व्यास नगरपालिकाद्धारा ‘प्लाष्टिकमुक्त अभियानसम्बन्धि कार्यविधि’ २०८१ पारित


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०८१ मा प्रकाशित




तनहुँ । तनहुँको व्यास नगरपालिकाले ‘प्लाष्टिकमुक्त अभियानसम्बन्धि कार्यविधि’ २०८१ पारित गरेको छ ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको नगरकार्यपालिका बैठकले आगामी जेठ १ गतेदेखि नगरलाई प्लाष्टिक झोलामुक्त बनाउने अभियान उद्देश्यसहित कार्यविधि पारित गरिएको प्रवक्ता जीवन गुरुङले जानकारी दिए।
उनले अभियानलाई कार्यान्वयन गर्न चौधवटै वडा कार्यालयमा परिपत्रसमेत गरिएको बताए ।

नगरपालिकाभित्र सबै प्रकारका प्लाष्टिक झोला प्रयोगमा पूर्णरूपमा निषेध गर्ने निर्णय भएकाले सामान खरीदगर्दा कपडा, फाइबर, जुट वा कागजको झोलामात्र प्रयोग गर्न नगरपालिकाले नगरबासीलाई आग्रह गरेको छ । साथै व्यापारी, व्यवसायीलाई समेत प्लाष्टिक झोलाको सट्टा वैकल्पीक झोला बिक्रिवितरण गर्न अनुरोध गरिएको छ ।

नगर उपप्रमुख इन्दिरा दरैले प्लाष्टिक झोलामुक्त व्यास नगर अभियान सफल बनाउने दायित्व सबै नगरबासीको भएकाले सबैले सूचनाको पालना गर्ने विश्वास व्यक्त गरे । नियमानुसार नगरिए प्लाष्टिक झोला जफत गरी नियमअनुसार जरिवाना गर्ने व्यवस्था रहेकाले अभियानलाई सफल बनाउन सबै तह र तप्काबाट सक्रिय असहभागिता हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

त्यसैगरी बैठकले व्यास नगरपालिका–५ स्थित मानहुकोट पर्यटकीय क्षेत्रमा घर निर्माणसम्बन्धि मापदण्ड तोकी घर निर्माण प्रक्रिया खुला गर्ने र मानहुकोट पर्यटकीय क्षेत्रको जग्गा विकास आयोजनाको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।