तिहार र छठमा चिनी अभाव हुँदैनः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयन


     एभरेस्ट आवाज    
     असाेज २८ गते २०८२ मा प्रकाशित




यस बर्षको तिहार तथा छठ पर्वमा चिनीको अभाव नहुने भएको छ ।

विगतमा सरकारी निकायले पर्याप्त चिनी ल्याउन नसक्दा व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई महँगोमा बेच्ने गरेकोमा यसपालि भने सरोकारवाला निकायहरूले चिनी अभाव नहुने र सहजै सुपथ मूल्यमा प्राप्त गर्न सकिने दाबी गरेका छन् ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्ष तिहार र छठ पर्वमा चिनी अभाव नहुने र मूल्यमा पनि कुनै वृद्धि नहुने दाबी गरेको छ । मन्त्रालयका सहसचिव शिवराम पोखरेलले हाल बजारमा चिनीको मौज्दात पर्याप्त रहेको र आपूर्ति व्यवस्था सुदृढ बनाइएको बताए ।

उनका अनुसार स्वदेशी चिनी उत्पादक मिलहरूसँग हाल ३० हजारदेखि ३५ हजार टन चिनी स्टक रहेको रउक्त परिमाणले चाडपर्वको माग सहजै धान्न सक्ने उनको भनाइ छ । यसका साथै सरकारी अधिनमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले पर्याप्त मात्रामा चिनी जोहो गरेका उनको भनाइ छ । ‘अहिले बजारमा चिनीको स्टक पर्याप्त छ र भारतबाट पनि नियमित चिनी आइरहेको छ,’ सहसचिव पोखरेलले भने, ‘त्यसैले चिनी आपूर्तिमा खासै कुनै संकट आउने अनुमान छैन ।’ सहसचिव पोखरेलले विगतमा जस्तो तिहारका बेला चिनीको कृत्रिम अभाव सिर्जना भई मूल्य बढ्ने सम्भावना यसपालि नरहेको ठोकुवा गरे ।

भारतबाट चिनी आयातका लागि यसपालि कोटाको कुनै समस्या नभएको मन्त्रालयका सहसचिव पोखरेलले बताए । उनले भन्सार विभागको तथ्यांक उद्धृत गर्दै औपचारिक रूपमा ३० हजार टनभन्दा बढी चिनी आयात भएको जानकारी दिए ।मिल सञ्चालकहरूले पनि अनौपचारिक आयात भइरहेको स्वीकार्ने गरेको उनको भनाइ छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पनि चिनी अभाव नहुने र मूल्यमा स्थिरता कायम रहने जनाएको छ । कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार कम्पनीसँग पर्याप्त चिनी मौज्दात रहेको छ ।खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि तिहार, छठ र माघे संक्रान्ति जस्ता प्रमुख चाडपर्वका लागि चिनी अभाव नहुने सुनिश्चित गरेको छ ।कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेलले कम्पनीसँग पर्याप्त चिनी मौज्दात रहेको र मूल्य पनि वृद्धि नहुने बताए ।

स्वदेशी चिनी मिलहरूसँग पनि ठूलो परिमाणमा चिनी स्टक छ । उनीहरूले आफ्नो स्टक राखेर बिक्री नगरे घाटा हुने भएकाले बिक्री गर्न बाध्य हुने पोखरेलको दाबी छ । विगत वर्षहरूमा स्वदेशी चिनी उद्योगहरूले आयातमा कोटा तोक्न लगाएर चिनीको भाउ मनपरी बढाउने गरेका थिए । गत वर्ष तिहारमा समेत उपभोक्ताले प्रतिकिलो १ सय २० रुपैयाँसम्म तिर्न बाध्य भएका थिए ।

तर, यसपालि भन्सार महसुल घटाएर आयात सहज बनाएपछि स्वदेशी उद्योगले एकाधिकार जमाउन पाएका छैनन् । महत्वपुर्ण चाडपर्वमा महिनामा ३० हजार टन चिनी खपत हुने अनुमान छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।