गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेका छन् ।
पोखराको नयाँ बजारस्थित गण्डकी प्रदेश संग्रहालय हातामा निर्माण हुने मौलिक कोसेली घरको शिलान्यास गर्दै मुख्यमन्त्री पाण्डेले सुशासन र पारदर्शिता कायम गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।उनले कोशेली घरको निर्माण पछि प्रदेशको सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन, अनुसन्धान र पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।“प्रदेश सरकारले गरेका राम्रा कामको प्रचार सबैले गर्नुपर्छ। फेवाताल संरक्षणदेखि पर्यटकको बसाइ लम्ब्याउने काममा प्रदेश सरकार लागिरहेको छ। दुई वर्षभित्र प्रदेशको विकासको दिशा स्पष्ट भएको छ । गण्डकी प्रदेश सातवटै प्रदेश मध्ये नेतृत्वदायी भूमिकामा छ”, उनले भने ।
मुख्यमन्त्री पाण्डेले मौलिक घर निर्माणले गण्डकी प्रदेशको सांस्कृतिक पहिचान झल्काउने मात्र नभई आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने उल्लेख गरे । उनले भने, “संग्रहालयमा बन्दै गरेको कोसेली घरले पर्यटकलाई प्रदेशका विविध संस्कृतिबारे बुझ्न सहज बनाउनेछ । यसले पोखराको पर्यटन प्रवद्र्धनमा पनि ठोस योगदान पु¥याउनेछ।”
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकारले गरेका योजना सफल बनाउन स्थानीय समुदायको सहभागिता अनिवार्य रहेको बताए । उनका अनुसार सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय स्तरको सहयोग बिना दीगो परिणाम हासिल गर्न सकिँदैन ।“प्रदेश सरकारले बनाएका संरचनाबाट प्रत्यक्ष लाभ स्थानीय समुदायले नै पाउनेछन्। मौलिक संस्कृति र परम्परालाई आधुनिक समाजमा जोगाएर राख्नु हाम्रो साझा जिम्मेवारी हो”, उनले भने ।
पश्चिमी संस्कृतिको तीव्र प्रभावका कारण मौलिक परम्परा, रीतिरिवाज र कला हराउँदै गएको अवस्थामा संग्रहालयको विस्तारले तिनको पुनर्जीवनमा सहयोग पुुग्ने विश्वास उनको छ । गण्डकी प्रदेश प्राकृतिक सुन्दरता, जातीय विविधता र सांस्कृतिक समृद्धिको केन्द्र भएको र यस प्रदेशमा पाइने मौलिक संस्कृतिहरू आधुनिक प्रभावका कारण लोप हुने अवस्थामा पुगेकाले तिनको संरक्षण, अध्ययन र प्रदर्शन नै संग्रहालयको प्रमुख उद्देश्य भएको उनले स्पष्ट पारे ।
मन्त्री थापाका अनुसार गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट क्रमागत योजना अन्तर्गत निर्माणाधीन कोसेली घरले प्रदेशका ग्रामीण बस्तीमा प्रचलित कला, शिल्प र वास्तुकलाको रूप झल्काउनेछ । लोपोन्मुख कला र शैलीलाई जगेर्ना गर्दै आगन्तुकलाई गण्डकी प्रदेशको मौलिक वास्तुकला र जीवनशैलीबारे प्रत्यक्ष जानकारी दिने उद्देश्यस्वरुप उक्त भवनको निर्माण गर्न लागिएको उनले बताए ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव दामोदर सुवेदीले गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट क्रमागत योजना अन्तर्गत सञ्चालन भइरहेको यस परियोजनाको कुल लागत रु। २ करोड ८३ लाख २७ हजार ९३२ रुपैयाँ ३ पैसा ९भ्याट र कन्टिन्जेन्सी सहित रहेको र सम्झौता रकम रु। १ करोड ८५ लाख ८८ हजार २६४ रुपैयाँ ६६ पैसा ९भ्याट सहित० रहेको जानकारी गराए । कोसेली घरको निर्माण आगामी असार मसान्तसम्म सक्नेगरि टुडे बिल्डर्ससँग सम्झौता भएको भनाई उनको छ ।
पोखरा ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले कोसेली घरले पोखरा र समग्र गण्डकी प्रदेशलाई सांस्कृतिक र पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने बताए । सांस्कृतिक पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजार विस्तार र समुदायमा आर्थिक अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास उनको छ । प्रदेश सरकारको उक्त कार्यलाई सफल पार्न स्थानीय तह प्रतिबद्ध रहेको समेत उनले उल्लेख गरे ।
ठेकेदार कम्पनी टुडे बिल्डर्सका ईन्जिनियर सिरश बास्तोलाले निर्माण कार्य समय अवधिमा नै सक्ने प्रतिबद्धता जनाएका छन् ।२४ रोपनी क्षेत्रफलमा फैलिएको संग्रहालयले आव २०६७÷६८ देखि विद्यार्थी सदस्यता कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसले युवाहरूमा सांस्कृतिक चेतना बढाउने कार्यमा टेवा पु¥याएको संग्रहालयको प्रमुख करुणा राईले जानकारी गराइन् ।

सन् १९७२ मा युनेस्कोका विशेषज्ञद्वारा तयार गरिएको नेपालको सांस्कृतिक सम्पदाको संरक्षण गुरुयोजनामा क्षेत्रीय संस्कृतिको संरक्षणका लागि क्षेत्रीय संग्रहालय स्थापना गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको थियो । त्यसै सुझावका आधारमा तत्कालीन सरकारले आ।व। २०३७÷३८ देखि धनकुटा, पोखरा र सुर्खेतमा क्षेत्रीय संग्रहालय स्थापना गर्ने कार्ययोजना अघि सारेको थियो। त्यसअनुसार जग्गा अधिग्रहण गरी भवन निर्माण कार्य सुरु गरियो र आ।व। २०३९÷४० मा कार्यालय स्थापना भई सामग्री संकलन आरम्भ भयो ।
विसं २०४१ माघ २३ गते पोखरा क्षेत्रीय संग्रहालय सर्वसाधारणका लागि खुला गरिएको थियो । देशको राजनीतिक संरचना अनुसार अहिले यो संग्रहालय गण्डकी प्रदेश सरकार मातहत सञ्चालनमा छ । संग्रहालयले प्रदेशका विभिन्न जातजाति र समुदायका मौलिक संस्कार, रहनसहन, भेषभूषा, खानपान, परम्परागत उपकरण र लोकजीवन झल्काउने सामग्रीहरू संकलन, अभिलेखीकरण र प्रदर्शन गर्दै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


डादसैँलाई स्वागत गर्न पर्वतमा प्रथम दुर्लुङकोट पुरुष हाफ म्याराथन प्रतियोगिता हुने भएको…







