मुस्ताङमा पर्यटन तथा पर्वतारोहण विषय पढ्नेलाई अनुदान


     एभरेस्ट आवाज    
     असार १७ गते २०८१ मा प्रकाशित




मनाङ । जिल्लाको नासों गाउँपालिकाले पर्यटन तथा पर्वतारोहण विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराउने भएको छ ।

गाउँपालिकालले यस विषयमा अध्ययन गरिरहेका विद्यार्थीलाई अवलोकन भ्रमण तथा स्थलगत अध्ययनका लागि रु ५० हजार अनुदान दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले प्रकाशज्योति माध्यमिक विद्यालयमा कक्षा १२ मा पर्यटन तथा पर्वतारोण विषय अध्यापन भइरहेको र त्यहाँका विद्यार्थीलाई अनुदानको व्यवस्थापन गरिएको बताए । उनका अनुसार प्रतिविद्यार्थी रु ५० हजार गाउँपालिकाले उपलब्ध गराउनेछ ।

उनले भने, “हिमाली जिल्ला भएकाले पर्यटन तथा पर्वतारोहण विषय महत्वपूर्ण छ । यहाँको स्थानीयबाट नै प्रवद्र्धन गर्न टेवा पुग्नेछ ।” यस विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्नकै लागि अनुदानको व्यवस्था गरिएको अध्यक्ष धनबहादुरले बताए ।

गाउँपालिकाले बाल बचतलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रभु बैङ्क नासोँ शाखाको सहकार्यमा कक्षा १ मा अध्ययनरत बालबालिकालाई प्रतिविद्यार्थी रु दुई हजारका दरले खाता खोलीे बालबचत कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

शैक्षिक सत्र २०८१ साउनबाट कक्षा ३ मा प्रकाशज्योति विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्यापन गराइने छ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरी प्राविधिक धारका विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई रु एक लाख छात्रवृत्ति प्रदान गरिने उपाध्यक्ष वेदबहादुर गुरुङले बताए।

उनका अनुसार शैक्षिक सत्र २०८१ मा गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयबाट एसइईमा ‘ए प्लस ग्रेड’ ल्याउने विद्यार्थीलाई प्रोत्साहनस्वरुप जनही रु २० हजार पुरस्कार वितरण गरिनेछ । प्रकाशज्योतिलाई सिक्ने, टिक्ने र विक्ने शैक्षिक केन्द्रका रुपमा नमूना विद्यालयका रुपमा विकास गरी सबैको रोजाई विद्यालयमा विकास गर्ने गाउँपालिकाको लक्ष्य छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।