नेपाल कृषि अनुसन्धान परिषदको स्थापना दिवसमा बेगनासतालमा माछाको भुरा छाडियो


     एभरेस्ट आवाज    
     वैशाख २५ गते २०८१ मा प्रकाशित




पोखरा । नेपाल कृषि अनुसन्धान परिषदको ३३ औं स्थापना दिवसको अवसरमा माछाको भुरा छाडिएको छ । परिषदले स्थापना दिवसको अवसर पारेर पोखरा–३१ बेगनासतालमा ५ हजार माछाको भुरा छाडेको हो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, मत्स्य अनुसन्धान केन्द्र बेगनासतालका प्रमुख डा.मोहम्मद ईकबाल हुसेनलगायतले सहरलगायतका माछाका भुरा छाडेका थिए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वातावरण जोगाईराख्न सिमसार जोगाउनु आवश्यक रहेको बताए । अहिले पोखराका सबै तालहरुका सिमसार क्षेत्र अतिक्रमणको चपेटामा परेको भन्दै सिमसार जोगाउन सबै लाग्नुपर्ने उनको भनाई थियो । सिमसार प्रकृतिको वरदान भएकाले यसको संरक्षण जरुरी रहेको बताउँदै उनले भने,‘सिमसार मास्ने असभ्य हुन् । सहरमा असभ्यताको दौड चलिरहेको छ ।’

लिवर्डका कार्यकारिणी सदस्य लेखनाथ ढकालले सरकारको सहयोग भएमा गण्डकी प्रदेशलाई माछामा आत्मनिर्भर बनाउन सकिने बताए ।

रुपाताल पुर्नस्थापना तथा मत्स्य सहकारी संस्था लिमिटेडका अध्यक्ष शिवराज अधिकारीले गुणस्तरीय माछा उत्पादन गर्न सके भारत र तराईबाट आउने माछालाई बिस्थापित गर्न सकिने बताए । भारत र तराईबाट फर्मालिन र युरिनयुक्त माछा आउने गरेको भन्दै यसले मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेकाले माछा उत्पादन बृद्धि गर्नका लागि जोड दिनुपर्ने बताए ।

कार्यक्रममा स्य अनुसन्धान केन्द्र बेगनासतालका प्रमुख डा.मोहम्मद ईकबाल हुसेनद्वारा लिखित ‘स्थानिय सिपिमा मोतिपालन गर्ने प्रविधी’ नामक पुस्तक विमोचन गरिएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख डा.हुसेनले मत्स्य अनुसन्धान केन्द्र बेगनासतालले रैथाने माछाको संरक्षण, जलीय वातावरण सम्वद्र्धन, जलासय संरक्षण गर्दै स्थानियको जीवनस्तर सुधार्ने काम गरिरहेको उल्लेख गरे । उनले माछा पालनलाई प्रोत्साहन गर्न मत्स्य पालन सम्बन्धी तालिम, पानीको गुणस्तर जाँच्ने, माछामा रोग लागेमा माछाको रोग परीक्षण गर्ने र उपचार गर्नेसहित माछा पालनमा योगदान गरिरहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।