सन्देश श्रेष्ठ
पोखरा, भदौ ९
नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ । कांग्रेस नेतृत्वको वर्तमान सरकारबाट एमाले बाहिरिने पक्का भएको हो । यसअघि अन्य प्रदेशमा एमाले–नेकपा गठबन्धन अनुसार सरकार बनेसँगै गण्डकीमा पनि एमालेलाई सरकार छाड्न दवाब परेको थियो । अन्य प्रदेशमा गठबन्धनको सरकार बनिसक्दा पनि गण्डकीमा कांग्रेस नेतृत्वको सरकारमा झुण्डिरहेपछि एमालेलाई सत्तालोलुपको आरोप लाग्दै आएको छ ।
गण्डकी प्रदेश एमाले संसदीय दलको बैठक बुधबार विहान ८ बजे बस्दैछ । सोहि बैठकले प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्ने स्रोतको दाबी छ । यसअघि मंगलबार विहान बसेको संसदीय बोर्डको बैठकले एमाले मन्त्रीहरुलाई सरकारबाट बाहिरिन निर्देशन दिएको थियो । तर संसदीय दलको बैठकबाट औपचारिक निर्णय गरेर मात्रै बाहिरिदा राम्रो सन्देश जाने भन्ने भएपछि एमाले मन्त्रीहरुले मंगलबार मुख्यमन्त्रीलाई राजिनामा नबुझाएको एक एमाले सांसदले बताए । मन्त्रीहरु सबै राजिनामा दिने मूडमै हुनुहुन्थ्यो,ती सांसद भन्छन्,‘तर संसदीय दलको बैठकले निर्णय नगरी राजिनामा दिदा राम्रो सन्देश नजाने बुझाई उहाँहरुको भयो, सो अनुसार मंगलबार राजिनामा दिनु भएन ।’ यसको मतलव राजिनामा नदिने भन्ने नभएको उनको दाबी छ । सम्भवत ः बुधबार संसदीय दलको बैठकले निर्णय गर्छ,उनले भने,‘त्यसलगत्तै मुख्यमन्त्रीलाई राजिनामा दिने तयारी छ ।’
एमालेको नेतृत्व गरेर सरकारमा गएका भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री गोविन्दबहादुर नेपालीले आफूहरु सरकारमा बसे पनि सहमतिमै वा छोडे पनि सहमतिमै छोड्ने बताए । आजसम्म हामी कांग्रेससँगको सहमति अनुसारै सरकारमा छौं,उनले भने,‘भोलि छोड्न परे पनि सहमतिमै छोड्छौं ।’ यद्वपी यसबारेमा निर्णय नभइसकेको उनको भनाई छ । पार्टी र संसदीय दलको निर्णय अनुसार आफूहरु अगाडि बढ्ने उनले बताए ।
अर्का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम कार्कीले सरकारका विषयमा चाँडै निर्णयमा पुग्ने बताए । हामीले मुख्यमन्त्रीलाई तपाईंको चाहना अनुसार अगाडि बढ्नूस् भनेका छौं,उनले भने,‘सरकार एक्लै चलाउन चाहेको हो भने ठीकै छ चलाउनूस् भन्यौं ।’ तर राजिनामा चाहिं नदिएको उनले प्रष्ट्याए ।
यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारबाट नबाहिरिए एमालेका मन्त्रीहरुलाई बर्खास्त गर्ने चेतावनी दिएका थिए । केन्द्रमा एमाले–नेकपा गठबन्धन बनेर गण्डकी र मधेशबाहेक अन्य प्रदेशमा सो गठबन्धनको सरकार बनिसक्दा पनि गण्डकीमा एमालेले सत्ता नछाड्दा पुराना पार्टी सबै एउटै हुन् र सत्तालोलुप भन्ने आरोप खेप्नुपरेकाले एउटा निश्कर्षमा पुग्नु पर्ने उनको भनाई थियो । जवाफमा एमालेले सरकार छाड्न लागेको हो ।
एमाले सरकारबाट बाहिरिएलगत्तै एमाले–नेकपा गठबन्धनबाट एमाले संसदीय दलका नेता खगराज अधिकारीको नेतृत्वमा सरकार गठनको प्रयास हुने नेताहरु बताउँछन् । तर गण्डकीमा संख्यात्मक हिसाबले त्यो सम्भावना निकै न्यून देखिन्छ । गण्डकीमा एमाले र नेकपा बिना नै वर्तमान सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारको बहुमत पुग्ने देखिन्छ ।
६० सदस्यीय प्रदेश सभामा राजिव गुरुङ उर्फ दीपक मनाङे निलम्वित रहेकाले हाल ५९ सदस्यीय रहेको छ । जसमा कांग्रेसको २७ सहित राप्रपाको दुई र तत्कालीन माओवादीको चुनावचिह्नबाट निर्वाचित नयाशक्ति पार्टीका सांसद फडिन्द्र देवकोटाको समर्थन यथावत रहेकाले पाण्डेको बहुमत यथावत छ भने अहिलेसम्म कसैले पनि समर्थन फिर्तासमेत नलिएकाले विश्वासको मत पनि लिनुपर्दैन ।
अधिकारी नेतृत्वमा सरकार बनाउन एमालेले राप्रपालाई फकाईरहेको छ । एमालेको २२ र नेकपाको सभामुखबाहेक ६ सदस्य भएकाले राप्रपाले समर्थन गरेमा बहुमत पुग्ने देखिन्छ । तर तत्कालीन खगराज अधिकारीलाई समर्थन नगरेको राप्रपाले तत्काल कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएर एमाले–नेकपाको सरकार बनाउन सहयोग गर्ने सम्भावना देखिदैन । उसो त नयाशक्तिका सांसद देवकोटाले पनि पाण्डे सरकारलाई समर्थन यथावत दिएका छन् भने तत्काल समर्थन फिर्ता नलिने दाबी कांग्रेसको छ । बरु देवकोटा आफू नेतृत्वको सरकारमा सामेल हुने मुख्यमन्त्री पाण्डेले दाबी गर्दै आएका छन् । पाण्डे नेतृत्वमा सरकार बनाउन तत्कालीन माओवादीको ह्वीप उलंघन गर्दै मत दिएका उनी सरकारमासमेत गएका थिए । तर जेनजी आन्दोलनमा भएको बालबालिकाको हत्या र वितण्डाप्रति असहमति जनाउँदै उनले पदबाट राजिनामा दिएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, भदौ ९ ।पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको नामावली प्रकाशन…





