को हुन् रामजीप्रसाद बराल ? उनलाई भोट किन हाल्ने ?


     एभरेस्ट आवाज    
     कार्तिक २० गते २०७९ मा प्रकाशित




पोखरा, कात्तिक २०

पोखरा महानगरपालिका वडा नम्बर–२२ डाँडाथोक, लुकुस्वाँरा निवासी रामजीप्रसाद बराल निष्ठाका राजनीति गर्ने कास्केली राजनितिज्ञ हुन् । सानै उमेरदेखि राजनीतिमा होमिएका उनी वर्गिय पक्षधर हुन् । हुने खाने भन्दा हुँदा खाने वर्गका लागि जीवन सुम्पेका उनले स्थानिय शुक्रराज माविबाट एसएलसी दिए । निम्न वर्गमा जन्म लिएका बराल एसएलसी दिँदासम्मपनि खुट्टामा चप्पलसमेत नलगाई हिंड्थे ।

निम्न वर्गका सन्तानले भोग्ने समस्या बरालले पनि भोगेका छन् । गरिवीका कारण विहान खायो, बेलुका के खाउँ र बेलुका खायो, विहान के खाउँ भन्दै बाल्यअवस्था पार गरेका उनलाई स्कुलको परीक्षा शुल्कसमेत तिर्न नसकेर परीक्षा दिन नपाएको तितो अनुभव छ । अतितको स्मृतिमा फर्किदै उनले भने,माथ्लो गामबाट अँध्यारोमा कोदो बेसाएर ल्याएको, अरुले देख्छ कि भनेर लुकाएरै ढिँडो र आँटो खाएको सम्झना स्मृतिमा अझै ताजै छ ।’ लामो सुस्केरा हाल्दै उनले थपे,‘अनि परीक्षा शुल्क तिर्न नसकेर एक वर्ष परीक्षा दिन नपाउँदाको क्षण सम्झिँदा अहिलेपनि आँशु आउँछ ।’

२०२३ सालमा जन्मिएका रामजीको बाल्यकाल अभावै अभावबाट गुज्रियो । जसका कारण उनी २० वर्षको उमेरमा २०४३ मात्रै एसएलसी उत्तिर्ण भए । सानै उमेरदेखि गरीव तथा दुःखीहरुको दुःख देख्न नसक्ने रामजी सानैदेखि विद्रोही स्वाभावका थिए । अभावले विद्रोह जन्माउँछ भनेझैं रामजीलाई अभाव र असमानताले सँधै घोँचिरह्यो ।

पञ्चायतबिरुद्धको आन्दोलनमा अग्रणी भूमिका खेलेका उनी विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका हुन् । २०३३ सालको विद्यार्थी आन्दोलन र २०३६ सालको जनमत संग्रहका बेला राजनीतिक चेतना उनको गाउँ, टोलहुँदै घरसम्म पुगेको थियो । बहुदलको पक्षमा उभिएका नेता र विद्यार्थीहरुको अभियानले उनको मन छोयो । पञ्चायत नै समस्याको जड हो भन्ने बुझाई बनाएर आन्दोलनमा होमिएकासँग उनकोपनि मत मिल्यो । उनलाई ‘संसारमा महिला र पुरुष दुई वटा मात्र जात हुन्छन् र सर्वहाराको राज्य स्थापना गर्नुपर्छ भन्ने बिचार सारै मन प¥यो । त्यसैले उनी तत्कालीन मशालको विद्यार्थी संगठनमा आवद्ध भए ।

भूमिगत रहेर मशालको आन्दोलनमा लागेका उनी २०४६ सालमा खुल्ला राजनीतिमा आउनुका साथै त्यस आन्दोलनको नेतृत्वदायी भूमिकामा रहे । उनले २०४७ सालमा पार्टीको सदस्यता प्राप्त गरे भने २०४८ सालमा मशालको खुला राजनीतिक संगठन संयुक्त जनमोर्चाको गाउँ एकाइ अध्यक्षको जिम्मेवारी पाए । २०४९ मा जिल्ला सदस्यमा बढुवा भएका उनले कम्युनिष्टमा हुने फलामे अनुशासन र त्यागको पाठ सिके । जनताको मुक्ति बाहेकका सबै विषयहरु मिथ्या हुन् भन्ने निश्कर्षमा पुगेका उनले ‘पुरानो संरचना नभत्काइ नया बन्दैन भन्ने विचारप्रतिको दृढता त्यहि समयमा बनाए ।’

२०५१ सालमा तत्कालीन नेकपा माओवादीको राष्ट्रिय भेलाले जनयुद्ध सुरुगर्ने र जनमुक्ति सेना निर्माण गर्ने निर्णय गर्दा उनी जिल्ला कमिटीमै थिए । कमरेड तारा अधिकारीले दिएको एक चिठीका भरमा जनयुद्धमा होमिएका उनले भने,‘‘जनयुद्ध शुरु भएको र तयारी हुन अनुरोध गरिएको चिठी पढेपछि ममा खुसीको कुनै सीमाभएन, पार्टीप्रतिको विश्वास बढेर आयो, दिमागमा मुक्तिको सपना नाच्न थाल्यो ।’

कि मृत्यू कि मुक्ति भनेर जनयुद्धमा लागेका उनले क्रान्तिमा समर्पण चाहिन्छ भन्ने राम्ररी बुझेका थिए । सोहि बिचारबाट प्रभावित उनी २०५३ सालमा तत्कालीन माओवादीको पूर्णकालीन कार्यकर्ता बने । जति बेलापनि मारिने डर, भूमिगत संगठन निर्माण, युद्धकालीन आक्रमणका योजनाहरु बनाउने जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै उनले कास्की, पर्वत र स्याङ्जामा माओवादीको बिऊ र क्रान्तिको ज्वाला बालिरहे ।

२०५३ मा पूणर्कालिन बन्नेबित्तिकै उनको काँधमा तत्कालीन नेकपा (माओवादी) को इलाका सेक्रेटरी र पार्टीको जिल्ला सदस्यको जिम्मेवारी आयो । ‘पूणकालीन बनेपछि बाँचेर यहाँसम्म आइपुगिएला भन्ने त कल्पनै थिएन तर बाँचियो अनि जनताले पाएको एउटा उपलब्धीको साक्षीबन्ने अवसर मिल्यो’–उनले भने ।

बराल २०५७ मा पार्टीको पर्वत जिल्ला सेक्रेटरी बने । २०५९ सालतिर कास्कीमा पार्टी कमजोर देखिएपछि कास्की सेक्रेटरी र इन्चार्जको जिम्मेवारी सुम्पिदा उनी त्यसमा खरो उत्रिए । जसका कारण उनी पार्टी पोलिट्ब्यूरो सदस्यमा बढोत्तरी भए । २०६२÷०६३ को आन्दोलनमा पनि उनले कास्कीमा रहेर नेतृत्वदायी भूमिका खेले ।

खुला राजनीतिमाआएसँगै पार्टीजस्तै उनको पनिभूमिका फेरिएको छ । उनी पार्टीको केन्द्रीय सदस्य छन् । २०७४ सालको अघिल्लो निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्यमा चुनिएका उनी हाल गण्डकी प्रदेशका अर्थमन्त्री छन् । हिजो जसका लागि भनेर लडेका थिए आज तिनैका लागि केहि गर्ने ठाउँमा डाढू पन्यू लिएर बसेका उनले प्रदेशको विकासका लागि महत्वपूर्ण योजना अगाडि बढाएका छन् । तर पहिलो साढे ३ वर्ष तत्कालीन नेकपा सरकारको दुई तिहाईको भरमा एमालेका नेताले हालीमुहाली गरेका कारण सोंचेजस्तो गर्न नसकिएको उनको भनाई छ ।

तर अब संघीय सांसद बनेर ती अपूरा योजना पूरा गर्ने आफ्नो योजना रहेको उनी बताउँछन् । आफू बिजयी भए पर्यटन र कृषिको जगमा टेकेर स्वरोजगार सिर्जना, कास्की क्षेत्र नम्बर ३ मा उत्कृष्ट कलेज र अस्पतालको स्थापना, जडिबुटी प्रशोधन केन्द्र, ग्रामीण सडकको स्तरोन्नति, पर्यटकीय पदमार्गहरुको संरक्षणलगायतका योजना कार्यान्वयन गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।