पोखरा । संविधानले प्रत्याभूत गरेको अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले कास्की जिल्लामा सरोकारवालाहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सरकारले २०७८ सालमा पास गरेको ‘निःशुल्क तथा अनिवार्य विद्यालय शिक्षा ऐन, २०७५’ को कार्यान्वयन अन्तर्गत आगामी २०८५ वैशाख १ गतेदेखि यो प्रावधान पूर्ण रूपमा लागू गर्ने तयारी गरिरहेको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला शिक्षा समितिका संयोजक लीलाधर पौडेलले निशुल्क शिक्षा अब व्यवहारमा लागू हुन लागेको कुरालाई सकारात्मक परिवर्तनको संकेत बताउँदै त्यसका लागि सबै पक्षबीच समन्वय र सहकार्य अपरिहार्य रहेको धारणा राखे। उनले कास्की जिल्लाका सबै स्थानीय तहलाई योजनाबद्ध रूपमा कार्यक्रम कार्यान्वयन गर्न आग्रह गरे।
शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले हालसम्म भएका तयारी र आगामी कार्ययोजना प्रस्तुत गर्दै यसै आर्थिक वर्षभित्र कार्यक्रम लागू गर्न सबै स्थानीय तहलाई आह्वान गरे। उनले शिक्षाको गुणस्तर र पहुँच सुनिश्चित गर्न कार्यान्वयन रणनीति साझा गर्ने प्रतिबद्धता जनाए।
जिल्ला समन्वय समितिकी उपप्रमुख सरिता मालले शिक्षा अधिकारलाई व्यवहारमा रूपान्तरण गर्न कार्ययोजनाअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिँदै नीति, योजना र सामुदायिक स्वामित्वबीचको सहकार्य जरुरी रहेको बताइन्।
कार्यक्रममा कास्कीका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय तहका प्रमुख तथा उप–प्रमुखहरू, शिक्षा महाशाखा तथा इकाइ प्रमुखहरू, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति सदस्यहरू र अन्य सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले अनिवार्य तथा निशुल्क शिक्षालाई व्यवहारमा प्रभावकारी रूपमा उतार्न नीति, संरचना, स्रोत र समाजको सक्रिय भूमिकामाथि टिप्पणी गरेका थिए।
कार्यक्रमले नीति कार्यान्वयन र बालबालिकाको शिक्षामा राज्यको जिम्मेवारी सुनिश्चित गर्ने दिशामा महत्त्वपूर्ण बहस अघि सारेको सहभागीहरूको धारणा थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको प्रथम अधिवेशनबाट योगेन्द्रबहादुर केसी सभापतिमा निर्वाचित…







