रुसको क्षेप्यास्त्र हमलापछि युक्रेनमा पानी र विद्युतको हाहाकार


     एभरेस्ट आवाज    
     कार्तिक १५ गते २०७९ मा प्रकाशित




रुसी फौजले संवेदनशील क्षेत्रलाई लक्षित गर्दै ५० वटा भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेपछि युक्रेनभरिकै विद्युत तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएको छ।

राजधानी किभका मेयर भिताली क्लित्स्चकोका अनुसार त्यहाँ ८० प्रतिशत बासिन्दा बिना पानी र करिब ३ लाख ५० हजार अपार्टमेन्ट विद्युतविहीन अवस्थामा पुगेका छन्।

उत्तर–पूर्वी सहर खार्किभमा पनि ऊर्जा आपूर्ति परिसरहरूमा क्षेप्यास्त्र आक्रमण गरिएका छन्।

रुसले आफ्नो लामो दूरीको सटिक हतियारले युक्रेनको सैनिक कमान्ड र ऊर्जा प्रणालीमा लक्षित आक्रमण गरेको जनाएको छ।

रुसी रक्षा मन्त्रालयले सम्पूर्ण निर्धारित वस्तुमाथि प्रहार गरिएको जनाएको छ। रुसले अधिनस्थ क्राइमियामा रहेका आफ्ना ब्ल्याक सी फ्लिटमा युक्रेनले ड्रोन आक्रमण गरेको आरोप लगाएपछि रुसी क्षेप्यास्त्र हमला सुरु भएको हो।

क्लित्स्चकोले किभ नजिकको एउटा ऊर्जा परिसर रुसी आक्रमणमा क्षतिग्रस्त भएपछि किभमा पानीको अभाव हुन थालेको जनाएका छन्।

उनले भनेका छन्, ‘विद्युत आपूर्ति पुन: सुचारु गर्न इन्जिनियरहरूलाई खटाइएको छ। प्रभावशाली वायु सैनिक फौजको कारण किभमा कुनै क्षेप्यास्त्र हमला भएको सूचना आएको छैन।’

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।