‘आमा’ खण्ड काव्यभित्र अभिव्यक्त देशप्रेम


     प्रा. डा. रामनाथ ओझा    
     असार ३१ गते २०८२ मा प्रकाशित




विषयप्रवेश
आमा हुन् जननी यिनै भगवती हुन् सृष्टिकर्ता यिनी
यी हुन् सत्य र शक्ति स्रोत करुणा त्यागी तपस्वी पनि
कौ हैनन् र यिनी ? सबै चिज यिनी, को हुन्छ आमा सरी ?
श्रद्धा भाव उराली भन्छु जननी सम्पूर्णकी ईश्वर । (वन्दना)

आमा शब्द स्वयंमा माया, प्रेम, करुणा, सहनशीलता, त्याग र बलिदानको प्रतीक हो । संसारका सबै भाषा र संस्कृतिभित्र आमाको स्थान सबैभन्दा उच्च र पवित्र मानिन्छ । हाम्रा जीवनका हरेक पाटामा आमाको भूमिका असाधारण हुन्छ ।आमा जीवनकी आधार हुन् । आमा नै सन्तानका जीवनकी पहिलो गुरु, साथी र मार्गदर्शक हुन् । आमामा जन्म दिने मात्र होइन, हरेक सुखदुःखमा साथ दिने संरक्षणशील शक्ति हुन्छ । आमा विना जीवन नै अधुरो हुन्छ । आमा माया र स्नेहकी महासागर हुन् । आमाको माया निस्वार्थ हुन्छ ।कुनै अपेक्षा विना दिइने माया आमाको माया हो । जस्तो सुकै अवस्थामा पनि आमाको मायामा कुनै कमी आउँदैन । आमा त्याग र वलिदानकीप्रतिमूर्ति हुन् । आमा सन्तानका लागि आप्mनो सपना, समय, स्वास्थ मात्र नभई सबै कुरा त्याग गर्न तयार हुन्छिन् । आमा बिहानदेखि बेलुकासम्म थाक्दा थाक्तै पनि सन्तानका लागि समर्पित हुन्छिन् । आमा संस्कार र शिक्षाको पहिलो पाठशाला हुन् । आमा नै सन्तानलाई बोल्न, हिँड्न, बाँच्न र व्यवहार सिकाउने पहिलो शिक्षिका हुन् ।
आध्यात्मिक दृष्टिकोणमा हिन्दु धर्मशास्त्रहरूमा आमालाई देवताभन्दा माथि राखिएको छ । भनिएको छ : मातृदेवो भवःअथवा आमा भगवान सरह हुनुहुन्छ । आमा केवल शब्द होइन, भावना हो, जीवनको सार हो । जब हामी सफल हुन्छौं उनी हाम्रो सफलतामा खुशी मान्छिन् ।जब हामी असफल हुन्छौं उनले नै पहिलो पटक हाम्रा आँसु पुछिदिन्छिन् । त्यसैले आमाप्रति श्रद्धा, सम्मान र कृतज्ञता प्रकट गर्नु सन्तानको पहिलो कर्तव्य हो ।
जब हामीआमालाई सम्झेर कविता लेख्छौं त्यो हाम्रो हृदयभित्र रहेको आमाप्रतिको माया, सम्मान र सम्झनाको अभिव्यक्ति हो । त्यो न त केवल शब्द हो, न त मात्रा छन्द : त्यो त तपाईंको भावनाको शुद्ध रुप हो । आमाले हामीलाई जीवनभर निःस्वार्थ माया दिएकी हुन्छिन् त्यो मायाका बदलामा केही दिन सकिँदैन । तर कविताका माध्यमबाट ती ममतामयी क्षणहरूलाई शब्दमा उतार्दा आमाप्रति सच्चा श्रद्धाञ्जलि र कृतज्ञता प्रकट हुन्छ । यसले एकातिर आमाको स्मृतिलाई अमर बनाउने कार्य गर्दछ भने अर्कोतिर अरुलाई पनि आमाको माया र महिमा सम्झन प्रेरणा प्रदान गर्दछ । त्यसैले आमा शीर्षकमा काव्य लेख्नु केवल कविता सिर्जना गर्नु मात्र होइन, यो आत्माको स्पर्श हो । यसले पाठकको हृदय छोइदिन्छ, लेखकको भावना उजागर गर्छ र आमाको न्यानो सम्झनालाई अमर बनाउँछ । काव्यकार गणपति ओझाले आमाले संघर्ष गर्दै जन्माउने, हुर्काउने, बढाउने, पढाउने र जीवनयात्राका लागि मार्गदर्शन गरेका सन्दर्भ तथा आमाका वचनलाई आप्mना सङ्कल्प बनाएका तथा जीवनयात्रामा आमाका वचन पूरा गर्नका लागि जीवनभर लागि पर्दा पनि कतिपय सन्दर्भमा पूरा हुन नसकेका पीडालाई कविताको विषयवस्तु बनाएर ‘आमा’ काव्यको रचना गरेका छन् । यस काव्यमा कविले आमाप्रति श्रद्धाभाव व्यक्त गर्नुका साथै देशप्रतिको चिन्ता व्यक्त गरेका छन् । कवि गणपति ओझाले काव्यको रचनाका माध्मबाट एकातिर मातृऋण तिर्ने काम गरेका छन् भने अर्कोतिर देशभक्तिको भावको अभिव्यक्ति दिँदै मातृप्रेमका भावसमेत व्यक्त गरेका छन् । यसर्थ कविले यस कर्मका माध्यमबाट एउटा काव्यको रचना मात्र नगरेर आमा र मातृभूमिको ऋण तिर्ने जस्तो पुण्य कार्यसमेत गरेका छन् ।

संरचना
वि. सं. २०४१ चैत्रमा प्रकाशित ‘आमा’ काव्य ‘क’, ‘ख’ तथा ‘ग’ गरी तीन खण्डमा संरचित छ । यस काव्यमा जम्मा १७१ श्लोकहरू रहेका छन् । काव्य वर्णमात्रिक छन्दअन्तर्गतको शार्दूलविक्रीडित छन्दमा रचना गरिएको छ । काव्यको खण्ड ‘क’अन्तर्गत ‘पृष्ठभूमि’ उपशीर्षकमा १४ श्लोक तथा‘नेतृत्वका गुणहरू’ मा २८ श्लोक गरी जम्मा ४२ श्लोकहरू रहेका छन् । काव्यको दोस्रो खण्डलाई ‘२०३५ सालपछिका घटना’ शीर्षक दिइएको छ भने यसअन्तर्गतका ‘प्रजातन्त्रका लागि संघर्ष’ उपशीर्षकमा ९ श्लोक, ‘बहुदलीय प्रजातन्त्रको स्थापना’ उपशीर्षकमा ८ श्लोक, ‘सशस्त्र विद्रोह’ उपशीर्षकमा १२ श्लोक तथा ‘गणतन्त्र नेपाल’ उपशीर्षकमा २१ श्लोक गरी जम्मा ५० श्लोकमा दोस्रो खण्ड समाप्त भएको छ । काव्यको तेस्रो खण्डअन्तर्गत दुईओटा उपशीर्षक रहेका छन् । पहिलो उपशीर्षक ‘भ्रष्टाचार र कुशासन’ मा ६६ श्लोक तथा ‘उपसंहार’ मा १३ श्लोक गरी यस खण्डअन्तर्गत जम्मा ७९ श्लोक रहेका छन् । यसरी समग्र खण्डकाव्य १७१ श्लोकमा संरचित छ । पूर्वीय खण्डकाव्य सिद्धान्तले एक सयभन्दा माथिको श्लोक संख्या भएको काव्यलाई खण्डकाव्य भनेकाले यो काव्य संरचनाका दृष्टिले खण्डकाव्यका कोटीमा पर्दछ ।

विषयवस्तु
खण्डकाव्यको पहिलो खण्डलाई खण्ड ‘क’ भनी त्यसलाई ‘आमा’ नाम दिइएको छ । यो खण्डकाव्यको पृष्ठभूमिका रुपमा रहेको छ । काव्यकारलेयसलाई ‘पृष्ठभूमि’र ‘नेतृत्वका गुणहरू’ गरी दुईओटा उपशीर्षकमा विभाजन गरिएको छ । काव्यकारले ‘पृष्ठभूमि’ उपशीर्षकमा आमा छोराका बिचको कुराकानीलाई प्रस्तुत गरेका छन् । कुराकानीका सन्दर्भमा आमाले छोरालाई दीक्षा दिएको सन्दर्भ छ । आमा यस खण्डमा निकै आशावादी देखिएकी छन् । तर यो काम भने सजिलै पूरा नहुने कुरा आमा यसरी व्यक्त गर्दछिन् :
हामीले तर ठान्नु हुन्न सहजै यो हुन्छ प्राप्ती भनी
हो सङ्घर्ष गरे निरन्तर सधैं त्यो प्राप्त होला पनि (पृ.२२ : ४)
आमाले वर्तमान केही अँध्यारो भए पनि भोलि कुनै दिन देशमा राजनैतिक परिवर्तन आउने र लोकतन्त्रको स्थापना भएपछि नेपाल स्वर्गतुल्य हुने आशा व्यक्त गरेकी छन् । लोकतन्त्रको स्थापनापछि जनताको जीवनस्तर उकासिने, राष्ट्रले विकासको काँचुली फेर्ने, समाजमा विद्यमान घरेलु हिंसा र लैङ्गिक असमानता हट्ने कुरामा आमा विश्वस्त छिन् । यसमा आमाले जीवनमा गरेका सङ्घर्ष र उनले अन्यायमा परेका महिलाहरूलाई त्यसका विरुद्धमा लाग्नका लागि यसरी आह्वान गरेकी छन् :
लैङ्गिक स्वाधिनता निमित्त जसरी सङ्घर्षमा होमियौ
यौटै लिङ्गसमेतमा बिचकिने मुद्दा उचाली दियौ
लोग्नेबाट र सासुबाट पिटिने नारीहरू हो सब
आओ एक जमात भै अब लडौं देखाउँदै वैभव (पृ.२२ : ६)
भन्थ्यौ अन्त्य गरौं विभेद जति छन् मान्छेहरूका बिच
चाहे त्यो समुदायको र घरको या जातजाती बिच (पृ.२२ : ७)
चाहे त्यो धनि वा गरीब बिचको या त्यो हवस् धर्ममा
लौ आओ प्रतिरोध गर्न यिनको लागेर सत्कर्ममा (पृ.२३ : ८)

आमा स्वतः परिवर्तन नआउने कुरामा स्पष्ट रुपमा जानकार छिन् । यो परिवर्तन र सुधार स्वतः नहुने भएकाले यसका लागि एकता र संघर्ष अपरिहार्य हुने विचार आमाले व्यक्त गरेकी छन् । संघर्ष र त्यसपश्चात स्थापना हुने लोकतन्त्रले मात्र पनि यी तमामा सुधार र परिवर्तन सम्भव छैन, यसका लागि नेतृत्वमा रहने नेता र तिनका आचरण तथा व्यवहार असल र पारदर्शी हुनुपर्छ भन्ने आमाले व्यक्त गरेका विचार यस उपशीर्षकमा प्रस्तुत गरिएको छ ।
काव्यको खण्ड ‘क’ को दोस्रो उपशीर्षक ‘नेतृत्वका गुणहरू ’मा नेतृत्वमा रहने नेतामा नेतृत्वका गुणहरू हुनुपर्छ, नेतृत्व सच्चा राष्ट्रभक्त बनेर देश विकासमा लाग्नुपर्छ, नेतृत्वमा रहने व्यक्ति इमान्दार,निष्ठावान्, दूरदर्शी र नैतिकवान् हुनपर्छ, देशमा विद्यामान अन्याय, अत्याचार र भ्रष्टाचार निर्मूल पार्न तथा देशको आर्थिक उन्नति र विकासका लागि प्रतिबद्ध हुनुपर्छ भन्ने विचार व्यक्त गरिएको छ । नेता निश्वार्थी हुनुपर्छ, उसले आप्mना स्वार्थलाई तिलाञ्जलि दिएर राष्ट्रको स्वार्थमा लाग्नुपर्छ, नेता दूरदर्शी र आशावादी हुनुपर्छ, ऊ कसैको झुुकाब र प्रभावमा पर्नु हुँदैन भन्दैकवि भन्छन् ः
बन्नै पर्छ इमान्दार सबले नेतृत्वले झन् बढी
त्याग्नै पर्दछ स्वार्थ छन् निजी भने निस्वार्थ बन्दै लडी
यौटै स्वार्थ विभेद अन्त्य गरने राख्यौ भने शीरमा
पर्ने छैन पछाडि फर्कन तिमी लागेर सङ्ग्राममा (पृ. २५ : १५)

देशको असल र सच्चा नेताले सधैं नागरिकका आवाजलाई सम्बोधन गर्नुपर्छ, जनतालाई कहिल्यै पनि दबाबमा राख्न नहुने र यदि राखिएमा देशमा विष्फोट हुने भएकाले यी र यस्तै राष्ट्रिय सवालका अतिरिक्त अन्तर्राष्ट्रिय सन्धि सम्झौता गर्दा पनि राष्ट्रलाई सम्झनुपर्छ र सधैं राष्ट्रलाई शिरोपर राखी अगाडि बढ्नुपर्ने कुरा व्यक्त गरिएको छ । यस सम्बन्धमा कवि भन्छन् :
अन्तर्राष्ट्रिय क्षेत्रमा अझ बढी चाहिन्छ चातुर्यता
पर्ने छौं रणभूमिमा यदि कतै बिर्से असंलग्नता
भै संलग्न कतै बढ्यौं अघि भने झुक्यौं कि चुक्यौँ बुझ
हामी पर्छ तटस्त बस्न दिनहुँ देखाउँदै सुझबुझ (पृ.२७ : २४)

आमाका यिनै इच्छा र सपना पूरा गर्न छोरा बाहिर गएका बेला आमाको मृत्यु भएको सन्दर्भको उल्लेख गरी यो खण्ड समाप्त भएको छ ।
काव्यको दोस्रो खण्डका रुपमा रहेको खण्ड ‘ख’ लाई ‘२०३५ सालपछिका घटनाहरू’ शीर्षक दिइएको छ । यस खण्डलाई ‘प्रजातन्त्रका लागि संघर्ष’, ‘बहुदलीय प्रजातन्त्रको स्थापना’, ‘सशस्त्र विद्रोह’ र ‘गणतन्त्र नेपाल’ गरी चार उपशीर्षकमा विभाजन गरिएको छ ।
खण्ड ‘ख’ को पहिलो उपशीर्षक ‘प्रजातन्त्रका लागि संघर्ष’ मा निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्धमा नेपाली विद्यार्थीले थालेको संघर्ष र त्यस संघर्षलाई नेपाली जनताले दिएको साथ, जनताको शक्तिका अगाडि झुकेर राजाले बहुदल र निर्दलका बिच चुनावको घोषणा, धाँदलीपूर्ण तरिकाबाट निर्दलको जित, काङ्ग्रेस र कम्युनिष्टलाई फुटाएर शासन गर्ने प्रयास, काङ्ग्रेस र कम्युनिष्टका बिच एकता र एकजुट भएर संघर्षको घोषणा, संघर्षका क्रममा जेलनेल भोग्नुपरेको यथार्थता, सिङ्गो देशले नाकाबन्दीको पीडाको सामना गर्नुपरेको यथार्थका बाबजुद पनि अन्तमा निरङ्कुश राजालाई झुकाएरै छाडेका र संघर्ष सम्झौतामा टुङ्गिएको भावसहित यो उपशीर्र्षक समाप्त भएको छ ।
खण्ड ‘ख’ को दोस्रो उपशीर्षक ‘बहुदलीय प्रजातन्त्रको स्थापना’ मा २०४६ सालमा दलमाथिको प्रतिबन्ध हट्नु, संवैधानिक राजतन्त्रको स्थापना, राजनैतिक संक्रमणको स्थिति, प्रजातान्त्रिक संविधान निर्माण जस्ता कार्यहरू भएका तर दलहरू अवसरका निम्ति मात्र मिल्ने, कुनै पनि पार्टीले एकल बहुमत नल्याउँदा अस्थिरताको सृजना भएको, नेताहरू देश र जनताप्रति उत्तरदायी नभएका, मित्रशक्ति र वर्गशत्रु चिन्न नसकी सत्ताका लागि फोहोरी खेलमा चुर्लुम्म डुबेका कुरालाई कविले यसरी उल्लेख गरेका छन् :
के उद्देश्य र मित्रशक्ति कुन हो ख्यालै नराखी कन
मिल्दा जेसित लाभ हुन्छ पदको मिल्छन् नि सत्ता लिन (पृ. ३९ : ५८)
खण्ड ‘ख’ को तेस्रो उपशीर्षक‘सशस्त्र विद्रोह’ मा नेपालमा २०५२ सालदेखि सुरु भएको सशस्त्र विद्रोह (जनयुद्ध) को चर्चा गरिएको छ । यो नेपालको आधुनिक राजनैतिक इतिहासमा एक महŒवपूर्ण, जटिल र परिवर्तनकारी चरण हो । यस आन्दोलनले नेपालको राजनीतिक, सामाजिक र आर्थिक संरचनामा गहिरो प्रभाव पारेको छ । विशेषतः २०४६ सालको जनआन्दोलन पश्चात् प्रजातन्त्रको स्थापना भए पनि गरिवी, सामाजिक विभेद, जातीय अन्याय, भ्रष्टाचार जस्ता समस्या यथावत रहेका कारण यसैलाई आधार बनाएर नेपाल कम्युनिष्ट पार्टी माओवादीले राज्यसत्ता विरुद्ध जनयुद्धको सुरुआत गरेको थियो । यस जनयुद्धको मूल अभीष्ट भनेको सामन्ती व्यवस्थाको अन्त्य, गणतन्त्रको स्थापना, जातीय, लैंगिक र क्षेत्रीय असमानताको सुनिश्चित गर्नु तथा नयाँ जनवाद र वैकल्पिक राज्यसत्ता निर्माण गर्नु थियो ।
यस जनयुद्धले गणतन्त्रको स्थापनामा भूमिका, समाजमा दविएको आवाज उठाउने, वर्गीय, जातीय र लैंगिक मुद्धा स्थापित गरे पनि निर्दोष नागरिकको हत्या, बालबालिकाको प्रयोग, पूर्वाधारको क्षति तथा दीर्घकालीन सामाजिक मानसिक असर पार्ने काम गर्यो ।
संसदीय दलहरू निकम्मा भएपछि ४० बुँदे माग राखी माओवादी सशस्त्र विद्रोहमा उत्रिएको, माओवादीले न्याय, समता र समानताको मूल नारा लिएको, सशस्त्र विद्रोह तिव्र गतिमा विस्तार हुँदै गाउँदेखि सहरसम्म फैलिएको, माओवादीले छोटो समयमै समानान्तर सत्ताको स्थापना गरेको र यो विद्रोह १० वर्षसम्म चलेको कुरा उल्लेख गरिएको छ । कवि भन्छन् :
मान्छे वाक्क नदेखि छाँट गतिलो कांग्रेस कम्निष्टको
मान्छेमा दलतर्फ उम्लन गयो पारा असन्तुष्टिको (पृ. ४१ : ६५)
यसरी जनता जनयुद्धमा होमिए पनि जनताले चाहेको जस्तो गतिमा यो गएन र यसका सकारात्मकभन्दा नकारात्मक परिणामहरू देखापरे । यो विद्रोहमा दुवै पक्षका सेना र सर्वसाधारण जनता गरी हजारौंको ज्यान गएको, यही विचमा दरवार हत्याकाण्ड भएको, नवराजाको उदय भएको, प्रजातन्त्रको हत्या भएको, सरकारी पक्षबाट चरम दमन भएको, पार्टीमाथि प्रतिबन्ध लगाइएको, संसदवादी र क्रान्तिकारी दुवै शक्ति मिलेर जनआन्दोलन सुरु गरेका र यही माओवादी, काङ्ग्रेस र कम्युनिष्टको संयुक्त आन्दोलनले राजालाई लत्रिन वाध्य तुल्याएको सन्दर्भको वर्णन गरिएको छ ।
खण्ड ‘ख’ को अन्तिम उपशीर्षक ‘गणतन्त्र नेपाल’ मा अन्तरिम सरकारको गठन भई अन्तरिम संविधानको निर्माण भएको, अन्तरिम संविधानमा भएको व्यवस्थालाई टेकी संविधान सभाको निर्वाचन भएको, जात, जाति, लिङ्ग, धर्म आदिको सम्बोधन भएको, समानुपातिक मुद्धालाई सम्बोधन गरिएको र गणतन्त्र नेपालको स्थापना भएको सन्दर्भलाई प्रस्तुत गरिएको छ । संविधान सभाको निर्वाचनपछि माओवादी सबैभन्दा ठुलो शक्ति बनेको, माओवादीको नेतृत्वमा सरकार बनेको, सेनाको सहयोग नपाउँदा (रुक्माङ्गत कटुवाल) र राष्ट्रपतिले समेत साथ नदिँदा माओवादीको सरकार ढलेको, यसपछिका समयमा पालैपालो सरकार ढाल्ने र सरकारमा जाने फोहोरी खेलको सुरुआत भएको, पुराना पार्टी पनि स्वार्थमा निर्लिप्त भएका, क्रान्तिकारीले पनि आप्mना वचन बिर्सिएको, पाटीभित्रै खिचातानी र पार्टी फुटाउने खेलको सुरुआत भएको, सोझा र इमानदार नेता पछि पर्दै बेइमान र जनतालाई झुक्याउने नेताको बिगबिगी चलेको सन्दर्भलाई यसरी उल्लेख गरिएको छ ः
निर्माण गर्न र ढाल्न पाल्न सरकार् ध्याउन्न यत्ती भयो
सारा शक्ति यतै गयो प्रगतिमा बाधा अत्यन्तै भयो (पृ. ४४ : ७५)

पैले अस्थिरता थियो जसरि नै उस्तै छ ऐले पनि
फेरिन्छन् सरकार वर्ष दिनमा पैले र ऐले पनि
खै संस्थागत लोकतन्त्र ? प्रतिगामीको अझै त्रास छ
ऐले बेथिति नै थिती हुन गयो चौतर्फी संत्रास छ (पृ.४६ः ८३)
माओवादीसँग जनताले वास्तविक रुपमै आशा राखेका थिए । माओवादी सत्तामा गएपछि उनीहरूले जसरी सरकार सञ्चालन गर्नुपर्दथ्यो, जनताप्रति जसरी उत्तरदायी हुनुपथ्र्यो त्यस्तो नगरेका र उनीहरूले आप्mना बाचा बिर्सिएकाप्रति कविले यसरी आक्रोश पोखेका छन् :
विद्रोहीहरूको समेत गतिलो देखिन्न हे शासन
राखे स्वार्थ निजी शिरोपर गरी चुल्याउँदै आसन
बाचा क्रान्ति हुँदा गरे जति सबै बिर्से नमानी धक
देख्दा त्यो व्यवहार ती कपुतको हामी पर्यौं नौ छक (पृ. ४६ः ८५)
काव्यको खण्ड ‘ग’लाई‘भ्रष्टाचार र कुशासन’ अनि ‘उपसंहार’ गरी दुई उपशीर्षकमा विभाजन गरिएको छ । पहिलो उपशीर्षक ‘भ्रष्टाचार र कुशासन’ काव्यको मूल अंश हो । यसमा कविले भन्न खोजेका मूल कुरा र देशमा व्याप्त भ्रष्टाचार, वेथिति, विकृति र विसङ्गतिको उछितो काढ्ने काम गरिएको छ । यसमा दलका नेताहरू भ्रष्टाचार गर्दिन भन्दै भ्रष्टाचारमा चुर्लुम्म डुबेका, नेताहरू छलछाममा लागेका, धेरै नेताहरू भएर देश दोहन गरेका, नेताहरू सत्ताकेन्द्रित भएका, सिद्धान्तविमुख भएका, तलदेखि माथिसम्म नै भ्रष्टाचार मौलाएको कुरालाई मसिनो रुपमा प्रस्तुत गरिएको छ ।
देशभक्ति भनेको राष्टप्रतिको त्यस्तो भावना हो, जसले व्यक्तिलाई आप्mनो देशको स्वाभिमान, सम्प्रभुता, संस्कृति, इतिहास र भविष्यको रक्षा तथा उन्नतिमा समर्पित बनाउँछ । राष्ट्रप्रेम, कर्तव्यबोध, संविधान र कानुनको सम्मान, एकता र सहिष्णुता, राष्ट्रको सम्पति र सम्पदाको संरक्षण तथा समय र पर योगदानमा देशभक्ति देखिन्छ । यसर्र्थ देशभक्ति भनेको केवल नाराबाजी होइन, यो कर्ममा देखिनुपर्ने भावना हो । जुनसुकै पेसा, जात, वर्ग वा धर्मका भए पनि जुनसुकै स्थानमा बसे पनि यदि हामी आप्mनो देशको हितका अगाडि राख्छौं भने हामी साँचो अर्थमा देशभक्त हौं । आज हाम्रा देशका नेताहरूमा यो देशभक्तिको भावना खस्कँदै गएको, राहदानी बेच्नमा तल्लीन भएका, तस्करी गर्नमा प्रवृत्त भएका द्रव्यपिसाचका चँगुुलमा परेका र वीर नेपाली भन्ने इमानलाई बेचेका प्रति कविले यसरी आक्रोस व्यक्त गरेका छन् ः
हाम्रो इज्जत, शान, मान बुझदा हामी निकै झस्कियौं
हामी वैश्विक मानचित्र बिचमा पातालमा खस्कियौं
राता उत्तम राहदानिहरू नै बेचे गरे तस्करी
कस्ता द्रव्यपिसाचका चगुलमा हामी पुग्यौं बेसरी (पृ. ६३ :१४१)

काव्यमा देशको अर्थव्यवस्थाका बारेमा पनि उत्तिकै चिन्ता व्यक्त गरिएको छ । कवि भन्छन् ः देशमा उत्पादन छैन, व्यापार घाटा छ, व्यापारीहरू कर छल्नमा मात्र व्यस्त छन्, संसद गफ गर्ने थलो बनिरहेको छ, जनताले न्याय पाइरहेका छैनन् । शिक्षा र स्वास्थ्यमा निजीकरण मौलाएको छ, शिक्षामा गुणस्तरीयता ह्रास भएको छ, नक्कली राष्ट्रवादले जनता झुक्काइरहेका छन् । व्यक्तिका विचार, भोट, न्याय र इमान पैसामा किन्न सकिने भएको छ । नेतामा सैद्धान्तिक विचलन आएको छ, नेताहरू भोगविलासमा रमाएका छन् । उनीहरूले वर्गीय चिन्तनका कुरा बिर्सिएका छन् । उनीहरूको माफियासँग साँठगाँठ बढेको छ । जनवादलाई धनवादले खाएको छ ।कवि भन्छन् ः
भन्छन् हौं कम्युनिष्ट किन्तु यिनको निष्ठा छ अन्तैतिर
यी हुन् केवल नामधारी कम्युनिष्ट् को पर्छ यिन्को भर ?
लुट्दै सम्पति देशको यिनिहरू छन् मोजमस्तीतिर
पार्छन् जर्जर देश संस्कृति कला भड्खालमा आखिर (पृ. १५५ : १५४)
ओम्नी, जहाज, यति, बुढीगण्डकी, ललितनिवास, सुन, एन्सेल जस्ता काण्डहरूमा नेताहरू फँसेका छन् । यी सबै क्रियाकलापले भ्रष्टाचार संस्थागत बनेको छ । नेताहरू तारा खसाल्ने भाषण गर्ने, देशलाई स्वर्ग बनाउछु भन्ने तर काम एक दशांश पनि नगर्ने भइरहेको छ । रगतसँग साटेर ल्याएको गणतन्त्रमा नयाँ रजौटाहरू जन्मेका छन् । राजाको ठाउँ राष्ट्रपतिले लिएका छन् तर स्वयंले गर्न नहुने काम गरिरहेका छन् । जे वेठिक भनेर लडियो नेता त्यही गरिरहेका छन् । पञ्चायतको रोग काङ्ग्रेसमा र काङ्ग्रेसको रोग कम्युनिष्टमा सर्दै गएको छ । भ्रष्टाचार गर्ने उनै, जाँच्ने उनै, नाप्ने उनै भएकाले भ्रष्टाचार नियन्त्रण हुनुको साटो झनै मौलाउँदै गएको छ ।
भ्रष्टाचार भनेको सार्वजनिक वा निजी पदमा बसेको व्यक्तिले आप्mनो अधिकारको दुरुपयोग गरी स्वार्थपूर्ति गर्नु हो । यसले नियम, न्याय र नैतिकताको उल्लङ्घन गर्दछ । घुस लिनुदिनु, नक्कली कागजात बनाउनु, सरकारी सम्पतिको दुरुपयोग गर्नु तथा अनियमितता, पक्षपात वा अनुचित निर्णय गर्नु भ्रष्टाचार हो । भ्रष्टाचार राष्ट्रको विकासको घातक बिमारी जस्तै हो । यसको नियन्त्रण नागरिक चेतना, सुशासन, कडा नीति र नैतिक मूल्यहरूको पालनाबाट मात्र सम्भव हुन्छ । सबैले मबाट परिवर्तन सुरु गर्छु भन्ने भावना बोकेर अगाडि बढे मात्र भ्रष्टाचार मुक्त समाज सम्भव हुन्छ । देशमा प्रजातन्त्र तथा गणतन्त्र आई जनताका छोराछोरी मालिक हुँदा पनि कुनै परिवर्तन नआएको तथा मुलुकमा भ्रष्टाचार झन मौलाएकाप्रति कवि यसरी आक्रोश पोख्छन् :
छन् सञ्जाल अनेक भ्रष्टहरूका ठाडो र तेर्सो दुवै
ऐले चक्चकि बिग्बिगी यिनिहरूकै देखिँदै छ खुबै
भ्रष्टाचार गराउने र गरने जाँच्नेसमेत् भ्रष्ट छन्
भ्रष्टाचार भयो भएन कि भनी नाप्नेसमेत् भ्रष्ट छन् (पृ.६५ : १४८)
कवि अझ भन्छन् :
भष्टाचार गरी कमाउन भनी बन्छन् कति कानुन
भ्रष्टैलाई छुटाउने नियतिले धेरै बने कानुन
त्यस्ता कानुन हाँकने कतिपय संस्थाहरूमा धरी
भ्रष्टै जान्छ निसाफ गर्छु गुरुको आग्या शिरोपर् गरी (पृ. ६६ : १५५)
चालु खर्च धान्न नसक्ने अर्थतन्त्र छ, पूँजी पलायन भइरहेको छ । यसरी देशमा विद्यमान भ्रष्टाचार र कुशासनलाई यसमा मसिनो गरी प्रस्तुत गरिएको छ ।
खण्ड ‘ग’ को अन्तिम उपशीर्षक ‘उपसंहार’ मा कविले केही आशावादी स्वर व्यक्त गर्नुका साथै संघर्षका नयाँ रुपको आह्वान गरेका छन् । कविले भनेका छन् ः देश विविधताको पूmलवारी हो, यहाँ विभिन्न प्रकारका कला, संस्कृति, जाति, भाषा र धर्मको सुन्दर समन्वय छ । देशको विकासका लागि कृषिमा जोड दिनुपर्छ, उद्योगको स्थापना गर्नुपर्छ, देशमा उत्पादन बढाउनुपर्छ, जलको अधिकतम उपयोग गर्नुपर्यो, विभेदकारी नीतिको अन्त्य गर्नुपर्यो, देशमा भइरहेको प्रकृतिको स्रोतको दोहनलाई रोक्नुपर्यो, समाजमा विद्यमान अन्याय, असमानता र कुप्रथालाई हटाउन पर्यो, देशमा सहभागितामूलक राष्ट्रिय नीति र बलियो परराष्ट्रनीति अवलम्बन गर्नुपर्यो । सबै मिली प्रगतिको खाका कोरौं, सही र गलत छुट्याउँ, आन्तरिक लोकतन्त्रलाई बलियो बनाऊँ । कवि भन्छन् :
चिन्नै पर्छ सही छ को ? गलत को ? राखी तराजू ढक
बारम्बार् असफल् प्रमाणितहरू त्यागौं नमानी धक
संस्थाभित्र जवाफदेहिपनको बाहुल्यता चाहियो
संस्था उन्नत पार्न आन्तरिक लोकैतन्त्रता चाहियो (पृ. ७० : १६८)
अझ अगाडि बढेर कवि भन्छन् :
यस्तो पार्न ठुलै निस्वार्थपनको खाँचो छ नेतृत्वको
नेताबाट तर ध्यान देख्छु म सधैं मात्रै निजी स्वार्थको
यस्ताबाट समुन्नती मुलुकको के आश गर्ने र खै ?
यस्तो लाग्छ बनेन देश अब यो संघर्ष अर्को नभै (पृ. ७० : १६९)
नेपाली जनताले लामो समयदेखि शासकको यातना भोग्दै आए । त्यसबाट मुक्ति पाउनका लागि जटिल परिस्थितिको सामना गर्दै जनताले बलिदानीपूर्ण सङ्घर्ष पनि गरे । देशमा ठुलो राजनैतिक परिवर्तन पनि भयो र जनताले चाहेको शासन व्यवस्था पनि आयो । यति भएर पनि देशवासीका जीवनमा वास्तविक परिवर्तन आउन सकेन र देशले पनि अपेक्षित अग्रगति लिन सकेन । यो कुरामा कवि निकै चिन्तित छन् ।यी सबका लागि कविले अर्को संघर्षको खाँचो महसुस गरेका छन् । देशमा मौलाउँदै गएको कुशासन र भ्रष्टाचारको अन्त्यका लागि अहिलेकै नेता र अहिलेकै छाँटले मात्र सम्भव छैन भन्दै कवि भन्छन् ः
हे आमा अहिले कुशासन बढी यो हाल हाम्रो भयो
भ्रष्टाचार अकासियो छिरलियो नेपाल नै खस्कियो
ऐले देख्दिन छाँट देश जनता सम्बृद्ध बाटोतिर
लाग्नै पर्ने भयो नवीन रुपको सङ्घर्षमा आखिर (पृ. ७१ :१७०)
उपसंहारको अन्त्यमा कवि आमालाई सम्बोधन गर्न पुग्छन् । देशमा कुशासन बढ्यो, भ्रष्टाचार अकासियो त्यसैले देशमा नयाँ संघर्षको खाँचो देखियो, विगतमा भएगरेका गल्तीबाट पाठ सिकेर कहिल्यै नढल्ने झण्डा उठाउनुपर्यो भन्ने भाव कविले यसरी व्यक्त गरेका छन् :
गल्तीबाट सिकेर पाठ अब त्यो गल्ती नगर्ने गरी
झण्डा फेरी उचालनै अब पर्यो ढल्दै नढल्ने गरी (पृ. ७१ : १७०)

निष्कर्ष
यसरी कवि गणपति ओझाले ‘आमा’ काव्यमा आमा छोराको सम्वादको शैली अवलम्बन गरी आमाले बाँचेको जीवन, आमाले छोरालाई दिएको आदर्श शिक्षा र त्यसका माध्यमबाट छोराले आमाको सपना पूरा गर्नका लागि गरेको आदर्श त्याग तथा अपेक्षालाई कवितामा प्रस्तुत गर्दै देशमा भएका अनेकन परिस्थितिमा पनि सोचेजस्तो परिवर्तन नभएकाप्रति कवि चिन्तित छन् । कविले देखेका थुप्रै परिवर्तन र ती परिवर्तनका बिचमा राखेका आशा पूरा नभएको पीडाबोधको अभिव्यक्ति दिँदै कविले नयाँ प्रकारको क्रान्तिको आह्वानसमेत गरेका छन् । कविले परिवर्तनसँग देखापरेका राजनैतिक पार्टी र तिनका नेताले देखाएका गलत क्रियाकलापको विरोध गर्दै यिनीहरूबाट अपेक्षित परिवर्तन र नेपाली जनतामा जीवनमा सुख शान्ति आउन नसकेकामा पीडा बोध गर्दै नवीन क्रान्तिको आह्वान गरेका छन् । समग्रमा काव्य आमाका सपनाप्रति परिलक्षित भावनामा चोट पुर्याउने नेता, तिनका प्रवृत्ति तथा क्रियाकलापप्रति तीव्र विरोध गर्दै सुनौलो नेपालको कामना गरिएको, समतामूलक समाजको अपेक्षा गरिएको प्रगतिवादी र देशभक्तिपूर्ण भावनाले ओतप्रोत सफल काव्यका रुपमा देखापर्दछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।