पुनःनिर्माण कोषमा छ करोड २४ लाख सङ्कलन


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०८२ मा प्रकाशित




सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा हालसम्म रू छ करोड २४ लाख सङ्कलन भएको छ ।

गत भदौ २३ र २४ गते देशभर भएका जेन–जी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र अतिक्रमणका कारण क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले कोष स्थापना गरेको हो । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयकाअनुसार सोमबार बेलुकासम्म सो कोषमा उक्त रकम जम्मा भएको हो । जेन–जी प्रदर्शनका क्रममा विभिन्न सार्वजनिक संरचना, सरकारी कार्यालय तथा स्थानीय निकायका भौतिक संरचनामा क्षति पुगेको थियो ।

त्यस्ता संरचनाको पुनःनिर्माणका लागि सरकारले गत असोज २८ गते कोषमा आर्थिक सहयोग जुटाउन सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, दातृ निकाय, उद्यमी तथा विभिन्न सङ्घ–संस्थालाई औपचारिक रूपमा आह्वान गरेको थियो । सहयोगकर्तालाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षभरि प्रदान गरिने आर्थिक सहयोगलाई करयोग्य आय गणनामा कटौतीयोग्य खर्चका रूपमा सूचीकृत गर्ने व्यवस्था पनि गरेको छ ।

कोषमा सङ्कलित रकम ‘राष्ट्रिय वाणिज्य बैङ्क’ सिंहदरबार शाखामा खोलिएको १९६०१००१०२०७०००४ विशेष खातामार्फत व्यवस्थापन गरिँदैछ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।