पोखराको पातले छाँगो ठेक्का सम्झौताबिरुद्द आन्दोलित स्थानियलाई खुकुरी प्रहार गर्न खोज्ने एक पक्राउ


     एभरेस्ट आवाज    
     भाद्र १९ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, भदौ १९

पोखराको पर्यटकीय गन्तव्य पातलेछाँगो (डेभिडफल्स) ठेक्का लगाउने विवादले उग्र रुप लिदै गएको छ । पोखरा महानगरपालिकाले छोरेपाटन माविबाट स्वामित्व खोसेर ४० वर्षका लागि डेभिडफल्स सेती क्यानोनिङलाई दिइएपछि स्थानियले विरोध गर्दै आएका छन् । महानगर र सेती क्यानोईङ कुनै पनि हालतमा ठेक्का सम्झौता अनुसार अघि बढ्ने र स्थानिय कुनै पनि हालतमा काम गर्न नदिने अडानमा रहेपछि दुई पक्षबीच भएको विवादले उग्र रुप लिदै गएको हो ।

विहीबार पनि यी दुई पक्षबीच झडपको स्थिति उत्पन्न भएको छ । डेभिडफल्सको ठेक्का पाएको सेती क्यानोनिङले विहीबार सार्वजनिक सुनुवाई राखेको थियो । सार्वजनिक सुनुवाईका प्रमुख अतिथि थिए पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य । तर स्थानियले विद्यालयको स्वामित्वमा रहेको डेभिडफल्सलाई ४० वर्ष लामो ठेक्कामा लगाउन नपाईने भन्दै विरोध जारी राख्यो । विरोधकाबीच कार्यक्रम अघि बढाउन खोज्दा केहिबेर तनावसमेत उत्पन्न भएको थियो । कार्यक्रम स्थल तनावग्रस्त बनेपछि मेयर आचार्य कार्यक्रममा आफ्नो भनाई नराखी कार्यक्रम स्थल छाडेर बाहिरिएका थिए ।

त्यहि बिचमा स्थानिय र विद्यार्थीहरुले नाराबाजीसहित प्रदर्शन जारी राखे । त्यहिबेला विद्यार्थी नेताहरुमाथि खुकुरी प्रहार गर्ने योजना बनाईरहेको स्थानियले सुईंको पाए । कार्यक्रम स्थल नजिकै बसेर आक्रमण गर्ने योजना बनाईरहेका ५ जनालाई स्थानियले घेरा हालेर नियन्त्रणमा लिने प्रयास गर्दा दुई पक्षबीच केहिबेर हानाहान भएको थियो । सो क्रममा आक्रमणकारी मध्येका एक पोखरा–९ न्यूरोडका वंशज सिंह खवासलाई स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । स्थानियले नियन्त्रणमा लिने क्रममा आक्रमणकारी मध्येका एक सिंह घाईतेसमेत भएका थिए । उनलाई प्रहरी नियन्त्रणमा राखेर उपचार जारी राखिएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए । उनको साथबाट एक थान खुकुरीसमेत बरामद गरिएको उनले बताए । आक्रमण गर्ने अन्यको खोजी भइरहेको डिएसपी बस्नेतले बताए । ‘सबै आक्रमणकारीको खोजी भइरहेको छ, फरार भएकाले उनीहरुको पहिचान खुलाउन मिल्दैन’–उनले भने ।

पोखरा महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिबाट खोसेर सेती क्यानोनिङ प्रालिलाई ४० वर्षका लागि ठेक्कामा दिएको छ । पातले छाँगो दृश्यावलोकनलाई व्यवस्थित बनाउने र शिसाको पुल बनाएर आम्दानीको श्रोत बढाउने भन्दै महानगरले ठेक्कामा लगाएको हो । तर स्थानिय त्यसको विरोधमा छन् ।

विरोधको नेतृत्वकर्ता मध्येका एक स्थानिय कांग्रेस नेता देवराज आचार्यले महानगरले नीजि कम्पनीसँग प्राकृतिक सम्पदाको दोहन गरिरहेकाले विरोध गर्नुपरेको बताए । ४० वर्ष लामो समय नीजि कम्पनीलाई डेभिडफल्स दिने निर्णय कुनै पनि हालतमा नमान्ने बताउँदै उनले भने,‘यो गलत हो । यो सम्झौता खारेज हुनुपर्छ । खारेज नभएसम्म हामी लडिरहन्छौं ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।