पोखरा, साउन १३
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भनिएका हायु परिवार अहिले पोखरामा छन् । चार दिनसम्म सम्पर्कमा नआएका हायु परिवार पोखरा–३० गगनगौंडामा भेटिएका हुन् । व्यापक खोजीपछि सोमबार साँझ फेला परेका उनीहरुलाई पोखरा–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहवरमा ज्वाईं नाता पर्ने आफन्त धनबहादुर तामाङको जिम्मा लगाइएको थियो । धनबहादुर हायु परिवारकी छोरी कमला हायुका पती हुन् । उनी तनहुँको शुक्ला गण्डकी नगरपालिका–२ का बासिन्दा हुन् ।
सिन्धुलीबाट २० हजार रुपैयाँमा हायस गाडी रिजर्भ गरेर उनीहरु पोखरा आएका थिए । शुरुमा १६ जना भनिए पनि उनीहरु अहिले २२ जना भएको खुलेको छ । शनिबार पोखरा आएका उनीहरु त्यो दिन पोखरा–६ लेकसाईडस्थित होटल जननीमा तीन वटा कोठा लिएर बसेका थिए । भोलिपल्ट चेकआउट गरेर निस्किएका उनीहरु पोखरा–३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा श्रम गर्न आएको भन्दै आश्रय लिन पुगेका थिए ।
परिवारको जिम्मा लगाइएपनि उनीहरु घर फर्किन भने चाहँदैनन् । थातथलो चटक्क छाडेर हिंडेका उनीहरुका बारेमा अनेक अड्कलबाजीहरु गरिएको थियो । विभिन्न तर्कनाहरु गरिएको थियो । फेला परेपछि उनीहरुले विरामी भइरहेपछि धामीको सल्लाहमा थातथलो छाडेको भन्दै हल्ला फैलाइएको थियो । हायु परिवारको भनाई उद्दृत गर्दै धामीले सो ठाउँमा नबस्न भनेकाले घर छाडेको हल्ला चलाइएपनि हायु परिवारले त्यसको खण्डन गरेका छन् । मिडिया खासै बोल्न नचाहेका हायु परिवारका सदस्य मध्येका एक हिमाल हायुले संक्षिप्त रुपमा भने,‘त्यहाँ बसेको ३० वर्ष भइसक्यो, जाबो भुतप्रेतको लागि ठाउँ छाड्ने कुरा आउँदैन ।’ उनले भुतप्रेतले गर्दा घर छोड्यो भनेर हल्ला कसरी चल्यो भन्नेबारेमा अनभिज्ञता प्रकट गरे । भने,‘खोई कसरी चल्यो थाहा भएन भुतप्रेतले गर्दा ठाउँ छाड्यो भन्ने ।’
बरु सुगम ठाउँ र रोजगारीको सिलसिलामा गाउँ छाडेका हुन् । परिवारका सदस्यहरु बारम्बार विरामी भइरहने तर अस्पताल जान समस्या भएको, बालबच्चालाई पढ्नका लागिपनि समस्या रहेको हिमालले बताए । रोजगारीको खोजी पनि एउटा हो,उनले भने,‘शिक्षा र स्वास्थ्यका लागि पनि अप्ठेरो भएकाले योजनाबद्द ढंगले घर छाडेका हौं ।’ उनले थपे,घर एकान्तमा छ,‘त्यहाँबाट स्कुल टाढा छ, झण्डै तीन÷चार घण्टा लाग्छ । त्यसले पनि असजिलो भयो ।’ उनले विद्यालय जाने बाटो बने पनि गाडी नचल्दा शास्ती भोग्नु परेको बताए । उनले अगाडि थपे,‘बाटो बनिहाल्यो भने पनि बस चल्नु प¥यो नि ! ।’
हायु परिवार पोखरामै बस्न चाहन्छ । तर कहाँ बस्ने र के गर्ने भन्ने टुंगो लागिसकेको छैन । कामको खोजी गर्दै यहाँ आइपुगेका हौं,हिमालले भने,‘अब घर नफर्किने, यतै बस्छौं । अब फर्किदैनौं ।’ के काम गर्ने ? भनेर सोध्दा उनले भने,‘काम खोजेर गर्छौं । हेरौं, घुमौं, काम खोजौं बल्ल थाहा हुन्छ ।’ काम खोज्दा बालबच्चाले पढ्न सक्ने ठाउँको खोजी हुने उनको भनाई छ । नजिकै स्कुल भएको ठाउँ हेरेर बस्ने उनले बताए ।
यसैबीच, हायु परिवारले मंगलबार विहान फेवाताल घुमफिर गर्नुका साथै फेवातालको बिच भागमा रहेको ताल वाराही मन्दिरको दर्शन गरे । सो क्रममा हालसालै विवाह गरेका छोरी अस्मीता हायु र ज्वाईं सुजन हायुको टिकाटालो गरिदिएका छन् । उनीहरुले केहि समय अघिमात्र भागेर विवाह गरेकाले टिकाटालो गरिदिएको आमा उर्मिला हायुले बताईन् । मन्दिर दर्शन र डुंगा सयरपछि हायु परिवारकी अभिभावक (आमा) उर्मिलाले पोखरा मन परेको प्रतिक्रिया दिईन् । भनिन्,‘पोखरा र फेवाताल राम्रो लाग्यो ।’

ताल वाराही मन्दिरको दर्शन पश्चात उनीहरु ग.१ख.४५६८ नम्बरको लोकल बस चढेर गगनगौंडा फर्किएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लब अफ पोखरा चौतारीले गोरखाको पालुङटार नगरपालिका–७ स्थित मस्र्याङ्दी आधारभूत विद्यालयका…







