पोखरा, भदौ २
महिला उद्यमी संघ नेपालले गण्डकी प्रदेश शाखा गठन गरेको छ । गण्डकी प्रदेशका महिला उद्यमीहरुको सोमबार पोखरामा भएको भेलाले पार्वती पौडेल रेग्मीको अध्यक्षतामा महिला उद्यमी संघ गण्डकी गठन गरेको हो ।
संघको उपाध्यक्षमा निर्मला मल्ल, सचिवमा रिता रेग्मी अर्याल र कोषाध्यक्षमा खगिसरा लामिछाने (पुनम) सर्वसम्मत चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा शारदा बराल (सरु), चन्द्रकला राना, भीमा कोईराला, सुकुन रसाईली विक र विनिता अधिकारी चयन भएको नवनिर्वाचित अध्यक्ष पार्वती पौडेल रेग्मीले जानकारी दिईन् ।
महिला उद्यमीहरुको भेलालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महिला उद्यमशिलता विकासका लागि महिला उद्यमी महासंघसँग मिलेर काम गर्ने वचनबद्दता व्यक्त गरे । गण्डकी सरकारले एक हिसाबले महिला उद्यमशिलता विकासका लागि काम गरिरहेकै छ,उनले भने,‘तर यसका लागि विशेष रुपमा नीजि क्षेत्रले नै गर्नुपर्छ ।’ उनले गण्डकी प्रदेश सरकारले नीजि क्षेत्रलाई प्रोत्साहित हुने खालको नीति लिएको स्पष्ट पारे । ‘नीति बनाईदिने र उद्यमशिलता विकासका लागि सहजीकरण गर्नुपर्ने काम सरकार हो । त्यो गरिरहेकै छौं’–उनले भने । मुख्यमन्त्री पाण्डेले महिला उद्यमीहरुलाई प्राथमिकता दिएर प्रोत्साहित हुने गरी कार्यक्रमहरु आयोजना गर्दै आएको पनि उल्लेख गरे । महिला उद्यमीहरुको चाहना र आग्रह अनुसार नै कोशेली घर सञ्चालन ल्याएको बताउँदै उनले भने,‘सरकारको तर्फबाट गर्न सकिने र गर्नुपर्ने नीति, नियम बनाउनेदेखि सहकार्यमा गर्ने कार्यक्रमका लागि आगामी दिनमा पनि निरन्तरता दिनेछौं ।’ उनले गण्डकी प्रदेश आएका पर्यटकले कोशेलीका रुपमा गण्डकी प्रदेशकै उत्पादन लिएर जाने वातावरण बनाएको बताए ।
महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमी महासंघले महिला उद्यमशिलता विकाससँगै महिलाहरुको क्षमता अभिवृद्दि, सीप विकास तालिम आयोजनादेखि उत्पादित वस्तुको बजारीकरणसम्म काम गर्दै आएको बताईन् । वर्षमा एक पटक अन्र्तराष्ट्रिय महिला उद्योग व्यापार मेला आयोजना गरेर महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुको बजारीकरणमा सघाउने गरेको उल्लेख गर्दै उनले भनिन्,‘जहाँ नेपाली महिला उद्यमीसँगै विदेशी महिला उद्यमीहरु पनि आफूले उत्पादन गरेका वस्तु लिएर आउँछन् ।’ सो मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शनी गर्नुका साथै उत्पादित वस्तुको गुणस्तरबारे बुझ्न र अनुभव लिन पाउने प्लेटफर्म बनेको बताए । मेला नेटवर्किङ बनाउन पनि सहयोगी बनेको उनको भनाई छ । मेलालाई बाईङ र सेलिङ गर्ने थलो मात्रै बनाउँदैनौं,उनले भनिन्,‘महिला उद्यमशिलतामा देखिएका चुनौति, बजारमा के कस्ता वस्तुहरुको डिमाण्ड छ ? उत्पादनलाई कसरी सस्तो र गुणस्तरिय बनाउने ? भन्नेबारेमा बहस र छलफल गर्छौं ।’ साथै वित्तीय क्षेत्रमा कसरी पहुँच पु¥याउने, बैंक ब्याजको ब्यबस्थापन, जलवायु परिवर्तनले महिला उद्यमीहरुलाई पारेको असर, यसले ल्याएको चुनौतिबारे छलफल गरेर एउटा निकास दिने प्रयास हुनेगरेको उनले जानकारी दिईन् ।
अध्यक्ष ज्ञवालीले पछिल्लो दुई वर्षदेखि मेलामा विदेशी कुटनीतिज्ञहरुलाई बोलाएर नेपालका विभिन्न जातजातिहरुको भेषभुषा लगाईदिने गरेको बताईन् । यसले उनीहरुमार्फत अन्र्तराष्ट्रिय जगतमा नेपाली सांस्कृतिक भेषभुषाको प्रचार भएको उनको भनाई थियो । कार्यक्रममा अध्यक्ष ज्ञवालीले प्रदेश सरकार तथा जिल्लास्थित कार्यालयहरुले महिला उद्यमी महासंघसँग सहकार्य नगरेकोप्रति असन्तुष्टि जनाईन् । राष्ट्रिय रुपमा त हामीलाई गभर्नमेन्टले नीजि क्षेत्रको पोलिसी बनाउँदा होस् वा महिला उद्यमशिलताको विकासका कार्यमा बोलाएर छलफल गर्नेगरेको छ,उनले भनिन्,‘तर प्रदेश, जिल्ला र पालिकामा त्यसरी बोलाएर छलफल गरेको पाईंदैन, अबदेखि त्यतातिर पनि ध्यान दिनुहोला ।’
नवनिर्वाचित अध्यक्ष पार्वती पौडेल रेग्मीले महिला उद्यमशिलता विकासका लागि बलबुताले भ्याएसम्म काम गर्ने प्रतिबद्दता जनाईन् । उनले भनिन्,‘म महिला उद्यमशिलता विकासका लागि गण्डकी प्रदेशका सबै जिल्ला, पालिका, वडा र टोलसम्म पुग्ने वाचा गर्छु ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस आउटलेट…







