पोखराको नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी


     एभरेस्ट आवाज    
     वैशाख ६ गते २०८१ मा प्रकाशित




वैशाख ६ पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र अहिले ज्ञानमय बनेको छ ।

महायज्ञमा बिहान साढे ४ देखि राति ९ बजेसम्म विभिन्न कार्यक्रम हुने गरेका छन् । दिउँसो १ देखि साढे ४ बजेसम्म नियमितरुपमा भइरहेको श्रीमद्भागवत् कथा प्रवचन श्रवण गर्न भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको महायज्ञ मूल आयोजक समिति अध्यक्ष एवं महायज्ञ संयोजक लक्ष्मण पौडेलले बताए ।

बिहीबार पनि मुख्यवाचक हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले कथा वाचन गरे । महायज्ञ संयोजक पौडेल विभिन्न उपसमितिले पनि तोकिएको जिम्मेवारी पूरा गरेको र महायज्ञ सफल बन्दै गएको बताउँछन् ।

वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा वैशाख १ देखि १० सम्म सञ्चालन हुने महायज्ञको गलेश्वर आश्रम देवघाटधाम तनहुँका पीठाधीश अनन्तश्रीविभूषित स्वामी आत्मानन्द गिरी महाराजले उद्घाटन गरेका हुन् ।

सामाजिक, धार्मिक सद्भाव र सहिष्णुता वृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । महायज्ञमा वैशाख ९ सम्म पाठपरायण, प्रवचन तथा अनुष्ठान हुनेछ । अन्तिम दिन महायज्ञको पूर्णाहुति एवंं अभिषेकसहित प्रसाद वितरण गरी महायज्ञको समापन हुनेछ ।

हरेक दिन बिहान साढे ४ देखि ६ बजेसम्म नित्यकर्म एवं योगाभ्यास, बिहान ६ देखि ७ बजेसम्म पूजाआरति, साढे ७ देखि साढे १२ सम्म श्रीमद्भागवत् पाठपारायण एवं अनुष्ठान, साढे १२ देखि साढे १ सम्म मध्यान्ह÷भजन संकीर्तन त्यसपछि कथावाचन, साढे ४ देखि ५ बजेसम्म आरति, पुष्पाञ्जली, प्रसाद वितरण, साँझ ६ देखि ७ बजेसम्म श्रीमद्भागवत् माहात्म्य एवं सत्संग र त्यसपछि राति ९ बजेसम्म भजनकीर्तन, नृत्य लगायत भइरहेको डा.नारायण बरालले बताए ।

पितृमुक्ति वा सद्गतिको कामना लिएर घरघरमा सप्ताह लगाउने हाम्रो मौलिक परम्परा रहेकोमा कुनै कारण घरमा सप्ताह यज्ञ अनुष्ठान गर्न असहज परिस्थिति भएकाहरुको सुविधाका लागि महायज्ञमा योग, ध्यान, पूजाअर्चना, भक्ति, ज्ञानका साधना हुने व्यवस्था मिलाइएको आयोजकले जनायो ।

यज्ञतर्फका आचार्य डा. रामप्रसाद पौडेलले पोखरा ब्रम्हाजीको क्षेत्र भएको र यसको महत्वमाथि प्रकाश पार्दै महायज्ञ आयोजना गरिएको बताउँछन् । वैदिक कस्तो थियो भन्ने जान्न नयाँबजार आउनुपर्ने बताउँछन् । आपूmहरु दान दिन आएको हो । अन्य महायज्ञजस्ता कुनै धनदौलत दिनुनपर्ने प्रस्ट पारे । मात्र समय दिनुपर्ने उनले सुझाए ।

विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय सहअध्यक्ष शंकर खरालले यो विशुद्ध महायज्ञ भएको बताए । उनले सबैको कल्याणको लागि आयोजना महायज्ञ गरिएको र यसमा कसैलाई आर्थिक भार नपर्ने तरिकाले आयोजना गरिएको बताए । जीवनको अन्तिम लक्ष्य भनेको धर्म, अर्थ, काम मोक्ष भएको उल्लेख गर्दै स्वयं ज्ञानानन्द सरस्वतीजी महाराजको मुखारबिन्दुबाट भागवत्को ज्ञान रसपान गर्न पाउनु अवसर हो भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।