अर्डर गरेको खाना नआएपछि बन्यो पोखरामा ‘ह्यान्ग्रीजेन’ खोल्ने योजना, सार्कट्याङ्कले खोलिदियो राजधानी छिर्ने ढोका


     एभरेस्ट आवाज    
     श्रावण ३० गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, साउन ३०

पोखरामा फुड डेलिभरी क्षेत्रमा स्थापित नाम हो ह्यान्ग्रीजेन । डेढ वर्ष अघि क्लाउड किचनका रुपमा सञ्चालनमा आएर छोटो समयमै पोखरेलीको मन जित्न सफल ह्यान्ग्रीजेनका सञ्चालक हुन् पोखरेली व्यवसायी लक्सन राज श्रेष्ठ र विनय शर्मा ।

पोखरामा फूड डेलिभरीमा स्थापित भएपछि उनीहरु राजधानी काठमाडौं छिर्न चाहन्थे । मास बिजनेसको जगजगी राजधानी छिर्ने हुटहुटी भए पनि लगानी अभावमा त्यो सम्भव भइरहेको थिएन । तर सार्कट्याङ्कले अहिले त्यसको ढोका खोलिदिएको छ । लगानीकर्ताको खोजी गर्दै सार्कट्याङ्कमा सहभागी उनीहरुलाई नेपालका प्रतिष्ठित उद्योगी तथा व्यवसायी आनन्द वगरियाले हात थामी दिएका छन् । श्रेष्ठ र शर्माको स्टार्टअप र ईन्नोभेटिभ व्यवसायमा उनले एक करोड लगानी गर्ने घोषणा गर्दै चेकसमेत हस्तान्तरण गरेका छन् । विहीबार साँझ प्रशारण भएको सार्कट्याङ्कको नया श्रृङ्खलामा यो सब देख्न सकिन्छ । आफूहरुको स्टार्टअपमा बगरियाले हात थामिदिएपछि उनीहरुलाई मास बिजनेसका लागि राजधानी काठमाडौं छिर्ने सपना साकार भएको महशुष भएको छ ।

कार्यक्रममा बगरियाले श्रेष्ठ र शर्माको प्रशंसा गरेका छन् । साथै उनले ह्यान्ग्रीजेन काठमाडौं जान योग्य रहेको बताउँदै भने,‘म काठमाडौं आएर खोल्ने खर्चको २५ प्रतिशत अर्थात एक करोड लगानी गर्न चाहन्छु ।’ सो प्रस्ताव स्वीकारेपछि सम्झौता पत्रमा पनि हस्ताक्षर भएको सञ्चालक लप्सन राज श्रेष्ठले बताए । प्रतिष्ठित उद्योगीपती, व्यवसायीले हाम्रो हात थाम्दा हामी खुशी छौं,उनले भने,‘काठमाडौंमा खोल्ने जुन हाम्रो सपना थियो, त्यो पूरा भयो । अब हामी चाँडै काठमाडौंमा खोल्दैछौं ।’

सार्कट्याङ्कले लगानीमात्र जुटाएन, हौसला पनि मिलेको छ । मार्केटिङमासमेत सघाएको ह्यान्ग्रीजेनका मार्केटिङ एण्ड कम्युनिकेसन हेड अस्मीत कपालीले बताए । उनले भने,‘लगानी त जुट्यो नै, यसले मार्केटिङमासमेत सघाएको छ ।’

कसरी सुरु भयो ह्यान्ग्रीजेन ?

लप्सनराज श्रेष्ठ र विनय शर्मा प्लस टु अध्ययन गर्दाका क्लासमेट हुन् । पछि विनय शैक्षिक अध्ययनसँगै रोजगारीका लागि अष्ट्रेलिया गए । लप्सन भने भारतमा अध्ययन गरेर ईञ्जिनियर भएर पोखरा आए ।

डेढ वर्ष अगाडि विनय ९ वर्षे अष्ट्रेलिया बसाईपछि जन्मभूमि नेपालगञ्ज घर गए । दशैंताका घर आएका उनी पोखरा घुम्न आए । पोखरा आएका बेला कलेजका साथी लप्सनसँग गफिदै अनलाईन खाना अर्डर गरे । साँझमा गरेको अर्डर रातीसम्म नआएपछि उनीहरुले रेष्टुरेण्टमा फोन गरे, तर फोन उठेन । बारम्बार फोन गर्दा पनि नउठेको फोन त्यसपछि भने फोन नै नजाने भयो अर्थात फोन ब्लक भएछ । त्यसपछि भोको पेटमा दुई साथीबीच फुर्यो ‘ह्यान्ग्रीजेन’ खोल्ने योजना । ९ वर्ष अष्ट्रेलिया बसेर फर्किएका विनयले पनि सम्भावना र अवसर देखेपछि ६ महिना नबित्दै पोखरा लेकसाईडको स्ट्रिट नम्बर १४ को एउटा कोठाबाट शुरु भयो ‘ह्यान्ग्रीजेन’को व्यापारसँगै सेवा ।

अष्ट्रेलिया बस्दा किचन हेल्परहुँदै म्यानेजरसम्म बनेका विनयले ‘ह्यान्ग्रीजेन’को किचन सम्हाले, ईञ्जिनियर लप्सन भने व्यवस्थापनमा लागे । घरघरमा फुड डेलिभरी गर्ने यसले पिज्जा, बर्गर, मःमः, चाउमिनदेखि मासुका विभिन्न परिकारहरु बनाएर बेच्न थाल्यो । जसको स्वाद पर्यटक र पोखरेलीले मन पराए भने सर्भिस प्रति सन्तुष्टि मिल्यो । त्यसैले यसको चर्चा दिन दुई गुणा, अनि रात चार गुणा हुन थाल्यो । अहिले पोखराको चाउथे, छोरेपाटन, सिमपानी, बगरसम्म सेवा दिइरहेको मार्केटिङ तथा कम्युनिकेसन हेड कपालीले जानकारी दिए । काठमाडौंमा आफैले शाखा खोलेपछि लेखनाथमा फ्रेञ्चाईजी दिने सोंचमा उनीहरु छन् ।

‘ह्यान्ग्रीजेन’ले स्वादसँगै हाईजिनमा उत्तिकै ध्यान दिइरहेको उनको दाबी छ । हामी सामान खरिद गर्दादेखि परिकार बनाउँदासम्म कुनै पनि कुरामा कम्प्रोमाईज गर्दैनौं,उनले भने,‘प्याकिङ गर्दा होस् वा घरसम्म पु¥याउँदा पनि हाईजिन मेन्टेन गरेका हुन्छौं ।’

‘ह्यान्ग्रीजेन’को लिड अहिले जेनजी पुस्ताले गरिरहेका छन् । जसमा १६ देखि २२ वर्षसम्मका युवा छन् । सञ्चालक दुई मध्ये विनय अहिले ‘ह्यान्ग्रीजेन’को प्रमुख कार्यकारी अधिकृत (सिईओ) र लक्सनचाहिं प्रमुख प्राविधिक अधिकृत (सिटीओ) भएर जिम्मेवारी सम्हालिरहेका छन् ।

किचनमा होस् वा मार्केटिङदेखि होम सर्भिस, सबैमा युवा छौं,कपालीले भने,‘हामीजस्तो जेनजी पुस्तालाई विश्वास गरेर जिम्मेवारी दिदा गर्व लाग्छ ।’ अहिलेका जेनजी पुस्ताजस्तै आफू पनि कुनै समय विदेश जाने चक्करमा रहेको बताउँदै २२ वर्षिय कपालीले भने,‘मेरा अधिकांश साथीहरु विदेश छन् । तर मलाई ‘ह्यान्ग्रीजेन’ले स्वदेशमा बस्ने अवसर दिएको छ । यसले मजस्ता अरुलाई पनि स्वदेशमा बस्न प्रेरित गर्छ भन्ने लागेको छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।