पोखरा – ६ मा सिप तथा आयमुलक तालिम सम्पन्न


     एभरेस्ट आवाज    
     वैशाख १२ गते २०८१ मा प्रकाशित




वैशाख १२ पोखरा । पोखरा महानगरपालिका वडा नम्वर ६ को आयोजनामा ५ दिने सरसफाईका सामाग्री बनाउने तालिम सम्पन्न भएको छ । वडा कार्यालयको सहयोगमा सरसफाईका सामान साबुन, सर्फ, भाडा धुने झोल साबुन तथा आयमुलक ५ दिने व्यवसायिक तालिम आज सकिएको हो ।

वडाभित्रका अल्पसंख्यक, दलित तथा निम्न आय भएका वेरोजगार तथा गृहणीलाई लक्षित गर्दै आयोजना गरिएको तालिमबाट ८० जना लाभान्वित भएको वडा कार्यालयले जनाएको छ । “प्लान स्टार सानो संसार” काठमाण्डौंले सहजीकरण गरेको तालिममा सहभागी प्रशिक्षार्थीलाई दुई समुहमा विभाजन गरेर तालिम सञ्चालन भएको थियो ।

समापन समारोह कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सासंद देवका पहारी त्रिपाठीले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्दै आयआर्जनको बाटोमा लाग्न आग्रह गरिन् । उनले तालिम अत्यन्तै उपलव्धीमुलक रहेको उल्लेख गर्दै यसले व्यवसाय प्रवद्र्धन गर्नुका साथै बेरोजगारी समस्या न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

तालिममा सहभागीहरुलाई साबुन बनाउने मेशिन प्रदान गर्दै वडा अध्यक्ष बिष्णु वहादुर भट्टराईले साबुन बनाएर आर्थिक उपार्जनको माध्यम बनाउन आह्वान गरे । उनले वडाले महिला तथा युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाएको दावी गरे ।

कार्यक्रममा वडा सचिव राम बहादुर खत्रीले तालिममा सिकेको सिपबाट लाभ लिन सकेमात्रै तालिमको औचित्य पुरा हुने बताउँदै सिकाइलाई प्रभावकारी बनाउन जोड दिए ।

कार्यक्रममा सूचनाका हकका लागि राष्ट्रिय सञ्जाल महानगर संयोजक अनिल थापा, कार्यक्रम संयोजक तथा वडा सदस्य शोभा जलारी, प्रशिक्षार्थीहरु मिना जलारी, चित्रा परियार,लक्ष्मी भुर्तेल अधिकारी, लिला सुनारले तालिमका बारेमा बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।