तनहुँमा एक करोड बराबरको धानबालीमा क्षति


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०८२ मा प्रकाशित




हालैको वर्षाले तनहुँमा रु एक करोड बराबरको धानबालीमा क्षति भएको छ ।

कृषि ज्ञान केन्द्रकाअनुसार जिल्लाको धानबालीमा रु एक करोड तीन लाख ७३ हजार पाँच सय ४१ बराबरको क्षति भएको छ । जिल्लाका घिरिङ, म्याग्दे, आँबुखैरेनी गाउँपालिका र व्यास नगरपालिकाको तीन सय तीन मेट्रिक टन धानमा क्षति पुगेको छ । घिरिङमा रु चार लाख ८६ हजार, म्याग्देमा रु १४ लाख ६० हजार, आँबुखैरेनीमा रु २६ लाख ८२ हजार ९४३ र व्यास नगरपालिकामा रु ५७ लाख ४४ हजार ५९७ बराबरको क्षति भएको हो ।

घिरिङमा ९ दशमलव ८ हेक्टरमा १८दशमलव २ मेट्रिक टन, म्याग्देमा १० दशमलव६२ हेक्टरमा ४२ दशमलव १६ मेट्रिक टन, आँबुखैरेनीमा १९ दशमलव ५१ हेक्टरमा ७७ दशमलव ४७ मेट्रिक टन र व्यास नगरपालिकामा ९५ दशमलव ८ हेक्टरमा १६५ दशमलव ८८ मेट्रिक टन धानमा क्षति भएको छ । तनहुँका विभिन्न भागका आठ हजार ७२० हेक्टरमा धानखेती हुने गरेको छ । केन्द्रका अनुसार आव २०८०÷८१ मा सात हजार ६४२ हेक्टरमा खेती गरिएकामा आठ हजार ७२० मेट्रिक टन धान उत्पादन भएको थियो ।

तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुर,लगायतका धानखेती हुने गरेको छ । जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायत क्षेत्र धानखेतीका लागि प्रख्यात छ । तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर छ । एकाउन्न हजार ५१० हेक्टरमा मात्र खेती भइरहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।