पोखराको विन्दुवासिनी संस्कृत विद्यापीठ क्याम्पसको विद्यार्थी कल्याणकारी कोष र छात्रवृत्ति कोषको रकम हिनामिना भएको अनेरास्ववियू क्रान्तिकारीको आरोप


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असोज २३

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू (क्रान्तिकारी)ले पोखराको विन्दुवासिनी संस्कृत विद्यापीठ क्याम्पसमा आर्थिक अनियमितता भएको आरोप लगाएको छ । अखिल क्रान्तिकारी विन्दुवासिनी क्याम्पस शाखाले आर्थिक शाखा प्रमुख दुर्गारमण पराजुली अन्य केहि प्राध्यापकहरुले क्याम्पसको विद्यार्थी कल्याणकारी कोष र छात्रवृत्ति कोषको लाखौं रकम हिनामिना गरेको विहीबार विज्ञप्ती निकालेर जनाएको छ । आर्थिक शाखा प्रमुख पराजुलीले आन्तरिक लेखा परीक्षणलाई समेत प्रभावमा पारेर वर्षौंदेखि आर्थिक अनियमितता गर्दै आएको पूर्व क्याम्पस प्रमुखहरुले बताएको पनि विज्ञप्तीमा उल्लेख छ ।

अखिल क्रान्तिकारीले हालसम्मको कल्याणकारी कोष र नेपाल सरकारबाट प्राप्त छात्रवृत्ति कोषणको रकम अविलम्व सार्वजनिक गर्न माग गरेको छ । विज्ञप्तीमा भनिएको छ,‘अन्यथा भ्रष्ट आचारणकाबिरुद्द अखिल क्रान्तिकारी जुनसुकै कदम चाल्न बाध्य हुनेछ ।’ आन्दोलनबाट हुने क्षेतीको जिम्मा भने आर्थिक शाखा प्रमुखले लिनुपर्ने जनाएको छ ।

अखिल क्रान्तिकारीले क्याम्पस प्रशासनले अटेर गरेमा अख्तियार कार्यालय जाने पनि चेतावनी दिएको छ । साथै घटनाको ढाकछोप गर्न केहि प्राध्यापकहरु लागिपरेको भन्दै त्यसतर्फ पनि आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

अखिल क्रान्तिकारीले विन्दुवासिनी संस्कृत विद्यापीठमा लामो समयदेखि शैक्षिक र प्रशासनिक क्षेत्रमा विकृति, विसंगती, स्वेच्छाचारी र मनोमानी चलेको प्रमाण आफूसँग भएको दाबी गरेको छ । क्याम्पसमा केहि प्राध्यापकहरु क्याम्पस प्रशासनमा दैनिक हाजिरी नभई कहिलेकाहिंमात्र आउने गरेको तर आएको दिन नआएको दिनको पनि हाजिर गरेर टाप कस्ने गरेको दाबी क्रान्तिकारीको छ । साथै हाजिर नगरी तलव भत्ता खाने गरेको पाइएको र यो विश्वविद्यालयको नियम विपरित रहेकाले यसलाई ठगी धन्दाको संज्ञा दिदै सच्याउन चेतावनी दिइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।