कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आजदेखि ‘एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक’ प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका-१३ स्थित आर्बा-विजयडाँडामा आगामी मङ्सिर ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित ११ देशका ५५ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी खेलाडीमा पाँच जना महिला छन् । साहसिक खेल पर्यटनका लागि प्रख्यात पोखरामा प्रतियोगिताबाट विश्वभरका साहसिक माउन्टेन बाइकप्रेमीलाई आकर्षित गर्ने विश्वास लिइएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा प्रतियोगिता समुद्री सतहबाट एक हजार तीन सय ६० मिटर उचाइमा रहेको आर्वा–विजयडाँडामा सुरु भएको हो । प्रतियोगिताका लागि पाँच वटा रुट तय गरिएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सिङ्गापुरका खेलाडी वेलसोन लोलाई नम्बर प्लेट दियर प्रतियोगिताको उद्घाटन गरे। इलिट पुरुषतर्फ जुनियर (१२/१८ वर्ष), मास्टर्स ‘क’ (३०/३९ वर्ष), मास्टर्स ‘ख’ (४०/४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ-बाइक गरी सात विधामा प्रतिस्पर्धा सञ्चालन गरिने प्रतियोगिताका निर्देशक सुनिलचन्द्र शर्माले जानकारी दिए ।
प्रतियोगिताको इलिट पुरुषतर्फको विजेताले नगद रु ५० हजार उपविजेतालाई रु ३० हजार र तृतीय हुनेलाई रु २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महिलातर्फ सोही इभेण्टमा विजेतालाई रु ३५ हजार, उपविजेतालाई रु २५ हजार र तृतीय हुनेलाई रु १५ हजार पुरस्का प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा महानगर प्रमुख आचार्यले पोखरालाई खेल पर्यटनको राजधानीका रुपमा विकास गर्नका लागि खेलकुद प्रतियोगितालाई सहयोग गर्दै आएको बताए । “पोखराको पर्यटन प्रवद्र्धनका लागि महानगरले योजना बनाएर काम गर्दै आएको छ । आचार्यले भने, “प्राविधिक हिसाबले आर्वाकोडाँडा प्रतियोगिता सञ्चालनका लागि उपयुक्त भएपछि छनोट गरेका हौँ ।”
पोखरा महानगरपालिका(१३ का वडाध्यक्ष किरण बरालले विकासमा पछाडि परेको आर्वाको भौतिक तथा पर्यटन विकासमा प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे । पोखरा-१२ का वडाध्यक्ष सन्तोष बाँस्तोलाले पर्यटन विकासबाटै पोखराको समृद्धि हासिल गर्न सकिने भएकाले वडाका पर्यटकीय क्षेत्रको विकासमा महानगरले साथ र सहयोग गर्न आग्रह गरे ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







