पोखरा स्पोर्टस् अवार्डको प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय


     एभरेस्ट आवाज    
     चैत्र १४ गते २०८० मा प्रकाशित




चैत्र १४ पोखरा । आठौं संस्करणको ‘पोखरास्पोर्टस् अवार्ड २०८० को प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय रहने भएको छ । आउँदो वैशाख २१ गते पोखरा सभागृहमा हुने उक्त अवार्डलाई सफल पार्न बोर्ड र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिच बुधबार सम्झौता भएको हो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नविन पोखरेल, बोर्डका बरिष्ठ अधिकृत कुन्दन शर्मा मिश्र र मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । पोखराको खेल पर्यटन प्रबद्र्धन गर्न यस्ता कार्यक्रमले थप टेवा पुग्ने विश्वास गरिएको प्रमुख पोखरेलले जनाएका छन् । मञ्चले आयोजना गर्ने उक्त कार्यक्रममा बोर्डलाई प्रबद्र्धक रहेकोमा धन्यवाद दिंदै अध्यक्ष बरालले आगामी दिनमा यस्तै सहयोग र सहकार्यको अपेक्षा गरिएको जनाए ।

अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने महासचिव राजाराम पौडेलले जनाए ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिकाको समन्वयमा उक्त कार्यक्रम हुने भएको हो । राष्ट्रिय खेलकुद परिषद, काठमाण्डौंको चाइना टाउनमा रहेको साहस स्पोर्टस लगायतका संस्थाको सहयोग रहने भएको सचिव शसिकुमार पौडेलले बताए ।

अफिसियल होटलको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।