पोखरामा ५ तलासम्मको भवन बनाउन पाईने, घरमा हरियो रङ लगाउने अभियान चलाईने


     एभरेस्ट आवाज    
     फागुन १० गते २०८० मा प्रकाशित




पोखरा, फागुन १० । पोखरामा पाँच तलासम्मको भवन बनाउन पाइने भएको छ । यसअघि पोखरामा साढे दुई तलासम्मको भवनमात्र बनाउन पाईने मापदण्ड तोकिएको थियो । तर मापदण्ड विपरित साढे दुई तलाको अनुमति लिएर निर्माण सम्पन्न कागजपत्र बनाएपछि आफूखुशी तला थपेर १० तलासम्म बनाएको पाइएको छ ।

पोखरामा मापदण्ड विपरित ५ हजार भन्दा बढी भवन बनेको अनुमान गरिन्छ भने १० तलाको भवनमात्रै १९ वटा बनेको महानगरकै कर्मचारीहरु बताउँछन् । निर्माण सम्पन्न भएपनि महानगरले निर्माण सम्पन्नको कागजपनि नदिने र कारवाहीपनि नगर्ने गर्दा त्यसको विरोध हुँदै आएको थियो । सोहि कारण पोखरेली अगुवाहरुले भवन मापदण्ड पुनरावलोकन गरेर राजश्व लिई बैधानिक बनाउन दवाब दिदै आएका थिए ।

त्यसलाई सम्बोधन गर्नेगरी पोखरा महानगरपालिकाले ‘पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड–२०८०’ जारी गर्दै पाँच तलासम्मको भवन बनाउन पाउने व्यवस्था गरेको छ । जसका लागि माटो परीक्षणसमेत गर्न नपर्ने प्रावधान बनाइएको पोखरा महानगरपालिकाका घरनक्सा शाखा प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार पाँच तला भन्दा बढी तलाको भवन बनाउनका लागि भने माटो परीक्षण गर्नुपर्ने हुन्छ । उनका अनुसार १७ मिटर वा ५५ फिटसम्मका संरचनाका लागि माटो परीक्षण गर्नुपर्दैन । उनले भने,‘पाँच तला भन्दा अग्ला संरचना निर्माणका लागि माटो परीक्षण गरी त्यसको अवस्था अनुसार अनुमति दिन्छौँ ।’

महानगरले औद्योगिक, शैक्षिक, सिनेमा घर, पार्टी प्यालेस जस्ता मानिस जम्मा हुने ठाउँमा लम्बाइ अनुसार त्यसको चौडाइकोपनि मापदण्ड तोकेको छ । भवन तथा पूर्वाधार मापदण्डले एक सय मिटरसम्म लामा संरचनामा ६ मिटरको प्रवेश स्थल तथा दुई सय मिटर लामा पूर्वाधारमा ८ मिटरको प्रवेश स्थल अनिवार्य हुनुपर्ने भनेको छ । त्यस्तै, भीडभाड हुने ठाउँ ४ सय मिटर लामो हुँदा त्यसको प्रवेश माध्यमको चौडाई ११ मिटर र ६ सय मिटर लामो हुँदा त्यसको प्रवेश माध्यमको चौडाई १४ हुनुपर्ने मापदण्डमा उल्लेख छ । यदि ६ सय मिटरभन्दा लामा यस्ता पूर्वाधारमा प्रवेश माध्यमको चौडाइ २२ मिटर हुनुपर्ने प्रावधान रहेको घरनक्सा शाखा प्रमुख पौडेलले बताए ।

महानगरले जारी गरेको भवन तथा पूर्वाधार मापदण्डमा फेवातालसहित अन्य तालहरुको मापदण्ड सर्वाेच्च अदालतको आदेश अनुसार नै राखिएको छ । महानगरले फेवातालको मापदण्ड ६५ मिटर नै कायम गरेको छ भने बेगनास र रुपातालमा चारैतिरको सिमानामा १ सय मिटर मापदण्ड राखिएको छ । त्यस्तै, दिपाङ, मैदी, खास्टे, गुँदे, खास्टे, न्यूरेनी तालमा ५० मिटर, कास्कीकोटको ठूलीपोखरी, बुडुवाफाँटको कमलपोखरी र प्रस्याङको खुडेपोखरीमा ६ मिटरको मापदण्ड तोकिएको पौडेलले जानकारी दिए ।

महानगरपालिकाले सेती नदी र मर्दी,सुरौदी, काली, पुँडी र हर्पनखोलाको मापदण्ड ३० मिटर तोकेको छ । याम्दी र सुइखेतखोलाको मापदण्ड १७ मिटर तोकिदा फिर्के र बुलौदी खोलाको मापदण्ड ५ मिटर उल्लेख छ । त्यस्तै, बगादीखोला, बेगनासताल खोला र तालखोला छेउमा भवन तथा अन्य पूर्वाधार बनाउँदा ७ मिटर, भलामखोला र काहुँखोलाको १० मिटर र पार्दी खोलाको साढे १२ मिटर मापदण्ड निर्धारण गरिएको छ । पोखरा महानगरभित्रका अरु सबै सामान्य खोल्साको ६ मिटर मापदण्ड छाडेर भवन निर्माण गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

मापदण्डमा डिल, भीर, पहिरोछेउमा निर्माणका लागि त्यसको उचाइ अनुसार सेटब्याकको व्यवस्था राखिएको छ । ५ मिटर अग्लो डिल, भीर पहिरोमा २ मिटर सेटब्याक, ५ देखि १० मिटरसम्म ३ मिटर सेटब्याक, १० देखि १५ मिटरसम्मका लागि ५ मिटर सेटब्याक तोकिएको छ । यसैगरी, १५ देखि २० मिटर अग्ला डिल, भीर, पहिरोको सेटब्याक साढे ७ मिटर र २० मिटरभन्दा आग्लामा १० मिटर सेटब्याक हुनुपर्ने मापदण्डमा उल्लेख छ ।

भवन तथा पूर्वाधार मापदण्डले सडकको मापदण्डपनि सम्बोधन गरेको छ । मापदण्डमा पोखरा भित्रका राजमार्ग २५ मिटर, मुल मार्ग १५ मिटर, शाखा मार्ग ७.५ मिटर, प्रशाखा ६ मिटर, पहँच मार्ग ५ मिटर, स्थानीय मार्ग ४.५ मिटर चौडाईंको हुने उल्लेख छ । त्यसबाहेक पोखरामा महानगरले बनाउने चक्रपथ १५ मिटर चौडाईंको भनेर उल्लेख छ ।

पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड–२०८० सार्वजनिक गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जारी मापदण्ड कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । पोखराको आवश्यक्ता अनुसार मापदण्ड फेरिएको बताउँदै उनले भने,‘पहिला सडकबाटै नाङ्गो आँखाले हिमाल देख्न सकियोस् भन्ने उद्देश्य राखेर साढे दुई तलाको मापदण्ड बनेको हुनसक्छ, तर अहिले आवश्यक्ता र परिस्थिति फेरिएको छ । त्यसैले सर्वाेच्चको आदेश र सरकारका विभिन्न ऐन, मापदण्ड बमोजिम नयाँ मापदण्ड बनाएका छौँ ।’ शुरुमा सचेतना फैलाउने र त्यसपछि कारवाहीको प्रक्रियापनि अगाडि बढाउने उनले बताए ।

युरोपियन युनियनको आर्थिक सहयोगमा बनाइएको भवन तथा पूर्वाधार मापदण्ड पोखरा महानगरको १३ औँ कार्यपालिका बैठकले पास गरेको थियो ।

महानगर भरिका सबै घरमा हरियो रङ

पोखरा महानगरपालिकाले पोखरामा बन्ने नया घर र भवनमा हरियो रङ लगाउने अवधारणा अघि सारेको छ । पोखरालाई ‘ग्रिन सिटी’ को रुपमा विकास गर्नका लागि नया घरमा हरियो रङ लगाउने नीति लिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । यो नीति पुरानै भएपनि अब कार्यान्वयनमा लैजाउने उनले बताए । यो प्रचलन नीति हो,उनले भने,‘पुतलीबजार पर्पल सिटी, वालिङ पिंक सिटी भनेर सोहि अनुसारको रङ लगाउने अभियान चलाइएको छ । पोखरालाईपनि अब हरित सहरको रुपमा ग्रिन सिटी बनाइनेछ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।