पोखरा महानगरपालिका–३३ भरतपोखरीको बागमाराका युवा युवराज आचार्यले विगत सात वर्षदेखि फूलको व्यावसायिक खेती गर्दै आएका छन् ।
उनले यस वर्ष पनि करिब पाँच रोपनी क्षेत्रफलमा तिहारका लागि सयपत्री फूल लगाएका छन् । यतिखेर बारीमा ढकमक्क फूल फूलेका छन् । आचार्यले तिहारका लागि कर्मा ५५५ जातको सयपत्री फूल लगाएका हुन् । उनले सुरुमा एक रोपनी क्षेत्रफलबाट फूलखेती सुरु गरे पनि यसबीचमा सात रोपनी क्षेत्रफलसम्म फूल लगाएको अनुभव सुनाए । पाँच रोपनी क्षेत्रफलमा फूलको खेती गर्दा करिब रु एक लाख लगानी भएको बताउँदै आचार्यले फूललाई बजारसम्म पु¥याउनसकेमा यसबाट राम्रै आम्दानी हुने विश्वास व्यक्त गरे । हार्डवेयर व्यवसाय सञ्चालनसँगै आफूले फूलखेतीलाई पनि निरन्तरता दिँदै आएको उनले बताए । बागमाराकै अर्का युवा सुदनराज अधिकारीले पनि करिब डेढ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका छन् । व्यावसायिक कृषिका विविध क्षेत्रमा सफल बन्दै आएका उनले पनि विगत केही वर्षयता फूलखेती गरिरहेका छन् । आफ्नो बारीमा करिब एक हजार २ सय बोट सयपत्री फूल झपक्क फुलिसकेको बताउँदै , तिहारअगावै पनि चौरासीको पूजालगायत धार्मिक अनुष्ठानमा फूल बिक्रीसमेत भइसकेको जानकारी दिए ।
उनले असारको २०र२१ गते कर्मा ५५५ जातको सयपत्री फूल बीउ जमाएर साउनको १०÷११ गतेतिर बिरुवा लगाएको बताए । “बारीमा लगाएको फूल करिब १०५ दिनमा फुलिसकेको छ । यस वर्ष मौषम पनि राम्रो भएका कारण फूलको उत्पादन राम्रो भएको छ, यसबाट राम्रै आम्दानी हुने आशा छ”, आचार्यले भने । आचार्य र अधिकारी मात्रै होइन पछिल्लो समय पोखराका विभिन्न स्थानका युवा सयपत्री फूलको व्यावसायिक खेतीमा आकिर्षत भइरहेका छन् । महानगरपालिका र अन्य स्थानीय तहको सहयोगले पनि व्यावसायिक फूलखेतीमा आकर्षण बढाएको हो । पोखरा महानगरपालिका वडा नं ३३ मा व्यावसायिक कृषिमा लाग्ने जो कोहीका लागि वडाका तर्फबाट आवश्यक साथ र सहयोग भइरहेको वडाध्यक्ष रामचन्द्र अधिकारीले बताए ।
पछिल्ला वर्षमा तिहारमा मालाका लागि प्रयोग गरिने सयपत्री फूलमा पोखरा आत्मनिर्भर बन्दै गएको पोखरा महानगरपालिका कृषि विकाश शाखा प्रमुख मनहर कडरिया बताउँ छन् । उनका अनुसार विगतमा तिहारका लागि बाहिरबाट फूल आउने गरेकामा पछिल्ला वर्षमा त्यो क्रम क्रमशः घट्दै गएको छ ।पछिल्ला वर्षमा अधिकांश परिवारले घरका लागि आवश्यक फूल आफ्नै बारीमा तयार गर्ने र व्यावसायिक फूलखेती गर्नेको सङ्ख्यासमेत बढेसँगै पोखरा सयपत्री फूलमा आत्मनिर्भर बन्दै गएको हो ।
शाखा प्रमुख कडरियाले सयपत्री फूलप्रतिको आत्मनिर्भरता बढाउने उद्देश्यले महानगरपालिकाले विगत तीन वर्षयता फूलको बीउ वितरणलगायत कार्यमा अनुदान सहयोगसमेत गर्दै आएको बताए । महानगरले फूलखेतीमा लाग्ने किसानलाई लक्षित गरी फूलको न्यूनतम समर्थन मूल्य तोक्नाका साथै आवश्यक अन्य सहयोग पनि प्रदान गरिरहेको उनले जानकारी दिए ।फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीका अध्यक्ष राम सुवेदीले पछिल्ला वर्षमा पोखरामा बाहिरबाट आउने गरेको फूलको आयात घटेको जानकारी दिए । महानगरपालिबाट तीन वर्षयता अनुदानका फूलको बीउ वितरणसँगै बजारीकरणमा पनि सहयोग प्राप्त भइरहेको उनले बताए ।यस वर्ष तिहारमा करिब रु चार करोडको फूलको कारोबार हुने अनुमान छ । पोखरामा मात्रै तिहारमा तीन लाख माला बिक्री हुने अनुमान गरिएको महानगरले जनाएको छ । यस वर्ष फूलको बिक्री मूल्य प्रतिकिलो रु ३०० देखि रु ४०० तथा प्रतिमाला रु १०० देखि १५० सम्म निर्धारण गरिएको छ ।
यस्तै, प्रतिथुङ्गा १५ देखि २० ग्रामको रु पाँच, १० देखि १५ ग्रामको रु चार र पाँचदेखि १० ग्रामको रु दुई बिक्री मूल्य निर्धारण गरिएको छ । उत्पादकलाई बिक्रीमा सहजता ल्याउने उद्देश्यले महानगरपालिकाले पोखराका विभिन्न २५ ठाउँमा बिक्रीवितरण केन्द्रसमेत निर्धारण गरेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लब अफ पोखरा चौतारीले गोरखाको पालुङटार नगरपालिका–७ स्थित मस्र्याङ्दी आधारभूत विद्यालयका…







