नेपालीको दोस्रो ठुलो पर्व तिहारमा मालाका लागि प्रयोग गरिने सयपत्री फूलमा पोखरा आत्मनिर्भर बन्दै गएको छ ।
विगतमा तिहारका लागि पोखरामा ठूलै मात्रामा फूल बाहिरबाट आउने गरेकामा पछिल्ला वर्षमा त्यो क्रम क्रमशः घट्दै गएको छ । पछिल्ला वर्षमा घरका लागि आवश्यक हुने फूल अधिकांशले घरघरमा नै तयार गर्नाका साथै यस क्षेत्रमा व्यावसायिक फूलखेती गर्ने क्रम बढेसँगै पोखरा सयपत्री फूलमा आत्मनिर्भर बन्दै गएको हो । सयपत्री फूलप्रतिको आत्मनिर्भरता बढाउने उद्देश्यले पोखरा महानगरपालिकाले विगत तीन वर्ष यता फूलको बीउ वितरणलगायतमा अनुदान सहयोग समेत गर्दै आएको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।महानगरपालिकाले फूलखेतीमा लाग्ने किसानलाई लक्षित गरी फूलको न्यूनतम समर्थन मूल्य तोक्नाका साथै आवश्यक अन्य सहयोग पनि प्रदान गरिहेको उनको भनाइ छ । “यस वर्षका लागि महानगरपालिकाले पोखरामा करिब १२० रोपनी क्षेत्रफलमा पुग्नेगरी अनुदानमा फूलको बीउ वितरण गर्नाका साथै गत असारमा तालिम पनि दिएको थियो”, उनले भने, “फूलका लागि मौसम पनि उपयुक्त नै भएकाले यस वर्ष फूलको राम्रै उत्पादन हुने अनुमान गरेका छौँ ।”
पछिल्ला वर्षमा पोखरामा उत्पादित फूल क्रमशः आत्मनिर्भरतातर्फ उन्मुख बन्दै गएको उनले जानकारी दिए । यस वर्ष तिहारका लागि बजारमा पुग्नुअघि कृषि सञ्जालसँग छलफल गरी फूलको बिक्री मूल्य तोक्ने योजना रहेको समेत बताए ।
यसैबिच,काठमाडौँ महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्री वितरणमा रोक लगाएको छ ।महानगर प्रहरी बलले आज पत्रकार सम्मेलन गरी नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि विदेशबाट आयात गरिएका फूलमाला प्रतिबन्ध गराउने निर्णय गरेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले स्वदेशमा उत्पादित फूलको प्रयोगलाई बढाउनका लागि महानगरले आगामी कात्तिक १ देखि ६ गतेसम्म ३२ स्थानमा फूल बिक्री केन्द्र स्थापना गरेको जानकारी दिए। रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको प्रथम अधिवेशनबाट योगेन्द्रबहादुर केसी सभापतिमा निर्वाचित…







