सन्देश श्रेष्ठ
पोखरा, भदौ १२
पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको छ । क्षमताभन्दा बढी शव पोखरा पठाइएपछि शव व्यवस्थापन गर्न हम्मेहम्मे परेको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शव गृह ७२ जनासम्मको हो । तर भोटेकोशी बाढीका कारण मृत्यु भएका १०२ वटा शव पोखरा ल्याइएको छ ।
भदौ १० गते ९ वटा र भदौ ११ गते ९१ वटा गरेर कुल १०२ वटा शव पोखरा आइपुगेको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । पोखरामा तनहुँबाट २३ वटा शव, गोरखाबाट ११ वटा, नवपरासी पूर्वबाट ४१ वटा र धादिङबाट २७ वटा शव आएको उनले बताए । उनका अनुसार पोखरा ल्याइएका शवहरु पश्चिमामञ्चल क्षेत्रीय अस्पतालमा राखिएका छन् ।
सो अस्पतालमा पहिलेदेखि नै रहेका शवहरु मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेजलगायतका अस्पतालमा पठाएर शवगृह खाली गर्ने प्रयास गरिएको छ । तर अझै पनि पूर्ण रुपमा व्यवस्थापन नभइसकेको अस्पताल स्रोतले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालले शव व्यवस्थापनको काम भइरहेको बताए । कतिपय शव आफन्तले पहिचान गरेर लगेपछि व्यवस्थापन सहज हुने उनको भनाई छ । उनका अनुसार पोखरा ल्याइएका १०२ वटा शवमध्य एउटा शव आफन्तले पहिचान गरेर बुझिसकेका छन् । अन्य दुई वटा शव आफन्तले पहिचान गरिसकेका छन् भने थप २० वटाको पोष्टमार्टम भइसकेको उनले जानकारी दिए । त्यस्तै, ५७ वटाको फोटो, भिडियो बनाउनेदेखि फिंगरप्रिन्टसमेत राख्ने काम भइसकेको छ । उनले भने,‘यसरी नै आफन्त आएर शव पहिचान भए शव व्यवस्थापनमा समस्या आउँदैन, हामी चाँडै व्यवस्थापन मिलाउँछौं ।’
शव पहिचानका लागि आफन्तलाई सजिलो होस् भनेर फोटो, भिडियो बनाउने काम भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए । ‘सबैको फोटो भिडियो लिइसकेपछि सामाजिक सञ्जालमा हाल्छौं, यसले शव पहिचान चाँडो हुने विश्वासमा छौं’–उनले भने ।
उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाहेक मणिपाल, गण्डकी मेडिकल कलेज, चरक अस्पताल, आर्मी अस्पताल, गण्डकी मेडिकल कलेज, फेवासिटी हस्पिटल, पोखरा युनिभर्सिटीलगायतका अस्पतालमा पनि शव व्यवस्थापन गर्न सकिने बताए । मणिपालमा ८ वटा, चरकमा २ वटा, फिस्टेल हस्पिटलमा २ वटा, आर्मी अस्पतालमा ४ वटा, गण्डकी मेडिकल कलेजमा ४ वटा (२ वटा आईस नभएको), पोखरा युनिभर्सिटीमा २ वटा (आईस नभएको), फेवासिटीमा २ वटा शव अटाउने शवगृह रहेको उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





