पोखरामा आरोग्य पर्यटन : अवसर र चुनौति……


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, कात्तिक १८

पोखरामा आरोग्य पर्यटनको खोजी गर्न शुरु भएको छ । पर्यटनको राजधानी पोखरालाई बहु पर्यटनको हब बनाउने उद्देश्यले स्वास्थ्य विज्ञान तथा आरोग्ययताको क्षेत्रमा क्रियाशील विज्ञहरू सम्मिलित मेडिकनेक्टको आयोजना तथा व्यवस्थापनमा पोखरामा चिकित्सकीय तथा आरोग्य पर्यटन सम्बन्धी छलफल भएको हो ।

छलफलमा सरोकारवालाहरुले पोखरा चिकित्सकीय तथा आरोग्य पर्यटनको हब बन्न सक्ने सम्भावनाको खोजी गरेका थिए । प्राकृतिक हिसाबले धनी पोखरालाई चिकित्सकीय तथा आरोग्य पर्यटनको हब बनाउन सके दीगो पर्यटनमा टेवा पुग्ने उनीहरुको भनाई थियो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले दीगो पर्यटनका लागि चिकित्सकीय तथा आरोग्य पर्यटन कोशेढुंगा सावित हुने दाबी गरे । हिजोकोजस्तै पर्यटनले अब पोखरा अगाडि जान सक्दैन,उनले भने,‘पोखरालाई मेडिकल शिक्षा, उपचार र आरोग्यताको हब बनाउनु पर्छ । जसका लागि संसारभरीका मानिसहरु मेडिकल शिक्षाका लागि, उपचारका लागि, अनि आरोग्यताका लागि ध्यान र योग गर्न आउन् ।’ यसका लागि महानगर सहकार्य गर्न तयार रहेको उनले बताए । तपाईंहरु योजना बनाउनूस्,उनले अगाडि थपे,‘हामीले के गर्नुपर्छ भन्नूस्, हामी यसका लागि सहयोग गर्न तयार छौं ।’

मेडिकनेक्ट नेपालका अध्यक्ष डा.पूर्णकान्त अधिकारीले पोखरालाई चिकित्सकीय तथा आरोग्य पर्यटनको हब बनाउन सकिने बताए । तर त्यसका लागि एउटा गुरुयोजना बनाउनुपर्ने र त्यसको कार्यान्वयनका लागि तीनै तहका सरकारहरुले आफ्ना पर्यटन योजना र नीतिहरुमा समेट्नुपर्ने औंल्याए । स्वास्थ्य पर्यटनमा उपचार गराउन आउने पर्यटक मात्र हो भन्ने सोंच्नु राम्रो होईन,उनले भने,‘बरु मेडिकल शिक्षा, मन भित्रको शान्तिको खोजीका लागि मानसिक, शारिरिक र आध्यात्मिक तरिकाले स्वस्थ रहने पद्दती हो ।’

नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरालाई चिकित्सकीय तथा आरोग्य पर्यटनको हब बनाउन सम्भव भएको बताए । पोखरा योग, ध्यान र उपचारका लागि उपयुक्त गन्तव्य हो,उनले भने,‘यहाँका मनोरम प्राकृतिक छटाहरुले विश्वको ध्यान तान्न सक्छ ।’ तर जथाभावी रुपमा गर्नुभन्दा एउटा मापदण्ड बनाएर लागु गर्नुपर्ने उनको सुझाव छ ।

पोखरा भ्रमण वर्ष–२०२५ का कार्य सम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले चिकित्सकीय शिक्षा र स्वास्थ्यको केन्द्र पोखरा बन्न सक्छ भन्ने उदाहरण मणिपाल अस्पतालले पुष्टि गरिसकेको बताए । दीगो पर्यटनको एउटा आधार चिकित्सकीय तथा आरोग्य पर्यटन बन्नसक्छ,उनले भने,‘यसले बलियो अर्थतन्त्र निर्माणसँगै रोजगारी पनि सिर्जना गर्छ ।’

मेडिकनेक्टका निर्देशक डा.गिरीधारी शर्माले चिकित्सकीय तथा आरोग्य पर्यटनको सम्भावना देखेरै आफूहरुले पोखरा महानगरपालिकासँगको सहकार्यमा बहस र छलफल शुरु गरेको बताए । यो प्रस्थान विन्दुमात्र भएकाले निकट भविष्यमा यसले व्यापकता पाउने विश्वास व्यक्त गरे ।

मेडिकल एशोसियसन अफ नेपालका अध्यक्ष विष्णुप्रसाद भुषालले चिकित्सकीय तथा आरोग्य पर्यटनका लागि उच्च स्तरको प्रतिबद्दता चाहिने बताए । यसमा प्रशस्त फाईदा पनि छ,उनले भने,‘तर सँगसँगै चुनौति पनि छ । त्यसैले यसका लागि हाई लेभलको कमिटमेन्ट चाहिन्छ । गुणस्तरीय सेवा चाहिन्छ । अनि ठूलो खर्च पनि हुन्छ ।’

नेकपा माओवादी केन्द्र कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले पर्यटनको राजधानी पोखराका लागि आरोग्य पर्यटन अपरिहार्य भएको बताए । बरु त्यसका लागि ढिला गर्न नहुने उनको भनाई थियो ।

कार्यक्रममा पोखरा स्वास्थ्य प्रतिष्ठानका पूर्व उपकुलपति डा.डुकबहादुर क्षेत्री, नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, नीजि अस्पतालहरुको छाता संस्था अफिन गण्डकी प्रदेशका सचिव सूर्यप्रसाद पोखरेललगायतले सरकारी र नीजि क्षेत्रबीचको सहकार्यमा पोखरालाई चिकित्सकीय र आरोग्य पर्यटनको केन्द्र बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।