गलेश्वर । ट्रयाक खुलेको १८ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–भकिम्ली जोड्ने सात किलोमिटर कृषि सडकको स्तरोन्नति सुरु भएको छ ।
विसं २०६३ मा ट्रयाक खुलेको सात किलोमिटर लामो उक्त सडकको बगरफाँट–दूधेखोला खण्डको तीन किलोमिटर सडक ग्राभेल र दुधेखोलाबाट भकिम्लीतर्फको तीन सय ९० मिटर सडक ढलान गर्न थालिएको हो ।
भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले रु पाँच करोड ५९ लाखको लागतमा सडक निर्माण पूरा गरिने जनाएको छ ।
जिल्ला पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर रविन चोखालका अनुसार हाँडेभिरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्म दुई किलोमिटर कालोपत्र भइसकेको छ । उनले भने, “आगामी १८ महिनामा बगरफाँटबाट दुधेखोलासम्मको तीन किमी सडक ग्राभेल र दुधेखोलाबाट भकिम्लीतर्फको तीन सय ९० मिटर सडक ढलान गर्ने लक्ष्य छ ।”
गण्डकी प्रदेश सरकारले चालु आवमा रु दुई करोड बजेट यस सडकलाई विनियोजन गरेको र बहुवर्षीय ठेक्का लगाउन रु १० करोड बजेटको स्रोत सुनिश्चितता भइसकेको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए ।
यो सडक बेनी नगरपालिकाको वडा नं २ बगरफाँट, वडा नं ३ भकिम्ली, मङ्गला गाउँपालिकाको ३ र ४ नम्बर वडाका बासिन्दा तथा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







