दोस्रो पर्वतीय दौडको प्रथम पुरस्कार अन्तर्राष्ट्रिय म्याराथन धावक कुसाङले प्रायोजन गर्ने


     एभरेस्ट आवाज    
     श्रावण ३० गते २०८२ मा प्रकाशित




पोखरा अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गरेका छन् । 

पर्वत जिल्ला खाल्टेमा जन्मनु भएका गुरुङले प्रथम पुरस्कार ५० हजार रुपैयाँ पोखरा क्लिकलाई उपलब्ध गराउने सम्झौता शुक्रबार एक समारोहका बीच सम्पन्न भएको हो ।

उक्त सम्झौता सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली र प्रतियोगिताका संयोजक दीननाथ बराल बीच आदानप्रदान गरिएको छ । बेलायतमा रहेर पनि जन्मभूमि र खेल पर्यटन प्रवद्र्धनमा निरन्तर सक्रिय गुरुङले प्रतियोगिताको सफलताको शुभकामना दिँदै प्रतियोगितालाई दिगो रूपमा आयोजना गर्न सुझाव दिए । “कामको सिलसिलामा विदेशमा भए पनि जन्मभूमि र खेल पर्यटनको विकासमा योगदान दिन पाउँदा खुसी लागेको छ,” गुरुङको भनाइ थियो ।

सम्झौता हस्तान्तरण कार्यक्रममा सहारा क्लबका अध्यक्ष केशवराज बराल, पोखराका अग्रज फोटो पत्रकार सुर्दशन रञ्जितकोसमेत सहभागिता रहेको थियो ।

लेफ्टेनेन्ट कुसाङ गुरुङ मलेसियाको माउन्ट किनाबालु अन्तर्राष्ट्रिय क्लाइमाथन तीन पटक लगातार जित्ने कीर्तिमानका साथै एभरेष्ट म्याराथनलगायत थुप्रै प्रतिष्ठित दौडमा नेपालको नाम उजागर गर्न सफल भएका थियो । 

प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार नगद प्राप्त गर्ने छन् । दोस्रो, तेस्रो, चौथो र पाँचौँलाई क्रमशः ३० हजार, १५ हजार, सातहजार, तीनहजार र छैटौँदेखि १० औं स्थानसम्म दुरी पूरा गर्ने धावकलाई जनही एकहजार नगद मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिने पोखरा क्लिक डटकमका वरिष्ठ संबाददाता असफल गौतमले बताउनु भयो । गत वर्ष खुलातर्फको इभेन्टमा प्रथम, द्वितीय र तृतीयलाई नगद पुरस्कार क्रमशः २५ हजार, १५ हजार र सातहजार रुपैयाँ रहेको थियो ।

यसैगरी, वडास्तरीय खुला, महिला र यू–१६ तर्फका विजेता जनही १५ हजार र उपविजेता जनही सातहजार रुपैयाँसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत हुने भएका छन् । 

प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरेको व्यवस्थापक सागर सुनार बताए ।  उनका अनुसार भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्राप्त गर्नेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।