दरबन्दीअनुसार प्राविधिक नहुँदा योजना कार्यान्वयनमा समस्या


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०८० मा प्रकाशित




साङ्केतक तस्विर

गोरखा । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय गोरखामा दरबन्दीअनुसार प्राविधिक नहुँदा प्रभावकारी ढङ्गबाट योजना कार्यान्वयनमा समस्या भएको छ ।

चालु आर्थिक वर्षमा कार्यालयअन्तर्गतका करिब एक सय ५५ योजना कार्यान्वयन गर्नुपर्ने भए पनि प्राविधिक नहुँदा तीव्रगतिमा अघि बढाउन समस्या भएको कार्यालयका प्रमुख मिलन पौडेलले जानकारी दिए।

कार्यालयमा छजना प्राविधिकतर्फको दरबन्दी रहे पनि आधा दरबन्दी खाली रहेको उहाँले बताउनुभयो । “दुईजना इन्जिनियरको दरबन्दी रहेकामा दुईवटै खालीे छ”, उनले भने, “हाम्रा योजना कार्यान्व्यनको मुख्य अङ्ग भने प्राविधिक नै हुन्, योजना कार्यान्वयनका लागि इन्जिनियर र ओभरसियर नहुँदा कार्यान्यनमा जटिलता भएको छ ।”

दरबन्दीअनुसार कार्यालयमा प्राविधिक नभएकाले योजना कार्यान्व्यन प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको छ । “दरबन्दीअनुसार प्राविधिक पठाइदिन मन्त्रालयलाई पत्राचार गरिसकेका छौँ”, उनले भने, “मन्त्रालयले पठाउँछ भन्नेमा ढुक्क छौँ ।” योजना सुरु गरे पनि कार्यालयबाट आवश्यकतानुसार प्राविधिक अनुगमनका लागि पुग्न नसक्ने अवस्था रहेको उनको भनाइ छ ।

“एउटै योजनाका लागि पाँच–सातपटक जानुपर्ने अवस्था पनि हुनसक्छ, तर थोरै कर्मचारी पर्याप्त नहुँदा दुई–तीन पटकमात्र प्राविधिक फिल्डमा पठाउनुपर्ने बाध्यता हुन्छ”, उनले भने । योजनाको सङ्ख्या हेर्दा भएको दरबन्दीले नपुग्ने अवस्था रहेको कार्यालय प्रमुख पौडेलले बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।