सरकारले कोरोना भाइरस संक्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म १ करोड ८३ लाख ८२ हजार ८ सय ५० मात्रा ल्याउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आगामी असोजमसान्तसम्म सरकारले चीन, जापान र भारतबाट कूल १ करोड ८३ लाख ८२ हजार ८ सय ५० खोप ल्याउने तयारी गरेको उल्लेख छ।
विज्ञप्तिमा जनाइए अनुसार चीनको साइनोफार्म कम्पनीबाट ६० हजार मात्रा खोप खरिदको सम्झौता अगाडि बढिसकेको छ। त्यस्तै, कोभ्याक्स सुविधामार्फत जापान सरकारले एस्ट्राजेनिका १६ लाख मात्रा र भारतबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड आउनेछ।
कोभ्याक्समार्फत १२ वर्षमाथिका बालबालिकाका लागि १ करोड ५० लाख मात्रा खोप ल्याउने गृहकार्य पनि अगाडि बढेको उल्लेख छ।
मन्त्रालयले कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसंख्याको लागि प्राप्त हुने १ करोड १३ लाख मात्रा खोप पनि क्रमशः प्राप्त हुँदै जाने र चैत मसान्तसम्म सबै नेपालीलाई खोप दिलाउने योजना छ। सरकारले अहिलेसम्म ९७ लाख ८२ हजार ८ सय ५० खोप प्राप्त गरिसकेको जनाएको छ।
तीमध्ये भारतबाट १० लाख मात्रा, नेपाली सेनालाई १ लाख अनुदानमा, कोभ्याक्सबाट ३ लाख ४८ हजार मात्रा, चीनबाट २ पटक अनुदानमा १८ लाख मात्रा भेरोसेल खोप र चीनबाट खरिद गरेको ५८ लाख मात्रा भेरोसेल खोप र अमेरिकाबाट अनुदानमा प्राप्त जोन्सन एण्ड जोन्सन खोप १५ लाख ३४ हजार ८ सय ५० मात्रा छन्।
मन्त्रालयले खोप आयात गर्न ईच्छुक निजी क्षेत्रलाई पनि विश्व स्वास्थ्य संगठन र नेपालको नियामक निकाय औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोग अनुमतिप्राप्त कुनैपनि खोपको उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशत मुनाफा लिएर खरिद गर्न दिइएको विज्ञप्तिमा उल्लेख छ।
यस्तै, कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मन्त्रालयले अहिलेसम्म हाई डिपेन्डेन्सी युनिट (एचडीयु) २ हजार ७५ सरकारी र ७ सय ७८ निजीमा थपिएको छ। यस्तै, १ हजार ४ सय एचडीयु थप्ने योजनामा रहेको मन्त्रालयले जनाएको छ। भेन्टिलेटर ९ सय ४ रहेको र थप १ सय ८० थप्ने क्रममा छ। बालबालिकाका लागि १ सय ८० भेन्टिलेटरसहित २ सय ५० सघन उपचार कक्ष (आइसीयु) शय्या थप्ने क्रममा रहेको मन्त्रालयले जनाएको छ।
सरकारले कूल जनसंख्याको ७२ प्रतिशत अर्थात पहिलो प्राथमिकतामा रहेका २ करोड १५ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ४९ लाख गरी कूल २ करोड ६५ लाखमा खोप लगाउने लक्ष्य लिएको छ। ती सबैलाई खोप लगाउनका लागि कूल ५ करोड ३५ लाख मात्रा खोप आवश्यक हुनेछ।
मन्त्रालयले कूल जनसङ्ख्याको ६० प्रतिशत मानिसलाई खोप लगाएमा रोग नियन्त्रण गर्न सकिने र सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन गर्न सकिने जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।