“दशैंको यात्रा : सहज ,असहज दुबै अनुभव” – टि.एन.थाम्सुहाड.


     टि.एन.थाम्सुहाड.    
     असाेज १६ गते २०७९ मा प्रकाशित




पहिलो दिन
कुरा २०६८ असोजको हो । मेरो गाउँ टाढा भएकोले यसपाली बिस्तारै बाटोको पनि अवलोकन गर्दै आफैं फिदिम सम्म लगभग ६२५ कि मि गाडी चलाएर जाने निर्णय गरियो । ३ दिन लगाएर । विधार्थी जीवनमा पटक पटक रात्री र दिवा बसमा यो बाटो ओहोर दोहोर नगरेको पनि होईन । तर यो बाटोको बारे राम्रो अध्ययन गर्न नपाएकोले घटस्थापनाको दिन करिब २ बजे आफ्नो परिवार श्रीमती जुना, छोरा आन्जुम र दाइको छोरी सुमइक्ला र म गरी ४ जना हेटौंडामा सम्म पुग्ने गरी स्वयम्भू रिङरोडको बगलामुखी पेट्रोल पम्पमा फुल टैंकी पेट्रोल भरेर थानकोट हुँदै हेटौंडा हुँईकियौं । बेलुकी अफिसको सानो निजी भेटघाट काम पनि भएकोले हेटौडा सकेसम्म छिटै पुग्ने योजना थियो । र हाम्रो हेटौडा बाँसको लागि एकजना साथी मार्फत व्यावस्थापन भई सकेको थियो । हाम्रो काम त्यहाँ बास बस्ने र मेरो सानो भेटघाट मात्र थियो । तर यात्रा सहज र बिस्तारै हिडेकोले हामी साँझ ६ बजे मात्र हेटौंडा पुग्यौं । साँझ भै सकेको थियो । तै पनि आफ्नो कार्यक्रम सकेर बास बसियो । भोली विहान ६ बजे हेटौडा देखि झापा सम्मको यात्राको परिकल्पना गर्दै ।
दोश्रो दिन
विहान ६ः३० बजे चिया खाएर बाटो लागियो हेटौडा बाट अमलेखगंज हुँदै पूर्व पतलैया । लालबन्दी पुगेर फेरि पेट्रोल भरियो । मेरो जीपमा जम्मा ४५ लि मात्र पेट्रोल जान्थ्यो । विहानको खाना खान लाहान पुग्ने योजना थियो । गाडी ९०/१०० को रफ्तारमा बिस्तारै चलाउँदा पनि तुफान कुदिरहेको थियो । काठमाडौंको जाममा क्लज थिच्दै चलाउने बानी यहाँ त कुन गियरमा चलाउने ठेकान नै भएन । यहि रफ्तारमा गाडी कुदिरहेको थियो एक्कासी बिच बाटोमा दाहिने साइडबाट ३ वटा कुकुर आपसमा खेल्दै चल्दै आइरहेको देखेको थिए आफ्नै तालमा । पश्चिम बाट पूर्व पट्टि म हुइँकिदै थिएँ भने पूर्व बाट पशिम आईरहेका थिएँ ती कुकुरहरू । तर एक्कासी तीन वटै कुकुरहरू मेरो साईडमा आएर तुफान चलिराखेको गाडीको चक्का मुनी छिरेर ठाउँको ठाँउ दुःखद मृत्यु भयो । यदि मैले तिनीहरूलाई बचाउन तुफान चलिराखेको गाड़ी रोकेको भए हाम्रो अवस्था के हुन्थ्यो भन्न सक्ने अवस्था थिएन । तर जे गरें राम्रै भयो भन्ने भयो । अनि गाडी रोकियो मान्छे भेला भए सबैले मैले ति कुकुरहरुलाई बचाउने अवस्था नभएको महसुस भए पछि ती मरेका कुकुर फाल्नको लागि स्थानीय बच्चाहरूलाई रू ५००/- मेरो श्रीमतीले दिए पछि यात्रा असहज महसुस गर्दै अघि बढ्यौं । यसरी सहज भै राखेको यात्रा एक्कासी असहज महसुस हुन थाल्यो । श्रीमतीले पनि बिस्तारै चलाउ भन्दै रिसाउन थाली । हाई वे मा ९०/१०० को तिब्रता पनि नचलाए के अर्थ ? यस्तैमा फेरि बाटोमा सेतो ठूलठूला गाई गोरुका बथान पूर्व बाट पश्चिम आइरहेका थिए । गाडी पूरै रोकियो । दुई गाई चै पुर्व र पश्चिम पुरा जुध्दै आईरहेका थिए ! आखिर तिनीहरूले पनि एउटाले मेरो गाडी नै देखेन अनि जुधेको तालमा दाहिने पट्टिको मेरो ड्राइभर ढोका गोरुले हानेर खोल्नै नमिल्ने गरि भांचि दियो । हरे शिव ! अब गाड़ी बाट बिचबिचमा ओर्लन पनि अर्को ढोका प्रयोग गर्नु पर्ने भयो । त्यतिकै तनावका साथ यात्रा अघि बढ्यो । यो २ घटनाको झलझली यादले भोक तिर्खा हरायो । सन्तुलन गुम्ने जस्तो भयो, दिमाग खराब ।
त्यतिकैमा ढल्केबर पुगियो त्यहाँ पनि जनकपुर जाने बाटो ठुलो देखेर पूर्व लाग्नु पर्ने भुलेर जनकपुर तिर लागिएछ । लगभग २० किमी आगाडि बढेपछि महेन्द्रनगर भन्ने ठाँउमा पुगेपछी अर्कै जस्तो लाग्यो सोध्दा त होईन यो जनकपुर जाने बाटो भन्यो । ह्वास्सै परेर फेरि ढल्केबर नै फर्केर आफ्नो बाटो समातियो । म वाहेक अर्को ड्राइभर पनि थिएन । जसो तसो लाहान पुगेर सामान्य खाना खाइयो । दिनको अत्यधिक टन्टलापुर घाम र गर्मी तेस्तै छ । लहान बाट अघि बडियो । श्रीमतीको माइती मोरङ उर्लाबारी नजिकै र उनका बहिनीहरू पनि यत्र तत्र हाइवे नजिकै भए पनि यसपटक लगातार हामी घर पुग्ने र फर्किंदा मात्र ससुराली निस्किने पहिला नै सल्लाह भै सकेको थियो । तै बाटैमा भए पनि छुस भेट्ने दिदी बहिनी कुरा भै सकेको रहेछ । भन्दा भन्दै हामी इटहरी पुगेपछि चै आफ्नै गाउँ जस्तै भेषभूषा परिवेशले होला मन हल्का र अलिक आनन्द महशुस हुन थाल्यो । गछिया चोक पुगेपछि कान्छी साली र दिदीको एकछिन बाटैमा भेट गरेर अघी बढ्यौं । उर्लावारी पुगेपछि फेरि काईली साली संग बाटैमा त्यसरी नै भेट गरि श्रीमतीको माइती जाने बाटो नरमाइलो गरी छोडेर लगातार पूर्व गन्तव्य बडियो । आजको लागि अन्तिम बाटोमा खाजा माइधारमा एकछिन रेस्ट गर्दै खाईयो । यतिन्जेल दिनको ३ः४५ बजेको थियो । बिर्तामोड पुगेर गोरुको चाकले बिगारी दिएको गाड़ीको ढोका बनाउन लगाए । अनि मेरो साखे माईला तुम्बाको कान्छा छोरा तेजेन्द्र दाई बर्ने चियाबगान नजिकै बस्नु हुने भएकाले उहाको घरमा त्यो दिन बास बस्ने पहिला तय भै सकेकोले समयमा नै उहाँको घरमा बास बस्नु पुगेउ । दाइको घर बर्ने हरियाली सुन्दर चियाबगान नजिकै छ । दाइ र दाईको परिवार सँग यस्तै दिन भरिको तितामिठा यात्राको कुराहरू गर्दै भोली विहानै फिदिम लाग्ने सल्ला गर्दै खान पिन खाएर दिनभरिको थकान मेट्दै सुतियो ।
तेस्रो दिन
शान्तिनगर बर्ने दाइको घरबाट हामी ७ बजे फिदिमको लागि अघि बढ्याउ । दाइको माईला दाजुको छोरा राम पनि हामिसितै गाउँ जाने भयो जम्मा ५ जना गफिँदै अघि बढियो । यी भतिज काकाको घरमा बसेर बिर्तामोड कलेज पढ्दै थिएँ । अलिक फनी टाईपको भतिजले हामिलाई हसाउँदै बाटो काट्न थप मदत गर्यो । लगभग २५ किमी माथि उकालो उक्लेपछि इलामकै रमणीय ठाउँ कन्याम पुगियो । जहाँ झन्नै आधाघण्टा दृष्यलोकन गर्दै सबैले रमाईलो गरियो । त्यहाँबाट ३ घरे पुगेर चिया नास्ता हल्का खाएर १३ गोलाई मेची राजमार्ग निरन्तर ओरालो झर्दै अघि बढियो । यो १३ गोलाई ओरालोमा गाडी चलाउन मलाई निकै अफ्ठेरो महसुस भयो किनकी म पनि त्यति अनुभवि चालक थिइन । तर मेरो आगाडि एउटा सेनाको जिप आगाडि आगाडि थियो र उसैको सारमा पछि पछि म पनि अघि बढ्न सहज भयो । पछाडि बाट फनि भतिजले मलाई सम्झाउँदै थियो काका यो गोलाई कटाउनु भयो भने तपाई साँच्चै सक्षम ड्राइभर हुन्छ भनेर । यसरी नै इलाम बजार काटेर पुवा माईमा पुगेर विहानको खाना खाई पुन गाफिन्दै रांकेमा एक्छिन रोकिएर सहतापूर्वक ६२५ कि मी गुडेर दिनको १२ः३० बजे फिदिम पुगियो ।
त्यो समयमा फिदिम बाट मेरो पुर्ख्यौलि घर थाङनापा याङनाम हाल फिदिम नगरपालिका वडा नं १० पुग्न करिब १३ किमि कच्ची मोटरबाटो मात्र भएकोले फिदिम स्थित होटल सर्गममा आफ्नो गाडी राखेर एउटा फर्वील गाडी रिजर्भ गरेर बेलुकी ५ बजे आगाडि नै आफ्नो प्यारो घर दशैं मान्न ३ दिनमा पुगियो । इति ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।