कहां गए ति दिनहरु…. : सिमलका रुखहरु र गिद्धका झुण्ड


     बिश्व सिग्देल     
     चैत्र ११ गते २०८० मा प्रकाशित




मुस्किलले दुइ हात चौडाइका डहरहरुले पोखराको पुर्बी छेउदेखि पश्चिम छेउ । उत्तरदेखि दक्षिण छेउहरु जोडिएका हुन्थे ।पोखराभरी लामा छोटा असंख्य डहरहरुको सञ्जाल छिचोलेर गन्तब्यमा पुग्नु महाभारतको युद्ध जस्तै कठिन र दुरुह हुन्थ्यो ।अगाडीबाट लामा लामा सिंग भएका भैंसीहरु तथा परालको भारी बोकेका किसानहरु आए भने दायां बायांका अग्ला बाण्डाहरु उक्लेर बाटो छाडी दिनु पर्थ्यो । झण्डै चार हात चाक्ला जगबाट पिरामिड शैलीमा ढुंगा र फुको माटो मिलायर बनाएका बाण्डाहरु माथी हावा समेत नपस्ने गरी डालेघांसका रुखहरु प्राकृतिक रुपमै उम्रेर हुर्किएका हुन्थे । यि रुखहरुले बालीलाइ हावा हुरी, आंधी र असिना पानीको मेहरोलाई रोकेर बचाउंथे भने ,घांसपात दाउरा काठपातको गर्जो समेत टार्दथे ।यिनै बाण्डाहरुका प्वालहरु स्याल फ्याउरा चौघड, सर्प, न्याउरीमुसो लगायत दर्जनौं साना जिबहरुका बासस्थान हुन्थे भने माथिका रुखहरु जंगल र बस्तिका मध्यवर्ती क्षेत्रमा रमाउने ढिकुर डांग्रे जुरेला काग ठेउवा भंगेरा बट्टाई आदि पचासौं चराचुरुंगीहरुको बास हुन्थे, यिनका फलहरु आहार हुन्थे ।

पोखरा आसपासका पहाड उक्लेर उपत्यका हेर्दा तराइको घना जंगल जस्तै घना देखिन्थ्यो । बाण्डामा हुर्कने दबदबे कल्से, गिंदरी, फलेदा आदि सयौं रुखहरु मध्य धरहरा झैं उभिएका अनगिन्ती बिशाल सिमलका रुखहरुको जंजाल उचाइंबाट हेर्दा पोखरा सिमलै सिमलको जंगल जस्तो लाग्थ्यो । दर्जनौं प्रजातीका बथान का बथान गिद्धहरु यिनै सिमलको रुखमा बस्थे भने अण्डा कोरल्ने ,चल्ला हुर्काउने काम समेत यिनै सिमलका रुखका हांगाहरुमा गुंड बनाएर गरिन्थ्यो। मरेका गाईबस्तुहरु खान सयौं गिद्धका झुण्डहरु सिनो वरीपरी जंमा हुन्थे,उनिहरुको कहींकतै सिनो रहेको जानकारी दिने सुचना संयन्त्र गज्जबको हुन्थ्यो । ठुलै भैंसीको सिनो समेत गिद्धले १०र२० मिनटमै सफाचट गरेर बस्ति सफा र स्वस्थ राख्न मद्धत गर्थे । गिद्ध छुनु त के ,गिद्धको हावासंमले भेट्यो भने अगती परिन्छ, चिसो पानीमा नुहाएर स्वस्तिसान्ति गर्नु पर्छ भन्ने त्रास देखाएर बा आमाले बच्चाहरुलाइ गिद्धको हावा सम्मले नभेट्ने गरी अलग राख्थे । अरु डर भन्दा पनि चिसो पानीमा नुहाउन पर्ने डरले बच्चाहरुलाइ दुहाई पार्थ्यो। यसरी बासस्थानको मनग्य सुबिधा र गिद्ध प्रतिको नकारात्मक धारणा पैदा गरेर मानिसहरुले गिद्धहरुको बंशबृद्धि र संरक्षणमा सहयोग पुर्याउंथे।

सिमलका फलहरु झारेर भित्रका कलिला बिजहरु चपाएर बाल्यकालका स्कुले दिनहरुमा कति दिन भोक टारियो ।आकासमा उडिरहेका सिमला भुवाहरुसंग फुदुक फुदुक उफ्रदै दौंडनु र भुईं खश्न नपाउॅंदै टिप्नु बाल्यकालको सबैभन्दा रोमाञ्चक खेल हुन्थ्यो । सिमल फुल्दा पोखरा पुरै राताम्य हुन्थ्यो, लाग्थ्यो माछापुछ्रे अन्नपुर्ण लगायत दर्जन हिमशिखरहरु एकै चोटी रजस्वला भएका छन् । पुरै पोखरा रगतले पोतेका छन । बन र पाखामा घांसपात दाउरापात गर्न जाने युबतीहरु बिरहमा बनै घन्काउंथे , ” सिमल भुवाझैं उड्छ मेरो मन‘।”

सलाईको कांटी बनाउन सिमलको काठ अति उत्तम हुने हुंदा तत्कालिन सरकारले पोखरामा “सलाई कारखाना” खोल्यो ।हालको सभागृह वरपर करिब दुइ सय रोपनीको क्षेत्रफलमा भिक्टोरियन शैलीमा बनेको सुन्दर कारखाना भबन र बिशाल परिसर हाल सम्म जोगाउन सकेको भए पोखराको १ नम्बर पर्यटकिय गन्तब्य बन्ने रहेछ । युरोप अमेरिकामा पुराना कारखाना जलबिद्धुत योजनाहरुलाइ पर्यटकिय गतिबिधीको क्षेत्र बनाएर कमाइ गरेको देख्दा बल्ल थाहा भयो ।पञ्चाएतकालमा त्यो जमिन भागबिलो लगाएर सके भने भबन भत्काएर काठपात ईटाहरु बेचेर खाए । हुनत गणतन्त्र सम्म रहेको भए मिलोमतोमै एकै गासमा झ्वाम हुने रहेछ, अहिले थाहा भयो। यसरी पोखरामा सिमलमाथी बञ्चरो प्रहारको कर्म आरम्भ भयो ।

अन्धाधुन्ध शहरीकरणले जमिनहरु टुक्र्याएर बेच्दै जांदा जमिनको आकार सानो हुंदै गयो ।जमिनको मुल्य अचाक्ली बढे पछी मानिसहरुले चाक्ला बाण्डाहरु भत्काए चार इञ्चका ब्लकका पर्खालहरु बनाए । हजारौं रुखहरु चराहरु उभयचर जिबहरुका बासस्थान भत्काए । जग्गा चाक्लो बनाए । त्यही समय देखि पोखराका दुर्दिन सुरु भए ।रैथाने बनस्पती ,रैथाने चरा ,याबत जिबहरु बासस्थानको र आहारको अभाबले लोप भए ।सिमलमाथी सलाइ कारखाना र बाण्डाको ध्वस्तकर्मले गिद्धहरु पनि दुर्लभ भए । पशुलाई दिन थालिएको एण्टिबायोटिक ,खेतीमा प्रयोग हुन थालेको किटनासक औषधीको प्रभाबको भूमिका त छंदैछ।

पोखराको दक्षिणी भेक भरत पोखरी निर्मल पोखरीको दक्षिणी फेदीमा अझै सिमला रुखहरु उल्लेख्य रहेछन । यसैगरी वडान १४ का केही क्षेत्रमा समेत सिमलहरु भेटिन्छन ।सिमलहरुलाइ गण्डकी प्रदेशको धरोहर बृक्ष घोषणा गरी साल, खयरझैं संरक्षित बृक्षको रुपमा कानुन बनाएरै काम गर्ने हो भने सिमल र गिद्ध दुबैको एकसाथ संरक्षण गर्न सकिने रहेछ। गिद्ध पोखराको पर्यटनको अमुल्य निधी हुन सक्छ । जति गुमाए पनि अझै केही गर्न सकिन्छ भन्ने भरतपोखरी, निर्मल पोखरी, कृष्तीका ति क्षेत्रहरुको घुमाइमा सिमलका अनगिन्ती रुखहरु र ति माथी बसेका गिद्धका झुण्डहरुले देखायो । मेरो त हृदयनै पुलकित भयो ।अब जे जति शेष बचेको छ यसैलाइ बिज बनाएर अघि बढौं । पर्यटनको राजधानी भनिरहंदा यिनै गिद्धहरु पनि पर्यटकहरुका संख्या बढाउने र बसाइ १र२ दिन थप्ने माध्यम हुन सक्छन् । पोखरेली हो ! जागरुक बनौं !!

दोबिल्ला फुस्रेखोलाको किनारबाट पारी निर्मल पोखरीको जंगलमा सिमल र गिद्धहरु।
तस्विर : राजु क्षेत्री


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।