पर्यटन दिवसमा पृथ्वीको प्रभातफेरी र सरसफाई


     एभरेस्ट आवाज    
     असाेज १० गते २०८० मा प्रकाशित




पोखरा । पर्यटन दिवसको अवसरमा बुधबार पोखरामा पर्यटन सम्बद्ध संघसंस्थाहरुले प्रभातफेरी निकालेका छन् । पृथ्वी होटल व्यवसायी समितिको आयोजना, होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको समन्वय तथा नेपाल पर्यटन वोर्ड गण्डकीको प्रवद्र्धनमा प्रभातफेरीसहित विविध कार्यक्रम गरिएको हो ।

पर्यटन दिवसको अवसरमा आयोजित प्रभातफेरी पोखराको चिप्लेढुंगास्थित मानव अधिकारचोकबाट शुरु भई न्यूरोड, सभागृहचोकहुँदै पृथ्वीचोकमा पुगेर सरसफाई कार्यक्रममा परिणत भएको थियो । सो अवसरमा

सभालाई सम्बोधन गर्दै पृथ्वीचोकदेखि चाईनापुल र पोखरा बसपार्क वरपर सरसफाई गरिएको पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अमृत घिमिरेले जानकारी दिए ।

सरसफाईमा महानगरको असहयोग

यसैबीच, सरसफाईमा पोखरा महानगरपालिकाले भने असहयोग गरेको आरोप लागेको छ । पर्यटन दिवसको अवसरमा आयोजित पर्यटन सम्बद्ध संघसंस्थाहरुको सरसफाईमा पोखरा महानगरपालिकाले असहयोग गरेको आरोप लागेको हो । महानगरले सरसफाईका लागि फोहोर बोक्ने गाडी पठाईदिन्छु भनेपनि गाडी नपठाउनुका साथै पोखरा बसपार्क भित्र सरसफाई गर्नसमेत अवरोध पु¥याएको कार्यक्रम संयोजक बालकृष्ण निउरेले बताए ।

हामीलाई सरसफाईका लागि विहानै गाडी पठाईदिन्छु भन्नु भएको थियो,उनले भने,‘तर उहाँहरुले गाडी पठाउनु भएन । गाडी किन नपठाउनु भन्दा महानगरकी सरसफाई विभाग प्रमुख कल्पना बरालले झर्किदै हामीले दैनिक सरसफाई गरिरहेका छौं । त्यस्तो सरसफाई गर्नुपर्ने ठाउँ पोखरामा छैन र गाडीपनि पठाउन सक्दैनौं भन्नुभयो ।’ शुरुमा फोहोर बोक्ने गाडी आउँदैछ भन्दै पर्खाएर पछि गाडी नै नपठाउँदा सरसफाईको काम आधा गरेर बाँकी त्यत्तिकै छाडेर हिंड्नुपरेको उनले बताए ।

त्यतिमात्र होईन, महानगरले ठेक्कामा दिएको कम्पनी वातावरणीय सुन्दर नेपाल प्रालिका सञ्चालकले बसपार्क क्षेत्रमा सरसफाई गर्ने अनुमति नभएको भनेर सरसफाईमा अवरोध पु¥याउन खोजेकोसमेत बताए । फोहोरको जिम्मा लिने ठेकेदारले बसपार्कमा फोहोर छैन भन्नुभयो,उनले भने,‘भएपनि बाहिरकोले आएर सरसफाई गर्न मिल्दैन भन्नुभयो ।’

तर महानगरकी फोहोरमैला विभागकी प्रमुख कल्पना बरालले भने आफूले त्यस्तो जवाफ नदिएको जिकीर गरिन् । फोहोर बोक्ने गाडी आउन ढिलाई भएकै हो,उनले भनिन्,‘सरसफाईमा महानगरले सहयोग गरेन भनेपछि मैले महानगरले सरसफाई गरिरहेकै छ भनेकी हुँ । त्यो कुरा नभनेको भएपनि हुने रहेछ तर त्यत्तिचाहिं भनेकी हुँ ।’ उनले आफूले समितिका अध्यक्षलगायतलाई फोहोर संकलनपछि बोरामा बाँधेर छाडिदिनु वा थुप्रो बनाएर राखिदिनु भनेको तर गाडी नआउँदा रिसाएर फोन गरेको उनको भनाई छ ।

सरसफाईमा पोखरा महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी स्वयम् उपस्थित भएर खटिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।