लेखनाथ महोत्सव पुसको पहिलो साता, ९ करोड कारोबार गर्ने लक्ष्य


     एभरेस्ट आवाज    
     मंसिर १८ गते २०८० मा प्रकाशित




मंसिर १८ पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको १९ औँ संस्करणको लेखनाथ महोत्सवको तयारी तिव्र पारिएको छ ।

आगामी पुसको पहिलो सातादेखि पोखरा २७ को तालचोकमा सञ्चालन गरिने महोत्सवको तयारी तिव्र पारिएको आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै जानकरी दिएको छ ।

आगामी पुसको ५ देखि १६ गत सम्म सञ्चालन हुने महोत्समार्फत विभिन्न जात–जाति भाषा–भाषीलाई एकै थलोमा उपस्थीत गराएर लेखनाथ क्षेत्रको पहिचान गराउनुका साथै यस क्षेत्रमा उत्पादीत वस्तुहरुको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनहरुको प्रर्दशनी एवं विक्रि गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।

उनले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको बताए ।

पत्रकार सम्मेलनमा महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी‘राजु’ले कोभिड १९ र युक्रेन युद्धका कारण विश्वभर आएको आर्थिक मन्दिबाट थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवद्र्धन गर्न, देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्न,आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्याउने महोत्सवको मुख्य उद्देश्य रहेको बताए ।

उनले महोत्सवका विशेष कार्यक्रमहरुमा कवि लेखनाथ पौडेलको सम्झनामा साहित्यीक कार्यक्रम, महिला विशेष तथा रितिरिवाज जर्गेना अन्तर्गत रत्यौली कार्यक्रम, विद्यालय स्तरिय कार्यक्रम, सास्कृतिक कार्यक्रम, आदीबासी जनजाति विशेष कार्यक्रम, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिबासी जनजाति तथा आमा/महिला समुहहरुको आफ्नो झाँकीर्याली तथा भेषभुषा प्रदर्शनी, ख्याती प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुती,कृषि तथा पशुपंक्षी प्रदर्शनी, सुचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, युवाहरुको इच्छालाई लक्षित गर्दै लाइभ म्युजिक कन्र्सटलाई यस वर्ष पनि निरन्तरता दिईएकोे जानकारी दिए ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको लेखनाथ महोत्सव २०८० का कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि ९ सदस्यीय निर्देशक समिति, ४० सदस्यीय महोत्सव सल्लाहकार समिति र ४२ सदस्यीय कार्यसम्पादन समिति एवं उपसमिति संयोजक गठन गरिएको छ ।

करिब ३३४ स्टल रहने यस महोत्सवमा २ लाख पचास हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९० लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८० लाख खर्च भई रु १० लाख बचत हुने अनुमान गरिएको छ ।

महोत्सवको बचतवाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकास तर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीहरुद्धारा उत्पादित वस्तुहरुको प्रवद्र्धनका लागि उत्कृष्ट स्तरको कोसेली घर निर्माण, संघद्धारा बेगनासतालमा निमार्ण गरिएको लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।

महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले चाड पर्वको रुपमा लिंदै आएको र उत्पादक र उपभोक्ताहरुलाई एकै ठाँउमा भेला गरी आर्थिक चलायमान गराउन महत्वपुर्ण भुमिका खेलेको दावी गरेका थिए ।

संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिईन भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।