गण्डकीको जग बसायौं, अब घर बनाउँछौँ : मीना गुरुङ


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०७९ मा प्रकाशित




हामी जनताबीच प्रिय छौं। एमालेले देशको कायाकल्प गर्ने धेरै योजना सुरुआत गरेको छ। देशमाथि विदेशीले थिचोमिचो गर्दा सतिसाल भएर उभिएको छ। स्थिर सरकार र समृद्धिको विश्वसनीय मार्गचित्र प्रस्तुत गरेको छ। हामी, अहिले एक्लै उभिएका छौं, ढोडका बैशाखी टेकेका छैनौं।

पार्टीले मलाई कास्की २ (२) उम्मेदवार बनाएको छ। पोखरा महानगरका वडा नं. ४, ८, ९, ११, १६ र २० यहाँ पर्छन्। गएको कार्यकालमा समानुपातिकबाट सांसद हुँदा जनताको रोजीरोटीसँग जोडिने केही काम मैले गरेँ। विकास, योजनाका लागि पहल गरेँ। अझै केही काम अपूर्ण छन्, केही कामलाई अझ प्रभावकारी रुपमा गर्नुपर्ने छ। यसपालि प्रत्यक्षमा जनताबाट अनुमोदित भएर ती काम पूरा गर्छु भन्ने मेरो संकल्प छ।

अर्काे कुरा, महिला सधै समानुपातिकमा मात्रै रहनुहुँदैन। महिलाले योग्यता, क्षमता बढाउँदै समानताका लागि अघि बढ्नुपर्छ। हामी पनि पुरुषसरह जिम्मेवारी बहन गर्न सक्छौं, समाजका लागि, देशका लागि। अहिले दलहरुले देशैभर करिब ९ प्रतिशतमात्र महिलालाई प्रत्यक्षमा टिकट दिएका छन्। म घरपरिवार चलाएर, व्यवसाय संचालन गरेर, सामाजिक काम गर्दै यहाँसम्म आएकी एउटी क्रियाशील महिलालाई मेरो क्षेत्रका समझदार, विवेकशील मतदाताले पक्कै न्याय गर्नुहुनेछ। ९ प्रतिशतको उम्मेदवारलाई घटाएर ८, ७ मा झार्नुहुने छैन भन्ने अपेक्षा छ।

अहिले एमालेविरुद्ध योजनावद्ध प्रहार भइरहेको छ। हाम्रो पार्टीमा गुट, उपगुट छन् भनेर धेरै हल्ला मच्याइएको छ। मेरो नजरमा एमालेमा गुट छैनन्, वैचारिक सम्बन्धका केही समूह होलान्। एउटा जीवन्त र विशाल पार्टीमा दशौं लाख कार्यकर्ता हुन्छन्। हजारौं नेता हुन्छन्। उनीहरुका आकांक्षा, सपना, कार्यशैली फरक हुन्छन्। हाम्रो पार्टीमा विभिन्न अरु स्कूलिङबाट आएका नेता, कार्यकर्ता छन्। विभिन्न क्षेत्र, जाति, समूहका मानिसहरु छन्।

तर, पार्टीको उद्देश्य, घोषणापत्र, भावी योजना र कार्यान्वयनमा हामी एक छौं। कतै, समस्या छैन। हाम्रो एकताको सामना गर्न अरु सबैजसो दल गठबन्धन बनाएर आउनुपरेको छ। म सँगसँगै टिकटको आकांक्षा राख्नुभएका साथीहरु, मेरो क्षेत्रका नेता, कार्यकर्तालाई तपाइँहरुले चुनावी अभियानमा म सँगसँगै देख्न पाउनुहुन्छ। यहाँहरु आफ्नो पार्टीलाई जिताउन लाग्नुहुन्छ। एमालेको शक्ति भनेकै यही हो। आन्तरिक प्रतिश्पर्धा पनि हुन्छ, एकमत भएर पार्टीलाई, आफ्ना उम्मेदवारलाई जिताउन पनि हामी परिचालित हुन्छौं।

अहिलेका मेरा प्रतिश्पर्धी वहालावाला मन्त्री, स्थापित व्यवसायी हुनुहुन्छ। यहाँलाई गठबन्धनको साथ पनि छन्। मलाई भने यो क्षेत्रमा जनताको बलियो साथ छ। जनतासँगको गठबन्धनका अघि अरु जस्तोसुकै गठबन्धनको जोर चल्दैन। गएको कार्यकालमा म समानुपातिकबाट, उहाँ प्रत्यक्षबाट सांसद बनेका हौं। दुवैको पद समान हो, जिम्मेवारी समान हो। सरकार बनाउने कुरामा उहाँ कार्यकारी भूमिकामा पुग्नुभयो। हामीले प्रतिपक्षको रुपमा खबरदारी गर्‍यौ। जनपक्षीय कामका लागि आवाज उठायौं।

एउटा महिलाले सधै इमान्दारितापूर्वक, नमुना बनेर काम गर्न सक्छिन् भन्ने देखिने गरी मैले भूमिका निर्वाह गरे। एक्काइसौं शताब्दी, संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि महिलालाई समान अवसर दिइएन भने न सुशासन कायम हुन्छ, न हामीले खोजेजस्तो इन्द्रेणी समाज र समृद्धि संभव हुन्छ।

मेरो जितका केही कारणहरु छन्। पहिलो मेरो पार्टीले लिएको एजेन्डा हो। एमालेको स्वाभिमानको एजेन्डा, हाम्रो सरकार हुँदा भएका विकास, निर्माणका कामले पनि जनताले हामीलाई मत दिनुहुन्छ।

म रत्ति घमण्ड गर्दिनँ, घमन्डले मान्छेलाई खुम्च्याउँछ। मैले प्रदेशसभा सदस्य हुँदा पाएका सेवा, सुविधा समाजकै लागि खर्च गरेँ। अझ, त्यसमा थप व्यक्तिगत तर्फबाट पनि योगदान गरेकी छु। भलै मैले मेरा अहिलेका प्रतिश्पर्धी माननीयको जस्तो यसको विज्ञापन र प्रचार गरिनँ।

समाजमा गरिएको सहयोग मानिसको कल्याण, विकासका लागि हो, त्यसको जस लिएर मेरो व्यक्तित्व निर्माणका लागि होइन। प्रदेशसभा सदस्य बन्नुअघि पनि मैले समाजिक क्षेत्रका काम गरेको थिएँ। मजदूर क्षेत्रमा काम गरेँ। श्रमजीवीको उत्थानका क्षेत्रमा सकृय बने। मानिसलाई सीप सिकाएर आत्मनिर्भर बनाउन भूमिका खेलेँ।

कास्कीका मतदाता विशिष्ट प्रकारका हुनुहुन्छ। गएको चुनावमा जिल्लामा एमालेको वर्चस्व थियो। पहिलो संविधानसभामा ३ क्षेत्र माओवादी केन्द्रले जितेको थियो। कुनै बेला सबै क्षेत्र काँग्रेसले पनि जितेको थियो। कास्की सँधै कसैको पकड एरिया बनेको छैन। एजेन्डा, उम्मेदवार, पार्टी र भविष्यको कार्यभार हेरेर जनताले उचित निर्णय दिनुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु। चाहे हामी सरकारमा हौं, चाहे प्रतिपक्षमा। हामीले उठाएको एजेन्डा नै देशका एजेन्डा बनेका छन्। एमालेमा प्रवेश गर्नेहरुको भीड छ।

नेपाल हाम्रो एजेन्डामा अघि बढ्ने अनि एमालेले हार्ने त्यस्तो होला र? पक्कै हुने छैन। बेला बेलामा बरु नेताहरु बहकिन सक्छन्, जनताले उचित निर्णय गरेको देखिन्छ।

अहिले ‘नो, नट अगेन’ जस्ता अभियान पनि चलेका छन्। पद, शक्ति सधै एउटैले कब्जा गर्नु सर्वथा गलत हो। तर, कोही दोहोरिन हुँदै हुदैन भन्ने मत अझ पूर्वाग्राही र गलत हो। राजनीति आज एउटाले सामान किन्छ, एकछिन पछि अर्काेले सामान किन्छ जस्तो व्यापार होइन र लामो समयको त्याग, बलिदान, अनुभव, लगानी र समर्पणले मानिस राजनीतिमा अघि आएका हुन्छन्। होला, लोकतन्त्र आएपछि कसै कसैले भूइँफुट्टा तरिकाले अवसर पाए, केही विशेष क्षमता भएकालाई दलहरुले आग्रह गरेर नै मौका दिए।

मैले गएको कार्यकालमा सत्ता पक्ष र प्रतिपक्ष दुवैको अनुभव गरेँ। प्रदेशका लागि आवश्यक कानुन संरचना, संयन्त्र बनाउन भूमिका खेलेँ। प्रदेशको जग बनाउने कुरा, त्यही जगमा समृद्धिको खाका कोर्ने कुरा प्रयोग गर्ने कुरामात्र होइन। यसमा नयाँ र समावेशी नेतृत्व पनि अवश्य चाहिन्छ तर अनुभवी, प्रौढ, धैर्यवान् नेता पनि नभई हुँदैन। मैले गएको कार्यकालमा लिएको अनुभव, ममा रहेको ऊर्जा, ज्ञान देशका लागि खर्चिन चाहेकी हुँ। म सधै आफैं हुनुपर्छ भन्ने पक्षमा पनि छैन। नयाँले पनि मौका पाउनुपर्छ। अर्काे कार्यकालमा म फेरि उम्मेदवार बन्दिनँ। पार्टीले बनाएका उम्मेदवारलाई जिताउन, पार्टीलाई जिताउन अग्रमोर्चामा परिचालित हुन्छु। म त भन्छु, देशका सबैभन्दा दिग्गज मानिसहरु राजनीतिमा आउनुपर्छ। राज्य, राज्यकै नीति बनाउने ठाउँ नसुध्रिई, व्यवस्था बलियो हुँदैन, हाम्रा सपना सार्थक हुँदैनन्।

पाँच वर्षमा हामीले प्रदेशको राजधानी तोक्यौं, ऐनहरु बनायौं। प्रदेशका संरचना, कार्यालयहरु खोल्न भूमिका निर्वाह गर्‍यौं। अप्रत्यासित रुपमा कोभिड महामारी आयो। महामारीको सामनाका लागि हामीले प्रदेश ल्याब खोल्यौं, कोभिड अस्पताल बनायौं। गण्डकी विश्वविद्यालय स्थापना भयो। गएको कार्यकालमा हामीले ऐन बनायौं, पूर्वाधारहरु बनायौं, अब कार्यान्वयन गर्ने, प्रदेशको समृद्धि गर्ने, परिणाम देखिने बेला हो। जसले पूर्वाधार बनाएको हो, उसैलाई थप काम गर्न सजिलो होला।

हामीले योगदान गरेर बनाएको नयाँ सरकार प्रदेश सरकारलाई दरिलो, नमुना र प्रभावकारी बनाउन जरुरी छ। अब प्रहरी ऐन बनाउनु छ, कर्मचारी ऐन बनाउनु छ। आम्दानीका नयाँ स्रोत खोज्नु छ। स्थानीय सरकार र संघ सरकारबीच समन्वय गर्न पनि हामीले भूमिका निर्वाह गर्नैपर्छ। प्रदेश सरकार रहेको र त्यो सरकार प्रदेशबासीको हित, उत्थान, विकास र समृद्धिका लागि कृयाशील रहेको आभास दिलाउन म मेरो अनुभव, ऊर्जा, सीप, भूमिका, समय लगाउनु भन्ने अठोट गरी म जनतामाझ आएकी हुँ।

मेरो निर्वाचन क्षेत्रमा पोखरा महानगरका ६ वटा वडा पर्छन्। ३ वटा वडा महानगरका पुराना क्षेत्र हुन् भने बाँकी ३ वडा महानगरमा पछि थपिएका हुन्। यहाँ केही साझा समस्या छन् भने केही ठाउँपिच्छे फरक फरक समस्या छन्। महानगरका पुराना वडा ४, ८, ९ मा पूर्वाधार धेरै काम भएका छन्। आधुनिक महानगरका लागि आवश्यक संरचना बनाउनु जरुरी छ। बिजुलीका तार अन्डरग्राउन्ड गर्ने, ढलको राम्रो व्यवस्थापन गर्ने, पार्किङको उचित प्रबन्ध मिलाउन जरुरी छ। सेती नदीलाई संरक्षण र सौन्दर्यकरण गर्दै यसलाई पर्यटनकीय आकर्षणको रुपमा विकास गर्न जरुरी छ।

ग्रामीण खालका ३ वडाका बासिन्दालाई साच्चिकै महानगरबासी भएको आभास दिलाउनुपर्ने चुनौती छ। ती क्षेत्रमा राम्रो सडक निर्माण गर्न, चक्ल्याउन जरुरी छ। काहुँ लगायतका क्षेत्रमा खानेपानीकै समस्या छ। उपत्यकाबाट नजिकै रहेर पनि छायाँमा परेका काहूँ, भलाम, लामाचौर, बाटुलेचौरलाई प्रवद्र्धन गर्न जरुरी छ। पोखराका ग्रामीण क्षेत्रमा पनि पर्यटकीय सम्भावनाको खोजी, पूर्वाधार निर्माण र प्रवद्र्धन नगरी यो क्षेत्रको समृद्धि सम्भव छैन।

कतिपय समस्या हेर्दा सानातिना लाग्छन् तर ती समस्या नसुल्झाई जनजीविका सहज बन्दैन। साँझ पर्न लागेपछि ग्रामीण क्षेत्रतिर जाने सार्वजनिक सवारी पाइँदैन। सडकमा बत्तिको व्यवस्था छैन। पुरानो पोखरा उपत्यकाभित्र चल्ने गाडीले मात्र विद्यार्थीलाई सहुलियत दिएका छन्। पोखराकै ग्रामीण क्षेत्रमा चल्ने सवारीमा विद्यार्थी सहुलियत दिइँदैन। त्यसका लागि प्रभावकारी कदम चाल्नुछ। कास्कीका उज्ज्वल नक्षत्र रवीन्द्र अधिकारीको सार्वजनिक यातायातमा सहुलियतका लागि ठूलो योगदान थियो। अहिले विद्या भट्टराई, उहाँकी जीवनसाथी कास्की–२ मा हाम्रै पार्टीबाट उम्मेदवार हुनुहुन्छ।

मानवीय विकासका लागि गर्नुपर्ने काम पनि छन्। दिनहुँ विदेश हिड्ने युवाको लस्करलाई कम गर्दै जानु हाम्रो चुनौती हो। सीप सिकाएर स्वरोजगार बनाउन हामी भूमिका निर्वाह गर्छाैं। बाध्यताबस विदेशै जानुपरे पनि सीप सिकेर गए सहज काम पाउने अवस्था बन्छ। अदक्ष कामदारको रुपमा विदेश गएर कष्टकर काम गर्नुपरेको देखिन्छ। हाम्रा गाउँघर रित्तै हुने, बारी बाँझै हुने, हाम्रा युवा मरुभूमिका बगैचा बनाउने, सिसामहल बनाउने यो बिडम्बना अन्त्य नगरी देशको कायाकल्प हुँदैन, समृद्धि संभव छैन।

गण्डकीको भूगोल, आवश्यकता र हाम्रो भावी पुस्ताको अपेक्षा अनुरुपका योजना र कार्यान्वयन अब जरुरी छ। प्रदेश सरकारको तीखो आलोचना पनि सुनिन्छ। तर, तपाइँ प्रदेशहरुलाई हटाइदिनुस्, संघीयता पूर्ण हुँदैन। दशौं हजारको बलिदानी र लाखौं नेपालको पसिना, त्यागबाट आएको हो संघीयता। शिशु अवस्थामै यसको घाँटी अँचेटी हाल्ने, यो त मानवता भएन नि? न्यायोचित देखिएन नि? स्थानीय सरकार पहिले नै थिए, संघ सरकार पनि थियो। बनाउने, स्थापित नहुँदै उखेलेर फाल्ने दृष्टता गर्नुहुँदैन। होला, हाम्रो प्रदेशका केही कमजोरी छन्। ती कमजोरी हटाउने जिम्मेवारी पनि हाम्रै हो।

संसारमा कुनै व्यवस्था पनि निरपेक्ष रुपमा कामयावी छैनन्। अहिले पाँच दलीय गठबन्धनसँग हामी एक्लै लड्दैछौं। ऋनि, हामी जित्दै पनि छौं। चुनावपछि उहाँहरु पाँचतिर फर्कनुहुन्छ। हाम्रो विचार, संगठन, कार्यदिशा र कार्यान्वयनको प्रणालीसँग प्रतिस्पर्धा गर्न नसकेर उहाँहरुले मोर्चाबन्दी गर्नुपरेको हो। यो जनताको भलाइका लागि होइन कि आफूले पद पाउन गरिएको गठबन्धन हो। त्यो बलियो घेरा तोडेर नेकपा एमालेले प्रदेश र संघ सरकार बनाउँछ र समृद्ध नेपाल र सुखी नेपालीको हाम्रो सपना पूरा गर्छ।

मेरो क्षेत्रका मतदाता मेरो काम, पार्टीको एजेन्डा, मेरो भूमिकासँग परिचित हुनुहुन्छ। लामो समयदेखि समाजसेवा, मजदूर, महिलाको क्षेत्रमा सक्रिय भएँ। गएको कार्यकालमा सांसद बनेर भूमिका निर्वाह गरे। अब प्रदेशको समृद्धिको खाका तयार गर्न तपाईहरुको प्रतिनिधि हुन चाहेकी छु।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।