पोउवा संघको प्रतिनिधिमण्डल अध्ययन अवलोकन भ्रमणमा

- पोखराको प्रवद्र्धन र व्यावसायिक अनुभव साँट्ने अभियान


     एभरेस्ट आवाज    
     चैत्र ८ गते २०८० मा प्रकाशित




चैत ८ पोखरा । पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डल जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन–अवलोकन भ्रमणमा निस्केको छ । अध्यक्ष पवनकुमार प्रजापतिको नेतृत्वमा रहेको भ्रमण दलमा वरिष्ठ उपाध्यक्ष तथा भ्रमण संयोजक गोकर्ण कार्की, उद्योगतर्फका उपाध्यक्ष देवेन्द्र केसी,महासचिव बलराम आचार्य, उपमहासचिव शोभा गौतम, सदस्यहरु प्रभा सुवेदी सुदीप प्रधानाङ्ग,मनोज श्रेष्ठ,लीलधर चपाइँ र प्रदीप राजभण्डारी रहेका छन् ।

भ्रमण संयोजक वरिष्ठ उपाध्यक्ष कार्कीका अनुसार बिहीबारबाट सुरु भएको अध्ययन–अवलोकन भ्रमण करिब एकहप्ताको हुनेछ । बिहीबार भ्रमण दलले भक्तपुर र धुलिखेल उद्योग वाणिज्य संघको अवलोकन तथा निजी क्षेत्रका एजेण्डाबारे अन्तरक्र्रिया सम्पन्न गरेको छ ।

पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डलको स्वागतमा आयोजित अन्तरक्र्रियामा बोल्दै नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अमरेशचन्द्र वैदवारले देशव्यापि संयन्त्र रहेको महासंघले व्यवसायीबीच आत्मियता कायम गराउन महत्वपूर्ण कार्य गरेको बताए ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले निजी क्षेत्रको मनोबल गिरेको मनोबल उकास्न महासंघले अझ बढी क्रियाशिलता बढाउनुपर्ने बताए । उनले जिल्ला तथा नगर उद्योग वाणिज्य संघले भोग्नुृपरेका समस्याबारे चर्चा गर्दै साझा प्रयासले मात्र यी समस्या समाधान हुने बताए । भक्तपुरसँग पोखरा उद्योग वाणिज्य संघको भगिनी सम्बन्ध रहेको र त्यो सम्बन्धलाई आपसी भ्रमण र सहयोग आदान–प्रदानले अझ बलियो बनाइने उनको भनाइ थियो ।

झत्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैया धौबन्जाले पोखरालाई पर्यटकीय नगरी घोषणा भएकोमा खुसी व्यक्त गर्दै भगिनी नगरसँग उद्यमशीलता विकासको लागि सहकार्य गर्ने बताइन् । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष युवकराज राजभण्डारी,वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, महासचिव नविन प्रजापतिलगायतले मन्तव्य राखेका थिए ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यका अनुसार जिल्ला– नगर उद्योग वाणिज्य संघहरुले भोग्नुपरेका तथा उद्यमशिलता र रोजगारी सिर्जनामा भएका नयाँ प्रयासहरुको जानकारी लिन भ्रमण कार्यक्रमको आयोजना गरिएको हो । विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुलाई पोखरा भ्रमणको निम्तो दिनु तथा पोखरा पर्यटन प्रवद्र्धनका गर्नु पनि भ्रमणको अर्को उद्देश्य हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।