैपाल हिमालको काखमा रहेको पहाडी भूभागमा कोणधारी जंगलले भरिएको यो रमणीय ठाँउमा बिभिन्न चराचुरुङ्गीको जलक्रिडा स्थल पनि भएको हुँदा राष्ट्रिय निकुञ्ज बनाउनु पर्ने निर्णय भयो । यसै बिच राजा महेन्द्रको स्वर्गारोहणले यो योजना केही वर्षलाई रोकियो ।

२०३२ सालमा रारा राष्ट्रिय निकुञ्जको गठन गरियो । करिव १०६ वर्ग किमी ओगटेको यस क्षेत्रमा तालको भूभाग मात्र करिव ११ वर्ग किमी छ । साथमा तालको उत्तर पश्चिममा रहेको छाप्रु बस्ती, दक्षिण पश्चिममा रहेको मुर्मा बस्ती तथा दक्षिण पूर्वमा रहेको रारा बस्ती पनि समेटिएको थियो । अन्तत २०३५ सालमा छाप्रु तथा राराको बस्तीलाई अन्यत्र सार्ने निधो भयो । ति जनताहरुको लागी बाँके बर्दियाको बिच जंगलको भूभाग छुट्याइयो । उच्च पहाडी भूभागमा बसोबास गर्नेहरुको लागी तराइको उखरमाउलो गर्मीको बस्ती रोजियो । त्यो बेला पञ्चायतकालको उर्दीमा अस्विकार गर्ने वा बिरोध गर्न सक्नै कसैको आँट नै हुदैनथ्यो । केहीले त्यति टाढा तराइमा जानु भन्दा नजिकै कतै ठाँउ दिए हुन्थ्यो भन्ने बिचार सम्म गरे । तर कसैको सुनिएन ।

करिव ४५ वर्ष अगाडिको त्यो दिन गाँउलेको लागि पीडादायक दिन भयो । सरकारी कर्मचारी घर घरका ढोका ढकढकाउदै सरकारी निर्णय सुनाउने आएँ, ूबस्ती तुरुन्तै खालि गरि सरकारले दिएको तराइमा गएर बस्नुू यो अनुरोध थिएन, आदेश थियो । अति मन बिझाउने आदेश, मुटु भित्र सम्म बिझ्ने आदेश । सयौ वर्ष देखी बाजेबराजु देखि बसिआएको थातथलो सधैको लागि छोडेर जाने आदेशले मन कटक्क भए पनि छोड्न तैयार भए । बस्तुभाउ नजिकैको बस्तीमा गएर जति भेटे उतिमै बेचविखन गरे । जे सकिन्छ बोकेर भारी कसे र जान तैयार भए ।

यो बस्तीको कथा यति नयाँ होइन र धेरै पुरानो पनि होइन । पृथ्वीनारायण शाहको एकिकरण अभियान पछि राजा रणबहादुर शाहको शासनकालमा बहादुर शाहले राज्य बिस्तारको क्रममा पश्चिम आक्रमण गर्न थाले । यहि क्रममा काजी शिवनारायण खत्री र सरदार प्रबल रानाको नेतृत्वमा बि।सं १८४६ को असोज १५ गते जुम्ला आक्रमण भएको थियो । बालक राजा चक्रसुदर्शन शाही भए पनि राज्यको रियासत उनका काका शोभन शाहीले गर्ने गरेका थिए । आक्रमण पछि बालक राजाको साथ काका शोभन शाही उत्तर हुम्ला तर्फ भागे त्यहाबाट तिब्बतमा शरण लिन पुगे । राजाले तिब्बतमा शरण लिन पुगे तर नातेदार तथा राज्यका केही जनताहरु जो गोर्खा राज्यको दमनबाट मुक्त हुन उत्तर तर्फ लागेका थिए । तिनै जुम्लेलीहरु नै राराको वरपर मुर्मा, रारा र छाप्रुमा बसेका थिए । यहाँ रहेका शाहीहरु राजाका नातेदारहरु थिए भने अन्य जुम्ला राज्यका जनताहरु थिए । यसरी झण्डै २०० वर्ष देखि बस्ती बसाएर बसेका त्यहाँका जनता एउटै आदेशले बेघर हुन पुगे ।

नयाँ ठाँउमा निकै आश्वासन दिइएको थियो । प्रति परिवार ३४ कट्ठा जमिन तथा बस्नलाई घर पनि बनाइदिने आश्वासन दिइएको थियो । आफ्ना जायजेथा माया मारेर घरको मूलढोकामा बलियो ताला लगाए । यिनीहरुको सोचाइमा सरकारले एकदिन फेरी यहि ठाँउ फर्कन दिनेछन् भन्ने मनमा आशा लिएर निस्केका थिए । करिव १५ दिन हिडेर सो नयाँ ठाँउमा पुग्दा बस्ने घरको कुरा त टाढै थियो ब्यबस्थित बसोबासको लागि पनि कुनै प्रबन्ध मिलाइएको थिएन । सबैभन्दा समस्या त त्यहि नजिकै बस्ने पुरानो बस्तीका मानिसहरुबाट झेल्न पुगेका थिए । आफ्नो सम्पूर्ण सम्पति त्यागेर सुकुम्वासी झै नयाँ वस्तीमा आएकाको समस्यालाई बुझेर सरकारले त्यहाँ पहिले देखि बसेका ३८ घरधुरीलाई अन्यत्र ब्यबस्थापन गराइए पछि बल्ल यि रारावासीलाई केही सन्तोष भयो ।

४० वर्ष बित्न लाग्दा रारा वरपर नयाँ बस्तीको शुरुवात भएको र होटलहरु खोल्न दिएको तर आफूहरुलाई फर्कन नदिँदा यिनीहरुको मनमा पक्कै पनि अति दुख लागेको हुनुपर्छ । अहिले रारा ताल घुम्न पुग्नेहरु राराको सौन्दर्यले मन्त्रमुग्ध त हुन्छन् । तर यिनीहरुको पीडाको अनूभूति कसैले पनि गर्न खोज्दैनन् । त्यहाँ अझै पनि पुराना मन्दिरहरु तथा ढुङ्गेधाराहरु संरक्षणको पर्खाइमा छ । मुटू माथि ढुङ्गा राखेर बस्ती छोडेर गएकाहरुको पुस्ता बिस्तारै सकिदै जाँदा पीडा पोख्नेहरु हराउदै गए । नयाँ पुस्ता नयाँ ठाँउमा रमाइसकेका छन् ।

तस्विरमा त्यहि ताल किनार नजिकै रहेको रारा गाँउको बस्तीमा बस्ने केही बालकहरु घर अगाडी रमाइरहेको देख्न सकिन्छ । केही बच्चा तेर्साइएको काठको मुढामा ढिकीच्वाउँ खेल्दै गरेको देख्न सकिन्छ । यो तस्विर त्यो बस्तीको शायद अन्तिम तस्विरहरु मध्यका हुन् । यो बालकहरुको खेलकुद तथा रमाइलो पलहरु शायद यहाँको लागी अन्तिम भयो । यसको केही समय पछि नै यहाँको बस्ती सबै हटाइएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।