एमाले गण्डकीले पोखराको सिमलचौरमा किन्यो १० करोडमा ५ तले भवन


     एभरेस्ट आवाज    
     पौष १५ गते २०८० मा प्रकाशित




पोखरा । देश आर्थिक मन्दीमा छ । जनता मन्दीको मारमा छन् । व्यवसाय नचलेर व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) र पोष्ट कोभिडको असरका कारण कयौंले रोजगारी गुमाएका छन् ।

रोजगारी नगुमाएकाहरुलेपनि कतिले समयमा तलब पाएका छैनन् भने कतिको तलब कटौती भएर पूर्ण तलब पाएका छैनन् । अर्कोतर्फ सर्वसाधारण जनता विहान मुश्किलले खायो तर बेलुका के खाऔं ? भन्न बाध्य छन् । पैसाको अवमूल्यन भएको छ भने क्रयशक्ति ह्वात्तै घटेको छ ।

तर सर्वहाराको पार्टी भनेर चिनिने नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिवादी (नेकपा एमाले) गण्डकीलाई भने पोष्ट कोभिड, मन्दीले छोएको छैन । बरु उसले यहिबेला करोडौंको घर खरिद गरेको छ । एमाले गण्डकीले करीब १० करोडमा पोखरा–८ सिमलचौरमा रहेको मानबहादुर गुरुङको १० आना क्षेत्रफलमा बनेको पाँचतले घर किनेको हो ।

पोखराको सृजनाचोक–सिद्धार्थचोकको बिचमा मूल सडकले भेट्ने यो भवन ४० हात मोहडा र त्यत्तिनै हात पिछाड छ । एमाले गण्डकी अध्यक्ष नवराज शर्माले पार्टीलाई सुविधा सम्पन्न भवन आवश्यक परेकाले सो भवन खरिद गरेको बताए । उनले भने,‘पहिले १० करोड भनेपछि नकिन्ने मूडमा थियौं तर घरवालाले ९ करोड ६५ लाखमा दिन्छु भनेपछि खरिद गरेका हौं ।’

अध्यक्ष शर्माका अनुसार जग्गाको बैना गरिसकिएको छ । चार महिनाको भाका राखेर गत मंसिर ४ गते बैना गरिएको उनको भनाई छ । ‘बैना वापत २५ लाख रुपैयाँ दिएका छौं’–उनले भने । मन्दीको बेला सर्वहारा पार्टीले करोडौंको घर खरिद गर्नुको कारणबारे प्रष्ट्याउँदै उनले भने,‘लाखौं कार्यकर्ता र करोडौं जनताको समर्थन रहेको पार्टीले सुविधा सम्पन्न भवन बनाउने कुरा सामान्य हो ।’

देश पार्टीले चलाउने अनि जनता सार्वभौम बनाउने हो,उनले थपे,‘यस्तो ठूलो पार्टी सँधै झुप्राझाप्रामा बस्नुपर्छ भन्ने छैन ।’ आफ्नो भवन नहुँदा पार्टीले हैरानी खेप्नुपरेकालेपनि सुविधा सम्पन्न भवन खोलेको उनको प्रष्टिकरण छ । प्रदेश कमिटी नै झण्डै दुई सयको हाराहारीमा छ,उनले भने,‘पार्टीको बैठक बस्दासमेत पार्टी प्यालेसमा बस्नुपर्ने बाध्यता थियो । त्यहाँ बस्दा खर्च झन् धेरै हुन्थ्यो । अनि यत्रो ठूलो पार्टीको जनसम्पर्क, विकासका कामको लविङ, नागरिकको आवाज सुन्नपनि त हामीलाई भवन आवश्यक छ ।’

एमाले गण्डकीसँग पैसा भएर आलिसान बंगला किन्न लागेको भने होईन । बरु उसले कार्यकर्ता र पार्टीका शुभचिन्तक र व्यवसायीसँग सहयोग मागेर भवन किन्न लागेको हो । उनका अनुसार बैना वापतको २५ लाख नियमित लेबी र एमालेबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्यबाट नियमित रुपैमा प्राप्त रकम हो । हामीसँग पैसा भएर घर किन्न लागेको होईनौं,अध्यक्ष शर्माले भने,‘कार्यकर्ता र शुभचिन्तक तथा हामी निकट व्यवसायीसँग सहयोग मागेर तिर्ने योजना अन्तर्गत खरिद गरेका हौं ।’

उनका अनुसार गण्डकीमा एमालेका ६ हजार ३ सय सदस्य छन् । तिनीहरुबाट एक÷एक हजार उठाउने तयारी गरेको शर्माले बताए । ‘तिनीहरु मध्येपनि सक्नेलाई ५÷१० हजार माग्छौं । अझ मनकारी र हामी निकट व्यवसायीलाई २०÷२५ हजारसम्म दिनूस् भनेर आग्रह गर्छौं ।’

सर्वहारा पार्टीले आलिसान बंगला खरिद गर्ने योजना र त्यसको भार कार्यकर्तालाई थोपर्ने भनेपछि एमाले भित्रबाटै विरोधका स्वरहरु गुञ्जिएका छन् । एमाले कार्यकर्ता कमल सुवेदीले केहि अघि सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो व्यंग्य गरेका छन्,‘एमाले गण्डकीले ६० हजार कार्यकर्ताबाट पैसा उठाएर पार्टी कार्यालय खोल्नुभन्दा एउटा उद्योग खोल, कार्यकर्तालाई रोजगारी देउ, बिनास काले विपरित बुद्धी ।’

सो स्टाटसमा कमेन्ट लेख्दै हालसालै एमाले छाडेका कृष्ण आचार्यले लेखेका छन्,‘यस्ता सुझाव कसले सुन्ने हो खै ? कम्युनिष्ट भन्नु त नाम मात्रैको हो । एमाले पार्टी बुर्जुवा भइसक्यो ।’ अर्का कार्यकर्ता सूर्यप्रसाद सुवेदीले थपेका छन्,‘अँ रोजगारी देउ । त्यसबापत बरु म महिनै पिच्छे यति प्रतिशत भनेर माग, म दिन तयार छु । पहिला भात खाएर बाँच्नु प¥यो ।’ अर्का कार्यकर्ता एलपी सुवेदीले कमेन्टमा लेखेका छन्,‘उद्योग त मारवाडीले खोलिराछन्, खोल्छन् ! अरुले खोलेर किन जोखिम लिने ? बिना लगानी र जोखिम आवश्यक्ता पूर्ती हुने भएपछि ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।