मुख्यमन्त्री पोखरेलद्वारा ‘जोन्सन एन्ड जोन्सन’ खोपको शुभारम्भ


     रासस     
     श्रावण ४ गते २०७८ मा प्रकाशित



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट गण्डकी प्रदेशमा जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका छन् ।

मध्यविन्दु–२ कोल्हुवामा रहेको नवलपुर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका छन् ।

स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)द्वारा आयोजित कार्यक्रममा अपाङ्गता भएका १३ तथा अन्य चार गरी १७ जनालाई खोप लगाएर जोन्सन एन्ड जोन्सनको नवलपुरमा शुरु गरिएको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईंले जानकारी दिए ।

नवलपुरमा १५ हजार मात्रा सो खोप आएको चापागाईंले बताए । उक्त खोप मङ्गलबार बस्ने विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार जिल्लामा वितरण गरिने चापागाईंको भनाइ छ ।

नेपालमा अहिलेसम्म आएको खोपको दुई मात्रा लगाउनुपर्ने थियो भने जोन्सन एन्ड जोन्सन खोप एकपटक मात्र लगाए पुग्नेछ । खोप कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशका सबै नागरिकलाई कोरोना विरुद्धको खोप प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताए ।

प्रदेशको स्वास्थ्य, शिक्षामा विशेष जोड दिँदै समृद्ध गण्डकी प्रदेश निर्माण गर्ने अभियानमा आफ्नो सरकार लागिरहेको पोखरेलको भनाइ छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।