आजदेखि एक हप्तासम्म नेपाल मास्क अभियान सुरु

- (हेर्नुहोस, मास्कको प्रयोग गर्ने सहि विधि)


     एभरेस्ट आवाज    
     श्रावण २३ गते २०७८ मा प्रकाशित




सांकेतिक तस्बीर

नेपाल सरकारले आज (शनिबार) देखि एक हप्तासम्मका लागि देशभर मास्क अभियान सुरु गरेको छ।

कोभिड–१९ संक्रमणको रोकथामका लागि मास्कको महत्व बुझाउन र आम नागरिकमा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले अभियान संचालन गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा आजदेखि २९ गतेसम्म अभियान संचालन गरिनेछ।

अभियानको आज औपचारिक उद्घाटन गरी दैनिक रुपमा जनचेतनमूलक सामाग्रीहरुको उत्पादन, प्रसारण जनचेतनामूलक सांगीतिक कन्सर्ट आदि विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाइने कार्यक्रम रहेको छ।

कोभिड संक्रमणबाट बच्न मास्क लगाउने व्यवहारको विकासका लागि समुदायस्तरमा सहभागितामूलक डिजिटल क्याम्पियन गरिने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले जनाएको छ।

अभियानअन्तरगत जनस्तरमा मास्कको सही प्रयोग भए/नभएको अनुगमनसमेत गरिने केन्द्रले जनाएको छ।

मास्कको सहि प्रयोग कसरी गर्ने ?

कोभिड –१९ अर्थात कोरोना भाइरसको संक्रमणको त्रास बढेपछि मास्क प्रयोग पनि बढेको छ। अस्पताल तथा स्वास्थ्यसंस्थामा चिकित्सक, स्वास्थ्यकर्मी सबैले मास्क प्रयोग गरेर नै बिरामीको जाँच गर्ने गर्छन्। किनकी मास्कले रोग सर्नबाट रोक्न सक्छ। अस्पतालमा मात्र होइन, धूलो–धुवाबाट बच्न पनि मास्कको प्रयोग गर्ने गरिन्छन्। धुवाँ, धुलो भएको शहरहरुमा मास्क विना हिड्न पनि गाह्रो हुन्छ।

तर, कतिपय नेपालीले अझैपनि मास्कलाई सहि प्रयोग गर्न जानेका हुँदैनन्। सहि तरिकाले मास्क प्रयोग गर्न नजानेमा त्यसको उपयोगिताको अर्थ रहदैन पनि। जनस्वास्थ्य विज्ञ तथा चिकित्सकहरु सहि तरिकाले मास्क प्रयोग गर्न यसरि सुझाउँछन्।

१. मास्कलाई सुल्टो प्रयोग गर्ने

२. नाकको डाडीमा मास्कको प्लेटलाई च्यापेर लगाउने

३. मास्कको तल, माथि, दायाँ, बायाँ एयर टाइट गर्ने

४. सकभर एन ढछ मास्क प्रयोग गर्ने

५. मेडिकल/सर्जिकल मास्क ‘युज एन थ्रो‘ अर्थात डिस्पोजेबल गर्ने। तसर्थ, नयाँ मास्क एकपटक मात्र प्रयोग गर्ने अनि उचित ठाउँमा फ्याँक्ने

६. प्रयोग गरेको मास्क खल्तीमा नराख्ने, घरभित्र नलैजाने

७. मास्क निकाल्दा कानका डोरीबाट निकाल्ने र डिस्पोज गर्ने

८. एउटाको मास्क अर्कोले प्रयोग नगर्ने

९. आफ्नो साइजको मास्क मात्र प्रयोग गर्ने

१०. कपडाको मास्क सकभर प्रयोग नगर्ने, धोएको कपडाको मास्क प्रयोग गर्दा साना कण, भाइरस/ब्याक्टेरिया फिल्टर हुँदैनन्


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।