पोखरा, साउन १५
पर्यटकीय राजधानी पोखरामा आरयू फेष्ट शुरु भएको छ । रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत उत्पादन भएका सामग्रीहरुको प्रदर्शनीसँगै उत्पादनको प्रत्यक्ष अवलोकन गराउने कार्यक्रम आरयू फेष्ट शुरु भएको हो । पोखरा–६ बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा शनिबारसम्म आयोजना हुने फेष्टको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।

फेष्टमा फोहोरबाट उत्पादन भएका सामग्रीहरुको प्रदर्शनी गरिएको छ । जहाँ दर्जन भन्दा बढी कम्पनीहरुले आफूले फोहोरबाट उत्पादन भएका सामग्रीहरु प्रदर्शनीमा राखेका छन् । कसैले हिमालमा छाडिएका प्लाष्टिकजन्य सामग्रीबाट उत्पादित गरेका सामग्री फेष्टमा प्रदर्शनीमा राखेका छन् भने कसैले बोतल, कागजजन्य पदार्थबाट बनाइएका सामग्रीहरु राखेका छन् । उसो त रिसाइक्लिङ मात्रै होईन, अपसाइक्लिङ अर्थात प्रयोग गर्दा छाडिएका कपडालगायतबाट बनाइएका झोला, व्याग, थैलीलगायतपनि फेष्टलाई अवसरका रुपमा लिएर प्रदर्शनीमा राखेका छन् ।

फेष्टमा फोहोरबाट कसरी सामान उत्पादन गरिन्छ भन्नेबारे प्रत्यक्ष अवलोकन गर्न पाईन्छ । जहाँ फालिएका फोहोरलाई प्रशोधनमार्फत पुनः प्रयोगका लागि सामग्रीहरु निर्माण भइरहेको देख्न सकिन्छ । फेष्ट हुने स्थलमा फालिएका प्लाष्टिकको बोतलबाट बनाइएको माछा राखिएको छ । जसमा सेल्फी खिच्नेको भीड लाग्ने गरेको छ । फेष्टमा फोहोरलाई मोहरमा बदल्ने अवसर, फोहोरले जलवायुमा निम्त्याईरहेको संकटसँगै दिगो पर्यटन विकास, हरित उद्यमशीलता र प्लास्टिक टु रोड प्रविधिबारे प्यानल डिस्कसन हुँदैछन् । सो अवसरमा सार्वजनिक कला प्रदर्शनी, सहभागितामूलक गतिविधिहरू प्रस्तुत, दक्षिण कोरियाको सफलता अनुभवमाथि विशेष संवाद सत्र, हरित रोजगारी, बजार पहुँच र दिगो जीविकोपार्जनका उपायहरू लगायत विषयहरू माथि चर्चा परिचर्चा हुने परियोजनाका फोकल पर्सन नेत्रप्रसाद तिमिल्सिनाले जानकारी दिए । साथै फेस्टिभलमा रिसाइक्लिङ र अपसाइक्लिङ सम्बन्धी नेपालको मौलिक सीप र दक्षिण कोरियाको चक्रीय अर्थतन्त्रमा यसले पारेको सकारात्मक प्रभाव र प्रेरणादायी अनुभवहरू आदानप्रदान गरिने उनले बताए ।

फेष्टमा उद्योगी तथा कम्पनीका सञ्चालकहरुलाई बोलाएर उनीहरुलाई बिस्तारित उत्पादक जिम्मेवारी (ईपीआर)बारे जिम्मेवार बनाउनका लागि छलफल गरिने बताइएको छ । जस्तै कुनै कम्पनीले चकलेट, चुरोट, बिस्कुट, चाउचाउको खोल वा पेय पदार्थ उत्पादन गर्छ भने त्यसको प्रयोगपछि निस्कने फोहोरको व्यवस्थापन गर्नका लागि उनीहरुलाई जिम्मेवार बनाउनेबारे फेष्टमा छलफल हुनेछ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले आरयू फेष्ट उद्यमी बन्ने अवसर भएको बताए । फोहोरलाई मोहरमा बदल्न सकिन्छ भन्ने उदाहरण पुष्टि भइसकेको छ,उनले भने,‘फेष्टमार्फत फोहोर अभिसाप होईन, यो त उद्यमी वा उद्योगी बन्ने अवसर हो भन्ने पुष्टि गरिनेछ ।’ उनले दैनिक जीवनमा प्रयोगहीन सामाग्रीहरू रिसाइक्लिङ र अपसाइक्लिङ गरी हरित रोजगारी सिर्जना सहित चक्रीय अर्थतन्त्रको निर्माणमा नयाँ ज्ञान, सीप र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले आरयू फेष्ट आयोजना गरिएको बताए । उनले भने,‘फेष्ट सिर्जनशील युवाको साझा मञ्च बन्नेछ । साथै यसले उद्यमशीलता र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिनेछ ।’ फेष्ट सृजनशीलता, नवप्रवर्तन र दिगोपनाका लागि हातेमालो गर्दै वातावरणमैत्री र सुरक्षित भविष्य निर्माण गर्न कोशेढुंगाा सावित हुने उनले विश्वास व्यक्त गरे ।
पोखरामा पोखरामा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना सञ्चालन भइरहेको । झण्डै एक अर्ब ४४ करोड ८७ लाखको लगानीमा फोहोर प्रशोधनमार्फत रिसाइक्लिङ र अपसाइक्लिङ अन्तर्गत जिभिजेड सेन्टर स्थापना गरेर फोहोरबाट विभिन्न सामग्री निर्माण उत्पादन भइरहेको छ । यस परियोजना ५ वर्षसम्म कोइका र युएनडिपीले नै सञ्चालन गर्नेछ भने त्यसपछि पोखरा महानगरलाई हस्तान्तरण गर्ने मेयर आचार्यले जानकारी दिए ।
पोखराको प्रदर्शनी केन्द्रमा उत्पादित सामग्रीहरु प्रदर्शनीमा राखिएको छ भने पोखरा महानगरपालिकाका ३३ वटै वडाहरुमा १३६ वटा सामुदायिक समूहहरु निर्माण गरेर रिसाइक्लिङ र अपसाइक्लिङमार्फत सामग्री निर्माण भइरहेको छ । यस परियोजनामा हालसम्म ३ हजार ३ सय जना आबद्द भएको मेयर आचार्यले बताए । उनले भने, उत्पादनमा सिमान्तकृत समुदायलाई प्राथमिकतामा राखेर रोजगारी दिइएको छ ।’ यस परियोजनाले हरित अर्थतन्त्रको विकासमा योगदान दिदै रोजगारी सिजर्ना गर्ने उनको भनाई छ । दुई वर्षमा ३ हजारलाई स्थायी रोजगारी सिर्जना गर्ने महानगरको योजना रहेको उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको देउवा समुहले ४३ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । आगामी…







