बिजया दशमी : बौद्दमार्गिको अहिंसा पर्व र सम्राट अशोक


     दीपेन्द्र श्रेष्ठ    
     असाेज १९ गते २०७९ मा प्रकाशित




आज आश्विन शुक्ल पक्षको दशमी तिथि । बडादसैंको अन्तिम तथा महत्वपूर्ण दिन । हिन्दु धर्मावलम्बिले असत्यमाथि सत्यको असुरमाथि सुरको बिजय पर्वको रुपमा रातो टिका लगाएर दसैं मनाई रहेको बेला बौद्दमार्गिहरुले पनि हिंसामाथि अहिंसाको बिजय पर्वको रुपमा यसलाई मनाउने गर्दछन् । किम्वदन्ति अनुसार यसको सन्दर्भ भने सम्राट अशोकले युद्दको उन्मादबाट वाक्क भएर हतियार बिसर्जन गरि शान्तिका अग्रदूत गौत्तम बुद्दको शान्तिको मार्ग अवलम्वन गरेको दिनसंग सम्बन्धित छ । त्यसैले पनि दसैंलाई हिन्दुहरुको मात्र महान् पर्व नभनि सम्पूर्ण नेपालीहरुको महान् सांस्कृतिक पर्वको रुपमा लिइने गरेको पाइन्छ ।


को थिए सम्राट अशोक :
सम्राट अशोक (राज्यकाल ईसापूर्व २७३) प्राचीन भारतमा मौर्य राजवंशको चक्रवर्ती राजा थिए । उनको मौर्य राज्य उत्तरमा हिन्दुकुशको की श्रेणिदेखि लिएर दक्षिणमा गोदावरी नदीको दक्षिण तथा मैसूरसम्म तथा पूर्वमा बङ्गालदेखि पश्चिममा अफगानिस्तानसम्म पुगेको थियो। यो त्यस समयसम्मको सबैभन्दा ठूलो भारतीय साम्राज्य थियो। सम्राट अशोकलाई आफ्नो विशाल साम्राज्यको राम्रो र कुशल प्रशासन तथा बौद्ध धर्मको प्रचारको लागि जानिन्छ।

जीवनको उत्तरार्धमा अशोक भगवान गौतम बुद्धको भक्त भए र तिनै स्मृतिमा उनले एउटा स्तम्भ खडा गरिदिए । जो आज पनि लुम्बिनीमा मायादेवी मन्दिरको छेउमा अशोक स्तम्भको रूपमा देख्न सकिन्छ। भनिन्छ उनले बौद्ध धर्मको प्रचार भारत लगायत श्रीलङ्का, अफगानिस्थान, पश्चिम एसिया, इजिप्ट तथा ग्रीकमा पनि गराए। सोहि बेलादेखि बौद्द धर्मावलम्बिहरुले आश्विन शुक्ल पक्षको दशमीलाई हिंसामाथि अहिंसाको बिजय दशमीको रुपमा मनाउन थालेको बताइन्छ ।
बाल्यकाल :
अशोक मौर्य सम्राट बिन्दुसार तथा रानी धर्माको पुत्र थिए। भनिन्छ कि धर्मा एउटा ब्राह्मणको छोरी थिईन् । एक दिन उनले स्वप्न देखे कि उनको छोरा एउटा ठूलो सम्राट बन्ने छ । त्यस पछि उनलाई राजा बिन्दुसारले आफ्नो रानी बनाए। जब कि धर्मा कुनै क्षत्रिय कुलबाट थिइनन् तसर्थ उनलाई राजकुलमा कुनै विशेष स्थान प्राप्त थिएन। अशोकको थुप्रै दाजु भाइ (सौतेनी) बैनी थिए। बल्यकालमा उनीहरूमा कडा प्रतिस्पर्धा हुन्थ्यो। अशोकको बारेमा भनिन्छ कि उनी बाल्यकालबाट नै सैन्य गतिविधिहरूमा प्रवीण थिए। दुई हजार वर्ष पश्चात्, अशोकको प्रभाव एसिया मुख्यतः भारतीय उपमहाद्वीपमा देख्न सकिन्छ। अशोक कालमा कुदिएको प्रतीतात्मक चिह्न, जसलाई हामी अशोक स्तम्भको नामबाट पनि जानिन्छ, जुन आज भारतको राष्ट्रीय चिह्न हो। बौद्ध धर्मको सन्दर्भमा गौतम बुद्ध पश्चात् अशोकको नै स्थान आउदछ।
साम्राज्य बिस्तार :
अशोकका दाजु सुसीम त्यस समय तक्षशिलाको प्रान्तपाल थिए। तक्षशिलामा भारतीय-यूनानी मूलका धेरै मानिस बस्तथे। यसबाट त्यो क्षेत्र विद्रोहको लागि उपयुक्त थियो। सुसीमको अकुशल प्रशासनको कारण पनि त्यस क्षेत्रमा विद्रोह उठ्यो । राजा बिन्दुसारले सुसीमको भनाईमा लागेर राजकुमार अशोकलाई विद्रोहलाई दमनको लागि त्यहा पठाए। अशोक आउने खबर सुनेर नै विद्रोहीहरूले उपद्रव समाप्त गरे र विद्रोह बिना कुनै युद्ध खत्म भयो। अशोकको यस प्रसिद्धबाट उनको दाजु सुसीमलाई सिंहासन नपाउने खतरा बढ्यो । त्यसैले उनले सम्राट बिन्दुसारलाई भनेर अशोकलाई निर्वासमा पठाई दिए। निर्वासनका क्रममा अशोक कलिङ्ग गए। त्यहाँ उनको मत्स्य कुमारी कौर्वकीसँग प्रेम भयो । पछि अशोकले उनलाई रानी बनाएका थिए।
यसै बीच उज्जैनमा विद्रोह भयो। अशोकलाई सम्राटले निर्वासनबाट बोलाएर विद्रोह दबाउन पठाए। उनी र उनका सेनापतिहरूले विद्रोहलाई दबाई दिए ।
केहि वर्ष पछि सुसीमसँग आजित् भएका मानिसहरूले अशोकलाई राजसिंहासन हत्याउनको लागि प्रोत्साहित गरे किन भनें सम्राट बिन्दुसार वृद्ध तथा रुग्ण शरिरका हुदै थिए। जब उनी आश्रममा थिए तब उनलाई यो यो खबर आयो की उनको आमालाई उनको सौतेनी भाइहरूले मारीदिए। तब उनी राज महलमा गएर आफ्नो सबै सौतेनी भाइहरूलाई मारी दिए र सम्राट बने।
सत्ता समाल्ने बित्तिकै अशोकले पूर्व तथा पश्चिम दुबै दिशामा आफ्नो साम्राज्य फैलाउन शुरु गरे। उनले आधुनिक आसाम देखि ईरानको सीमाना सम्म साम्राज्य विस्तृत केवल आठ वर्षमा गरे।
कलिङ्गको लडाई :
कलिङ्ग युद्ध उनको जीवनको एउटा निर्णायक मोड साबित भयो। यस युद्धमा भएको नरसंहारबाट उनको मन ग्लानिबाट भरीयो र उनले बौद्ध धर्मलाई अंगीकार गरे। कलिङ्ग युद्धमा भएको क्षति तथा नरसंहारबाट उनको मन लडाई गर्नबाट उठ्यो र उनी आफ्नो कर्मबाट दुखी भए।
हिंसाबाट अहिंसामा रुपान्तरण मोड :
प्राचिन कलिंग राज्य दंतपुर, वर्तमान जगन्नाथपुरी थियो । कलिंग राज्य व्यापारिकरूपमा सम्पन्न थियो, कलिंग राज्यलाई महाराजा बिंदुसारले पटक पटक आक्रमण गर्दा पनि परास्त गर्न सकेका थिएनन् । त्यसैले सम्राट अशोकले कलिंग राज्य माथि आफ्नो अधिकार स्थापित गर्ने दृढ निश्चय गरे । सेनाले चारैतर्फबाट घेरा हालेर भिषण हमला गरे । यस युद्घमा अत्याधिक रक्तपात तथा नरसंहार भयो ।
कलिंगका सेना र जनताहरूले वीरताका साथ मुकाविला गरे, तै पनि युद्घमा सम्राट अशोककै विजय भयो त्यस समयमा कलिंगका राजा चैत्रराजको शासन थियो । त्यस भिषण युद्घमा १ लाख ५० हजार जना लाई बन्दी बनाएर निर्बासित गरियो, एकलाख भन्दा बढीको ज्यान गयो । युद्घमा भाग नलिएका ब्राम्हण, श्रमण, तथा सर्वसाधरण जनताहरूलाई पनि आफ्ना आफन्त नाता गोताहरूको संहार भएबाट अतिनै कष्ट भयो ।कलिंगको युद्घको बिजयको साथै युद्घमा भएको हृदय बिदारक हिंसा र नरसंहारको दृष्य सम्राट अशोक आफ्नै आँखाले देखेका थिए । त्यो भिषण युद्घको दृष्यले सम्राट अशोकको मनमा एकदम ठूलो असर पर्यो र उनको मन धेरै अशान्त हुन पुग्यो । पाटलि पुत्रको (हालको पटना) राजमहलमा बस्ता पनि उनको कानमा युद्घको चित्कार र तरवारको खनखनाहट मात्र गुञ्जी रह्यो ।
अध्येताहरुका अनुसार त्यो घटना उनको मनबाट कहिल्यै पनि हट्न सकेन उसलाई पश्चतापले पोल्न थाल्यो । जति धेरै कोसिस गरे पनि त्यो घटनो विर्सन नसकि उनि छटपटाइ रहेका थिए । यहि समयमा एक जना न्यग्रोध नाम गरेका भिक्षु राज महलको बाटो भएर हिडिरहेका थिए र संयोगवस सम्राटको नजर तिनै भिक्षुमा पर्यो । उनको मनमा एक्कासी भिक्षु प्रति आस्था जागेर आयो । उनले भिक्षुलाई दरवारमा निमन्त्रण गरे र सम्मान पुर्बक आसनमा राखेर स्वागत सत्कार गरि आदर पुर्वक भोजन गराए । भोजन पछि भिक्षुले सम्राट अशोकलाई वौद्घ धर्मपदका वारेमा उपदेश दिनु भयो ।
भिक्षु न्यग्रोधको उपदेशले सम्राट अशोकको शोकाकुल हृदयलाई एकदमै राहतको महसुस गरायो । अमृत समान वुद्घ वचनको वर्षाले उनको तड्पिरहेको मनलाई अन्तत शितलता मिल्यो र यस उपदेशले उनि अत्यन्त प्रभावित भएर सम्राट अशोकले वौद्घ धर्मको दिक्षा लिने संकल्प गरे । सम्राटले भिक्षु न्यग्रोध र उनको सम्पूर्ण भिक्षु संघ सहित भोजनका लागि निमन्त्रणा गरे । दोश्रो दिन आचार्य स्थाविर प्रमुख सहित वत्तिस भिक्षुहरूका साथमा भिक्षु न्यग्रोध दरवार पुगे ।त्यस दिन सम्राट आफैले भिक्षुहरूलाई आफ्नै हातले पस्केर भोजन गराए । भोजन पश्चात भिक्षुहरूबाट धर्म देशना भयो । सम्पुर्ण राज परिवारहरूका साथ सम्राट अशोकले पनि सोहि दिन भिक्षु संघबाट वौद्घ धर्म दिक्षा ग्रहण गरे ।
दिव्यवदानका अनुसार भिक्षु आचर्य स्थाविर उपगुप्तले सम्राट अशोकलाई वौद्घ धर्ममा दिक्षित गरेका थिए । संसारको मिथ्या दुःख र अतृप्त मनलाई छाडि धर्म पथको दिक्षा पाएपछि सम्राटलाई परम आनन्दको अनुभव भयो । यस उपरान्त सम्राट अशोकले सस्त्रद्वार युद्घ विजयको ठाउँमा दया, शान्ति र करूणा द्वारा धर्म विजय प्राप्त गर्ने दृढ प्रतिज्ञा गरे । सम्राट अशोकको जिवनमा यो अपुर्व घटना आश्विन शुक्ल पक्षको दशमीको दिन घटेको थियो । युद्घ विजयको स्थानमा धर्म विजय भएको त्यस दिन देखि सम्राट अशोकको राज्यमा अहिंसा पर्वको रुपमा विजया दशमी पर्वको रूपमा मनाउन थालियो ।
त्यस पछि प्रत्येक वर्ष विजय दशमी पर्वलाई राष्टिय पर्वको रूपमा मनाउने घोषणा भयो । नगरका विभिन्न ठाउँबाट धार्मिक झाँकीहरू र शोभा यात्राहरु निकालियो, यस्ता कार्यक्रममा सम्राट आफैले पनि भाग लिने गरेका थिए । हिंसामाथि अहिंसाको विजया दशमी पर्वलाई असत्य माथि सत्यको विजय,पाप माथि धर्मको विजयको चाडको रूपमा प्रत्येक वर्ष वडो श्रद्घा र धुमधामका साथ मनाउने चलन भएको बौद्ध बाड.मयिक इतिहासमा उल्लेख गरिएको पाइन्छ।
भनिन्छ उनले शिकार तथा पशु हत्या गर्न छोडिदिए। उनले ब्राह्मण तथा अन्य सम्प्रदायको सन्यासिहरूलाई खुलेर दान दिए ।जनकल्याणको लागि उनले चिकित्सालय, पाठशाला तथा सडक आदिको निर्माण गराए ।
उनले बौद्ध धर्मको प्रचारको लागि आफ्नो धर्म प्रचारक नेपाल, श्रीलङ्का, अफगानिस्तान, सीरिया, मिस्र तथा ग्रीस सम्म पठाए । उनले यस कामको लागि आफ्नो छोरा र छोरीलाई यात्राहरूमा पठाएका थिए ।

यसर्थ पनि हामीले बिजया दशमीलाई हिन्दूहरुको पर्वको रुपमा मात्र नहेरी सम्पूप्ण नेपालीहरुको साझा सांस्कृतिक पर्वको रुपमा ग्रहण गरिनु सान्दर्भिक हुन्छ । यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्दि, सुस्वास्थ्य र दीर्घायूको शुभकामना । जय होस् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।