सन्देश श्रेष्ठ
पोखरा, कात्तिक २७
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष बिजय स्वाँरले यातायात क्षेत्रलाई राष्ट्रिय उद्योगको रुपमा विकास गर्नुपर्ने बताएका छन् । पोखरेली ट्याक्सी सेवा प्रालिको आज आयोजित सातौं वार्षिक साधारण सभामा बोल्दै उनले यातायात क्षेत्रलाई उद्योगको रुपमा विकास गरेर यसमा भएको लगानी सुरक्षित गर्नुपर्ने बताएका हुन् । १३ खर्बको लगानी रहेको यातायात क्षेत्रमा १५ लाख मानिस प्रत्यक्ष रोजगारीमा संलग्न भएको र तीनका ४० लाख परिवार यसै पेशामा आश्रित रहेकाले यसलाई उद्योगको रुपमा विकास गर्नु अपरिहार्य रहेको उनको भनाई थियो ।
अध्यक्ष स्वाँरले सरकारले यातायात क्षेत्रलाई पेलिरहे दुर्घटना निम्तिने चेतावनी दिए । यातायात क्षेत्र सरकारको सहयोगीको रुपमा रुपमा व्याख्या गर्दै उनले भने,‘सरकार मिलेर गयो भने हामी सहयात्री हौं, सहयोग गर्छौं, होईन पेलेर गएमा दुर्घटना हुन्छ ।’ उनले आफूहरुले अवैध भएकै कारणले राईड सेयरिङको विरोध गरेको बताए । नेपालीको लगानी भएको र नेपालमा दर्ता नभई सञ्चालनमा रहेका विदेशी एपको विरोध गर्दा आफूहरुलाई प्रविधि विरोधीको ट्याग लगाइएकोप्रति उनले आपत्ति जनाए । भने,‘हामी प्रविधिको विरोधी होईनौं, नेपालीले नै विकास गरेको, नेपालको कानून अनुसार दर्ता भएर सञ्चालनमा आएको राईडसेयरिङ हामीलाई मान्य छ ।
महासंघका बरिष्ठ उपाध्यक्ष पूण्यप्रसाद सिटौला (सरोज)ले सरकारले सिण्डिकेटको नाममा यातायात क्षेत्र धरासायी बनाएको आरोप लगाए । २०७४ सालमा सिण्डिकेटको नाममा यातायात क्षेत्र धरासायी बनाएको सरकार आफै भने २०८२ सालमा आएर जेनजी आन्दोलनले बढारिएको उनले टिप्पणी गरे । सिण्डिकेट तोड्ने नाममा यातायात क्षेत्र तहसनहस पारियो,उनले भने,‘अहिले तीनैलाई जेनजीले बढारेका छन् ।’ उनले भारतीय गाडी खुलेआम नेपालमा चल्न दिदा यातायात क्षेत्रमा मारमा परेको भन्दै उनले यस्तै अवस्था अझै केहि वर्ष भए नेपालको यातायात क्षेत्र ध्वस्त हुने उनले चेतावनी दिए ।
महासंघका अर्का बरिष्ठ उपाध्यक्ष तथा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईले आफूहरु प्रविधिको विरोधी नभएको बताए । नेपालको सवारी ऐनले रातो प्लेटले यात्रु बोक्न नपाउने भनेको र राईड सेयरिङ एप पनि विदेशीको भएकाले विरोध गरेको तर अहिले पोखरेली आफैले मुभईन एप बनाएर सञ्चालनमा आएपछि त्यसको प्रयोग गर्न थालेको बताए । उनले यातायात व्यवसायीको पक्षमा आफूहरु लडिरहेको भन्दै आफ्नो अधिकार प्राप्त नभएसम्म यो लडाई जारी रहने बताए ।
महासंघका सचिव भानुभक्त बरालले यातायात क्षेत्र अहिले समस्यामा रहेकाले यसको समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए ।
महासंघ ट्याक्सी वर्गिय संयोजक प्रकाशमणी तिवारीले महासंघ कमजोर बन्दा सरकारले यातायात क्षेत्रमा हस्तक्षेप गरेको गुनासो गरे । व्यवसायीको पक्षमा लड्नूस र यातायात क्षेत्र बचाउनूस्,उनले भने,‘होईन भने यातायात क्षेत्र ध्वस्त हुन्छ र तपाईंहरु पनि नेता बन्न पाउनुहुन्न ।’ उनले सञ्चार जगतले पनि व्यवसायीमाथि ठग र लुटेरा हो भनेर आरोपित गरेको तर कहिल्यै व्यवसायीको पीडा नलेखेको÷नबोलेको गुनासो गरे । उनले भने,‘हामी पीडामा छौं, हामी अन्यायमा छौं, हामीमाथि पनि न्याय गरियोस्, हाम्रा आवाजहरु पनि सुनियोस्, लेखियोस् र बोलियोस् ।’
महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले यातायातको समस्या समाधान गर्न सवारी ऐन संसोधन गर्नुपर्ने बताए । उनले सिण्डिकेट तोड्ने नाममा आफूहरुलाई प्रालिमा लगिएको र अहिले पनि समितिको पैसा प्रालिमा ल्याउन नसक्दा पीडा महशुष भएको बताए ।
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले आफूहरु प्रविधिमैत्री हुँदै गएको बताए । सो अन्तर्गत पोखरेली ट्याक्सी सेवा प्रालिको संलग्नतामा मुभईन राईडसेयरिङ एप्स विकास गरी प्रयोगमा ल्याइएको उल्लेख गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सङ्गीतकार, गायक तथा गीतकार अम्बर गुरुङको स्मृतिमा स्थापना गरिएको ‘अम्बर गुरुङ स्मृति…







