पोखरा महानगरपालिकाले हिउँदेखेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत महानगरभित्रका किसानलाई आलुु, गहुँ र तोरीको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।
महानगरपालिकाले यहाँका किसानलाई २७ हजार किलोग्राम आलुको बीउ वितरण गरेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । उक्त बीउबाट महानगर क्षेत्रभित्र तीन हजार रोपनी क्षेत्रफलमा आलुखेती हुने उनले बताए । पोखराका विशेषतः हेमजा, पामे ठूलाखेत, कुँडहर फाँट, अर्मला, लेखनाथका मालमूल, बेलबुटेलगायत स्थानमा पर्याप्त मात्रामा आलुखेती गरिन्छ ।
पोखरामा आलुको उत्पादन क्षेत्र एक हजार दुई सय ५० हेक्टर रहेकामा उत्पादकत्व प्रतिहेक्टर २० मेट्रिकटन रहेको प्रमुख कडरियाले जानकारी दिए । पोखरामा वार्षिक करिब २५ हजार मेट्रिकटन आलु उत्पादन हुनेगरेको छ ।उनका अनुसार आलुको बीउ उत्पादनका लागि पनि किसानलाई अनुदान सहयोगसमेत गरिएको थियो ।
तिनै किसानबाट उत्पादित बीउ खरिद गरी अनुदानमा वितरण गरिएको हो ।महानगरपालिकाले किसानलाई पाँच हजार पाँच सय किलो गहुँको बीउ तथा छ सय किलो तोरिको बीउ पनि अनुदानमा वितरण गरेको कडरियाले जानकारी दिए ।
वितरण गरिएको गहुँको बीउबाट एक हजार रोपनी क्षेत्रफलमा गहुँखेती हुने तथा तोरीबाट एक हजार रोपनी क्षेत्रफलमा तोरीखेती हुने जनाइएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जिल्ला समन्वय समिति कास्कीले पोखराको बाराही घाटस्थित जग्गा,रत्न मन्दिर र हिमागृहको जग्गा…







