सरकार बनेको डेढ महिनामा पनि सम्पति सार्वजनिक भएन


     एभरेस्ट आवाज    
     कार्तिक १० गते २०८२ मा प्रकाशित




पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको ४६ दिन पुरा हुँदा पनि अझै मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक हुन सकेको छैन ।

भ्रष्टाचारविरोधी जगमा गत भदौ २७ गते बनेको सरकारको मन्त्री परिषद् ३ पटक बिस्तार हुँदा पनि अझै पुर्णता पाउन भने सकेको छैन । पछिल्लो पटक आइतबार २ जना मन्त्री थपिदा मन्त्री परिषद १० सदस्यीय भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत् तिनले सम्पत्ति विवरण सार्वजनिक गर्न सकेका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकारीले कसैको पनि सम्पत्ति विवरण प्राप्त नभएको बताए ।

कार्कीको नेतृत्व गठित अन्तरिम सरकारमा पूर्वअर्थसचिव रामेश्वरप्रसाद खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ,अधिवक्ता ओमप्रकाश अर्याल,पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, अभियन्ता महावीर पुन, मदनप्रसाद परियार, सञ्चारकर्मी जगदीश खरेल छन् । सरकारमा आइतबार मात्रै पूर्वस्वास्थ्य सचिव डा. सुधा गौतम र अभियन्ता बब्लु गुप्ता थपिएका छन् ।यो सँगै मन्त्री परिषद् अहिले १० सदस्यीय छ ।

सुशासनविद् काशिराज दाहालले प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बताए । सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पति सार्वजनिक हुँदा सुशासन कायम गर्न सहयोग पुग्ने उनको विश्वास छ ।कानुनतः सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान बाध्यकारी छैन । भ्रष्टाचार निवारण ऐनमा मन्त्रिपरिषद्मा पेश हुने सम्पत्ति विवरण गोप्य राख्ने व्यवस्था छ ।

कानुनमा भ्रष्टाचारसम्बन्धी उजुरी परेमा अनुसन्धान वा तहकिकातका क्रममा सम्पत्ति विवरण माग भएमा त्यस्तो विवरण सम्बन्धित अधिकारीलाई उपलब्ध गराउन सकिने व्यवस्था छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।